ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने चीनको प्रयास | Khabarhub Khabarhub

ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने चीनको प्रयास


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चीन उदीयमान अर्थतन्त्रहरुको समूह ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप्ने प्रयासमा छ । हाल ब्रिक्सका सदस्य राष्ट्रहरुमा चीनसहित भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका रहेका छन् ।

अमेरिकासँग बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै चीनले ब्रिक्समा सदस्य राष्ट्रको सङ्ख्या थप गर्ने प्रयास गरेको हो । चीनको यस प्रयासलाई ब्रिक्सका अन्य सदस्यहरु ब्राजिल र भारतले सकारात्मक रुपमा लिएका छैनन् । भारतले ब्रिक्समा नयाँ सदस्य थप्नका लागि विशेष नियम बनाउनुपर्नेमा जोड दिएको छ ।

दक्षिण अफ्रिकाको जोहान्नेसबर्गमा आगामी अगस्ट २२ देखि २४ सम्म ब्रिक्स शिखर सम्मेलनको आयोजना हुँदैछ । ब्रिक्स शिखर सम्मेलनअघि भारत र ब्राजिलले समूहमा नयाँ सदस्य थप्ने चिनियाँ प्रयासको विरोध गरेका हुन् । उक्त शिखर सम्मेलनमा चीनले साउदी अरब र इन्डोनेशियालाई ब्रिक्सको सदस्यता दिन प्रस्ताव ल्याउने अपेक्षा गरिएको छ । त्यसबाहेक बेलारुसले पनि ब्रिक्समा सदस्यताका लागि आवेदन दिएको छ ।

पछिल्लो समय धेरै मुलुकले यस समूहको सदस्यता प्राप्त गर्नका लागि प्रयास गरिरहेको अवस्थामा चीनले सदस्य सङ्ख्या बढाउने प्रस्ताव ल्याउन लागेको हो । अमेरिका र पश्चिमा मुलुकसँग जारी शक्ति संघर्षमा सन्तुलन मिलाउनका लागि चीनले ब्रिक्समा नयाँ सदस्य थप गर्ने प्रयास गरेको विश्लेषण गरिएको छ । चीनको प्रयासलाई लिएर ब्राजिल र भारतले विरोध जनाएपनि दक्षिण अफ्रिकाले भने यसबारे सिर्जनात्मक बहसका लागि तयार रहेको जनाएको छ ।

यसबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले गत वर्ष ब्रिक्सका नेताहरुको बैठकले सदस्यता विस्तारलाई स्वीकृत गरेको उल्लेख गरेका छन् । आगामी केही वर्षमा ब्रिक्सलाई विश्वको महत्वपूर्ण राजनीतिक एवम् आर्थिक शक्तिका रुपमा प्रस्तुत गर्ने लक्ष्यसहित जोहान्नेसबर्गमा सम्मेलनको आयोजना हुन लागेको हो ।

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनलाई निकै चासोपूर्वक हेरिएको छ । विश्व अर्थतन्त्रमा कायम अमेरिकी डलरको दबदबालाई चुनौति दिनका लागि चीनले यस शिखर सम्मेलनमा ब्रिक्सका सदस्य मुलुकहरुले एउटै मुद्रा प्रचलनमा ल्याउने विषय पनि उठान गर्ने बताइएको छ । यस सम्मेलनम रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भर्चुअल रुपमा सहभागी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फैजदारी अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेको छ ।

आगामी शिखर सम्मेलनको साइडलाइन कार्यक्रममा पाकिस्तानको सहभागितालाई लिएर यही वर्षको जुन महिनामा आयोजित ब्रिक्सको एक बैठकमा पनि भारतले विरोध जनाएको थियो । जुन महिनामा पत्रकारसँग कुराकानी गर्दै ब्रिक्समा नयाँ सदस्यता वितरण गर्न निश्चित मापदण्ड बनाउनुपर्ने उल्लेख गरेका थिए । ब्रिक्समा सदस्य थप गर्नका लागि सदस्य बन्न चाहने मुलुकको अर्थतन्त्र, आकार, साँस्कृतिक प्रभाव र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यान दिइनुपर्ने भारतको तर्क छ ।

विश्वमा सहकार्य, शान्ति, सुरक्षा र विकास स्थापित गर्न ब्रिक्सको स्थापना भएको विश्वास गरिन्छ । ब्रिक्सका सदस्य राष्ट्रहरुले विश्वको ४३ प्रतिशत जनसङ्ख्या, २६ प्रतिशत क्षेत्रफल र करिब ३० प्रतिशत पैसाको शक्तिको प्रतिनिधित्व गर्छन् । पाकिस्तानजस्ता मुलुकलाई पनि ब्रिक्सको सदस्यता दिन चीनले पहल गरिरहेको छ । विश्व अर्थव्यवस्थामा अमेरिकी डलरलाई चुनौति दिनका लागि चीनले सदस्य राष्ट्रहरुमा वैकल्पिक मुद्रा प्रचलनमा ल्याउने प्रयासलाई पनि जोड दिइरहेको छ ।

ब्रिक्स मुद्रालाई समर्थन गर्नेबारे भारतले कुनै टिप्पणी गरेको छैन । चीनको प्रयासलाई ब्रिक्सको आडमा आफ्नो युआन मुद्रालाई विश्वव्यापी बनाउने प्रयास गरिरहेको हिसाबमा पनि विश्लेषण गरिएको छ । आगामी ब्रिक्स शिखर सम्मेलनमा के होला भन्ने चासो बढिरहँदा ब्रिक्सका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालले वैकल्पिक मुद्राबारे सम्मेलनमा चर्चा नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : २७ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार