क्रिकेट

एसियाली खेलकुद : पुरुष क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

By खबरहब

October 06, 2023

काठमाडौँ- चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।

आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । पाकिस्तानले अफगानिस्तानलाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो ।

जवाफमा अफगानिस्तानले १७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अफगानिस्तानको लागि नुर अलि जाद्रनले ३९ रनको योगदान दिए भने कप्तान गुल्बादिन नैबले अविजित २६ रनको योगदान दिए ।

पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो ।

पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिए भने अमेर जमलले १४ रन बनाए । त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाए ।

अफगानिस्तानका फारिद अहमदले तीन विकेट झारे भने क्विस अहमदले दुई विकेट लिए । भारत र अफगानिस्तानबीचको फाइनल खेल भोलि हुदैँछ ।