नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ « Khabarhub

नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ

माओवादी केन्द्रीय समिति बैठक


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक चलिरहेको छ। बैठकमा उठेका एजेन्डा, केन्द्रीय सदस्यले नेतृत्वलाई सोधिराखेका प्रश्न, पार्टी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनलाई हेर्दा सबैको विचार दृष्टिकोण र निष्कर्ष देख्दा माओवादी पार्टी कठिन मोडबाट गुज्रिराखेको छ। २०७८ सालको पुसमा माओवादीको केन्द्रीय समितिको बैठक, माओवादीको महाधिवेशन भएपछिको यो दोस्रो बैठक हो। यो बीचमा पदाधिकारी र स्थायी समितिको बैठक बस्यो तर त्यसले गरेका निर्णय प्रभावकारी बन्न सकेनन् । ती निर्णय तल्लो तहसम्म पुग्न सकेनन्। शान्ति प्रक्रियाको बाँकी कार्यभार पुरा गर्ने जिम्मेवारीमा माओवादी किन चुकिराखेको छ ? सरकारको प्रभावकारिताको सन्दर्भमा प्रश्न किन उठिराखेको छ ? यी र यस्तै विषयमा आधारित रहेर नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य, कर्णाली प्रदेश कमिटीका इन्चार्ज कालीबहादुर मल्लसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले कर्णाली मात्र होइन देशभरका माओवादी कार्यकर्ता निराश छन्। यो परिस्थितिमा बसेको केन्द्रीय समितिको बैठकले के ऊर्जा देला ?
अहिले सबैतिर राम्रो गति देखिएको छैन। राजनीतिक रूपले पनि तलमाथि भइरहेको छ । राज्य जुन ढङ्गबाट अगाडि बढ्नुपर्ने हो त्यो ढङ्गले बढ्न सकेको छैन। यसले कार्यकर्तामा गुनासो र नेतृत्वको कार्यशैलीको विषयमा प्रश्न उठ्ने गरेका छन्। कर्णालीमा निष्क्रिय भन्ने छैन तर गुनासो छन्। पार्टीको नीति कार्यक्रम योजनाको ठोस रूपले आएन भन्ने विषयमा पनि प्रश्न उठेका छन्। पार्टीले दुई महिने अभियान सञ्चालन गरेको छ। फागुन चैतमा त्यसले कर्णालीका सबै कार्यकर्ता सक्रियतापूर्वक खटेर जनतासमक्ष पुगेका छन्। नागरिसँगको सम्बन्ध सुदृढी भएको छ। तर नीति ठोस नभएपछि शैलीमा समाधान खोज्न गाह्रो भइराखेको छ।

संसदीय राजनीतिमा बसेर क्रान्तिकारी धार र त्यो छवि खोजेर भेटिन्छ ?
देशको परिस्थिति अहिले सरकारको हिसाबले हेर्दा शान्ति प्रक्रियामा आइसकेपछि सरकार केन्द्रित हुने कार्यक्रम बनेका छन्। सरकारमार्फत जनतालाई राहत दिने र समृद्धिका कुराहरू हुन्छन्। यो एजेन्डा माओवादीको एजेन्डा हो भनेर हामीले राजनीतिक रूपमा स्थापित ग¥यौँ। तर पछिल्लो चरणमा बदलिएको परिस्थिति र हाम्रो कार्यशैलीको बीचमा अन्तर्विरोध भयो।

उपलब्धिलाई तपाईंहरूले मार्केटिङ गर्न सक्नु भएन, किन ?
माओवादीले हासिल गरेको उपलब्धिलाई व्यवस्थित ढङ्गले प्रस्तुत गर्ने, जनताकोमा जाने र संविधानमा व्याख्या गर्ने कुरामा हामी पछाडि परेका छौं। जसले गर्दा हामीले ल्याएको एजेन्डामा नै टेकेर हामीलाई नै आलोचना गर्ने र बदनाम गर्ने स्थिति देखा परेको छ।

हिजो तपाईंहरूले यो बैरी र दुस्मन हो भनेका शक्तिसँग अंकमाल गरेपछि यस्तो अवस्था आयो नि ?
अहिलेको आवश्यकता अनुसार सहकार्य गरेर गएका हौँ। २०६४ को निर्वाचनमा पनि राम्रो मत पाएका हौँ। हामीले युद्धकालमा उठाएका मुद्दालाई पुरा गर्न नसक्दा विपक्षले यसमा नै टेकेर सहिद परिवार बेपता परिवार र समग्र जनतामा भ्रम छर्ने कुरा भयो त्यसलाई अहिले हामीले व्यवस्था गर्न सकेका छैनौँ। तर अहिलेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनले केही आशा जगाएको छ। यसलाई सही ढंगले कार्यान्वयन गर्न सक्यौँ भने एक पटक धक्का दिएर अगाडि बढ्न सकिन्छ।

२०७८ सालको पुसमा पार्टीको महाधिवेशनका निर्णय कति कार्यान्वयन गर्नुभयो ?
समाजवादको नेपाली बाटो भन्ने मूल दस्तावेज तयार पारेको हो। त्यसलाई व्याख्या गरेर अगाडि जानुपर्नेमा ढिला भयो। पार्टी अध्यक्ष सरकारको प्रमुख भएको कारण निर्णय कार्यान्वयन गर्न समस्या भयो। सत्तामा पार्टी भएपछि जनताको आवश्यकता र आयआर्जनसँग जोडिएको कुराले प्रभाव पार्ने रहेछ। त्यो विषयमा हामी गम्भीर भएर लागिपरेका छौं।

सदस्यता नवीकरण वा सदस्यलाई क्रियाशील बनाउन माओवादीले सकेन। कार्यकर्तालाई यो ठाउँमा हाम्रा उम्मेदवार भएनन् यसमा भोट हाल, यता भोट नहाल भन्न मिल्छ त ?
माओवादी पहिला २०६४ को जस्तो भएन। पार्टीभित्रको फुटको प्रभाव देखियो। यसले गर्दा कार्यकर्ता पलायन भए। स्थानीय चुनावदेखि लिएर यो ठाउँमा हाम्रा उम्मेदवार भएनन् यता यसमा भोट हाल, यता भोट नहाल भन्ने माओवादीका मात्र होइन सबै पार्टीका बाध्यता हुन्। अहिले हामीलाई एक पटक मौका छ। अहिले जनताले हामीले गरेको काम सुशासनलाई हेरेका छन्। अब हामीले पार्टी सुधार गर्नुपर्छ। त्यो बाटोमा हामी अगाडि बढेका छौं।

तपाईंको बुझाइमा माओवादी पार्टीको जग नै खलबलिएको हो ?
विचार र कार्यदिशा हाम्रो प्रष्ट छ। प्रधानमन्त्री आफैले संसद् विघटन गरेर बहुमत प्राप्त कम्युनिस्ट पार्टीलाई अलगअलग गर्ने गरेपछि हामी कमजोर भएका देखियौं। माओवादी अहिले फेरि आफ्नै जगबाट उठ्ने तयारी गरिरहेको छ।

माओवादीमा किन वैचारिक विचलन देखियो ?
वैचारिक विचलन भनेको हामीले मान्दै आएको मार्गदर्शक सिद्धान्त हो। त्यसलाई व्यवहारमा जोड्दै लाने कुरा हो।

अपधारमा पनि माओवादी जोडियो। तर नेतामाथि किन अनुसन्धान हुँदैन ?
अपराधसँग जोडिएका कुरा पुष्टि भए कारबाही अगाडि बढाउने निकाय छन्। कसैले बिना प्रमाण भन्यो भने र जनतामा भ्रम छर्ने काम गरियो भने त्यो कुरालाई आधार मान्न सकिँदैन। गृहमन्त्रीको राजीनामा मागेको पनि सुनियो। त्यसैले अहिलेको यो विषयलाई गहिरो रूपले अध्ययन गर्ने हो। भ्रष्टाचारविरुद्ध आक्रामक ढंगले अगाडि बढेको सरकारको विरोध गर्नेहरुका कुरा धेरै सुन्नु हुँदैन। कसैले अपराध गरेको पुष्टि भएर आएमा त्यसमा कारबाही हुनुपर्छ। अहिले नेताहरुले आठ दश वर्ष अघिका तस्बिर सार्वजनिक गरेर माओवादी नेतालाई बदनाम गर्ने काम गरेका छन्। यो कुरामा षड्यन्त्र छ भन्ने कुरा हामीले बुझेका छौँ।

माओवादी नेतामाथि यस्तो आरोप त्यत्तिकै लागेको त होइन होला नि ?
अहिले हामी राम्रो काम गर्नुपर्छ भनेर अगाडि बढेका छौं। आउँदा दिनमा हाम्रो सरकार भएको ठाउँमा राम्ररी काम गर्ने हो। माओवादी राम्रो काम गर्छ भनेर भन्ने बनाउनुपर्छ। मुखले बोलर मात्र होइन बजेट नै विनियोजन पनि भएका छन्। जिल्लामा एउटा पालिकालाई नमुना बनाउने कुरा पनि भएको छ। यो भयो भने विगतका दागहरूलाई मेटाउन प्रयास हुन्छ भन्ने लागेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ५४ बजे

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण