प्रतिकात्मक तस्वीर

देश/प्रदेश

वास्तु शास्त्रको अध्ययन र अनुसन्धानका लागि नेपाल र अमेरिकाका विश्वविद्यालयबीच सम्झौता गरिने

By खबरहब

October 06, 2023

काठमाडौँ- वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालयबीच सम्झौता गरिने भएको छ ।

दुवै देशका विद्वानलाई सहभागी गराएर नेपालमा आयोजना गरिएको छ हप्ते गोष्ठी समापनका अवसरमा शनिबार दुई विश्वविद्यालयबीच सम्झौता गर्न लागिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिए ।

पछिल्लो समय नेपालमा वास्तुको अध्ययन, अध्यापनमा कमी आएका बेला त्यसलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुवै देशका विद्वानलाई सहभागी गराएर छ हप्ते कार्यक्रम आयोजना गरिएको थियो ।

जसको समापनका अवसरमा ऐतिहासिक सम्झौता गर्न लागिएको हो । शान्ति र समृद्धिका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएकामा विद्वानले जोड दिएपछि दुवै विश्वविद्यालयबीच सम्झौता गरी यसलाई अघि बढाउन लागिएको हो ।

पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएकाले यसको उत्पत्तिस्थल नेपालमा यसको पुनरुत्थान गर्न लागिएको उनले बताए । महर्षि महेश योगीले विश्वव्यापी रुपमा प्रचारप्रसार गरेको वैदिक ज्ञानका १२ क्षेत्रमध्ये वास्तु पनि एक हो । यसअघि यस किसिमका चार वटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्यान्ड्समा सम्पन्न गरिएको थियो ।

नेपालमा यस किसिमको पहिलो कार्यक्रम गरिएको पनि फाउन्डेसनले जनाएको छ । कार्यक्रममा एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका १४ देशका २४ जना आर्किटेक इञ्जिनियरको सहभागिता रहेको छ । कार्यक्रमको समापन र दुई देशका दुई विश्वविद्यालयबीच शनिबार राजधानीमा सम्झौता गरिने कार्यक्रम रहेको जनाइएको छ ।