शोकमा न्याय खोज्दै ठडेन्द्रको परिवार: प्रहरीले जाहेरी नलिएको आरोप | Khabarhub Khabarhub

शोकमा न्याय खोज्दै ठडेन्द्रको परिवार: प्रहरीले जाहेरी नलिएको आरोप

मृत्यु भएको १० दिनसम्म धुलिखेल अस्पतालबाट शव उठेन



काभ्रे – काभ्रेमा एक वृद्धको शव १० दिनदेखि धुलिखेल अस्पतालबाट उठ्न सकेको छैन। भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव १० दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको हो।

असार १० गते बिहान ६ बजे सापिङ्गस्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्त रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। बुवाको शव झुन्डिएको अवस्थामा भेटिएपछि परिवारले भने विभिन्न आशंका गर्न थालेका छन्। ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उजुरी दिएका छन्।

भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्षसमेत रहेकी ४२ वर्षीय दानकुमारी महत खत्री र ४६ वर्षीय ताराबहादुर पन्तविरुद्ध छोराले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जाहेरी दिएका हुन्। जाहेरी दिए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले आफ्नै खल्तीमा राखेर दर्तासमेत नगरी पटक–पटक मिल्न आग्रह गरेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेका छन्।

ठडेन्द्रबहादुर पन्तले आत्महत्या गरेको लप्सीको रुख ।

घटना विषयमा प्रश्न गर्दा डिएसपी न्यौपानेले भने पीडितको जाहेरी लिएर अनुसन्धान भइरहेको बताएका छन्। यता पीडितले भने अझैसम्म जाहेरी दर्ता नगरी आलटाल गरिरहेको आरोप लगाएका छन्।

बुबालाई आत्महत्या गर्न बाध्य पार्नेविरुद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेको र अहिलेसम्म दर्ता नगरी मिल्न आग्रह गरेको मृतकका छोरा शेरबहादुरको भनाइ छ। सात दिनसम्म प्रहरी कार्यालयमा पर्खिनुहोस् भनेर आठ दिनमा जाँदा पनि जाहेरी दर्ता गर्न नदिएको उनको भनाइ छ। अहिले भने डिएसपी न्यौपानेले फाइल नै बोकेर हिँडेको परिवारको आरोप छ।

यता, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले छलफल गर्न जाँदा हुल बाँधेर किन आएको भन्दै प्रश्न गरेको छोरा शेरबहादुरले गुनासो गरे। जिसस प्रमुख गौतमलेसमेत शव लगेर दाहसंस्कार गर्नु जाहेरी पछि दर्ता गरौंला भनेर मिल्ल आग्रह गरेको उनको भनाइ छ।

प्रमुख गौतम भने आफूहरुले त्यस्तो नभनी सत्य तथ्य के रहेछ पत्ता लगाउन खोजेको दाबी गर्छ्न। ‘जाहेरी दर्ता गर्ने काम हाम्रो होइन, प्रहरीको हो। यथार्थ के रहेछ बुझ्न खोजेको हो। दोषीलाई कारबाही हुन्छ’, प्रमुख गौतमले भने।

प्रहरी, सिडियो, जिल्ला समन्वय समितिका प्रमुख सबैले मिल्नुपर्छ भन्दै पीडितको जाहेरी नलिएको भन्दै जिल्लाका अगुवाले प्रहरी प्रशासन जिल्लाको राजनीतिलाई हेरेर अगाडि बढेको आरोप लगाएका छन्।

पीडितको जाहेरी १० दिनसम्म दर्ता नगर्नु , पीडितलाई जाहेरी दर्ता गर्न बोलाएर जाहेरी नै लिएर डिएसपी कार्यकक्षमा नहुनु, जाहेरी नै नलिकन छलफल गरेर मिल्न आग्रह गर्नुले मिलेमतो भएको आशंका पीडित पक्षको छ। यी सबै कुरालाई जानकारले राजनीतिक आडमा घटनालाई सामसुम पार्न खोजेको भन्दै परिवारका सदस्यले आक्रोश व्यक्त गरेका छन्।

साथै समन्वय समितिको संयोजकत्वमा बसेको बैठकमा समेत मुख्य आरोपित दानकुमारीलाई नबोलाई लुकाएर राखेको स्रोतको दाबी छ। तर दानकुमारी आफूलाई कुनै जानकारी नभएर उपस्थित नभएको बताउँछिन्।

आरोपित वडा अध्यक्ष लेखनाथ श्रेष्ठले भने पहिलादेखि नै जग्गाको विषयमा विवाद हुँदै आएको स्वीकार गरेका छन्। ‘यो विवाद सुरुदेखि नै हो। विवाद भयो होला, मैले चाहिँ सुनिन्’, उनले भने। स्थानीय प्रेम लामा भने घटनालाई राजनीतिकरण गरिएको आरोप लगाउँछन्। ‘यो केही होइन, राजनीति आडमा प्रशासन अगाडि बढेको देखिन्छ’, भुम्लु गाउँपालिका वडा नम्बर ९ का लामाले भने, ‘पीडितलाई लामो समयसम्म आलटाल गरेर राख्नु, जाहेरी लिन नमान्नु एकाएक ढाकछोप गर्ने प्रयास गर्नुलाई आशंकाको नजरले हेर्न सकिन्छ।’

कसरी भयो यो घटना ?
भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ्गमा रहेको भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भएर बैना बापत ३० हजार भुक्तानी भएको थियो।

बाँकी रकम यथाशीघ्र भुक्तानी गर्ने र जग्गा पास गर्ने सहमति भए पनि दानकुमारीको टिमले रकम दिन आनाकानी गर्दै आएका थिए।
रकम नदिने र जग्गा पास समेत नगरी जर्बजस्ती भवन निर्माण गरेको र पुन थप भवन निर्माण गर्न तथा शौचालय निर्माण गर्नका लागि जग खन्ने, निर्माण सामग्री जम्मा गर्ने कार्य गर्न लागेको भन्दै ठडेन्द्रबहादुर पन्त सहितले अवरोध गर्ने प्रयास गरेका थिए।

२०८० असार २ गते वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, भीमेश्वर महिला कृषि समूहकी अध्यक्ष दानकुमारी महत खत्री भएको स्थानमा ठडेन्द्रबहादुर पन्तसहित गएर रकम माग गरेका थिए।

खरिद गरिएको जग्गाको तत्काल रकम दिन अनुरोध गर्दै उनले रकम नदिँदासम्म उक्त स्थानमा निर्माण कार्य रोक्न भनेका थिए। उक्त अनुरोधलाई अस्वीकृत गर्दै वडा अध्यक्ष श्रेष्ठ, संस्थाकी अध्यक्ष तथा वडा सदस्य समेत रहेकी दानकुमारी खत्री, ताराबहादुर पन्तले हामी जनप्रतिनिधि हौँ, तेरो घरको बत्ती समेत काट्छौँ, जन्म दर्ता सिफारिस कागज पत्र दिँदैनौ, सामाजिक बहिस्कार गर्छौ। तिमीहरुले सकेको गर भन्दै धम्की दिएको परिवारको आरोप छ।

ताराबहादुर पन्तले उक्त जग्गामा रोपेको मकै उखेलेर फालिदिएर जग्गामा जबरजस्ती निर्माण कार्य गरेर मानसिक यातना र धम्की दिएको परिवारले आरोप लगाएको हो। धम्कीपछि विक्षिप्त भएका ठडेन्द्रबहादुर पन्तले सोही जग्गाको नजिकै लप्सीको बोटमा नाम्लोको पासो लगाई असार १० गते बिहान झुन्डिएर आत्महत्या गरेका हुन्।
पीडितहरुले सोही कारण आफ्ना बाबुले आत्महत्या गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा कारबाहीको माग गर्दै जाहेरी दर्ता गर्न खोजेका हुन्। पीडित परिवारले दिन लागेको जाहेरी प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिले रोकेपछि शोकमा परेको परिवार न्यायका लागि भौतारिनु परेको छ।

घटना घटेको तीन दिनमै दिएको जाहेरी अहिलेसम्म दर्ता हुन सकेको छैन। जिल्ला जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढुण्डीराज न्यौपानेले अहिलेसम्म जाहेरी दर्ता नभएको प्रष्ट पारेका छन्। उनले जाहेरी दर्ता हुने आश्वासन भने दिएका छन्। आश्वासन दिए पनि जाहेरी भने १० दिनसम्म दर्ता भएको छैन। शोकमा रहेको परिवारलाई सान्त्वना दिनुपर्ने जनप्रतिनिधि र प्रशासनले भने जाहेरी दर्ताको पहल नगरेर थप पीडा दिएका छन्।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : ५३ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.