जंगबहादुरको क्यामेरा जतन गर्ने मदनबाबु | Khabarhub Khabarhub

जंगबहादुरको क्यामेरा जतन गर्ने मदनबाबु



सन् १८५० मा भएको पहिलो राणा प्रधानमन्त्री जंगबहादुरको एक वर्ष लामो बेलायत यात्रा नेपालको कूटनीतिक वृत्तमा सधैं ‘हटकेक’ मानिन्छ। सिंगो भारत अंग्रेज शासित रहेका बखत स्वतन्त्र राष्ट्रको हैसियतमा बेलायतको भ्रमण गरेर जंगबहादुरले नेपालको कुटनीतिक, शैक्षिक, सैनिक र प्रविधिको विकासमा उल्लेखनीय सुधार गरेका थिए। दरबार स्कुलको स्थापना, नेपाली सेनाको आधुनिकीकरण, गिद्दे प्रेसमार्फत छपाइको सुरुवातजस्ता सुधार देशको आन्तरिक जीवनमा ल्याइएका दूरगामी परिवर्तन थिए। तिनै जंगबहादुरले बेलायतबाट ल्याएको क्यामेरा अद्यावधि संरक्षण गर्ने एउटा अद्भूत पात्रका विषयमा यो आलेख केन्द्रित छ।

भक्तपुर गठ्ठाघरका मदनबाबु बज्राचार्यले क्यामेरा संग्रह थालेको ६५ वर्ष लागेछ। उनीसँग बेलायतबाट जंगबहादुरले ल्याएको क्यामेरादेखि विश्वका शताब्दीअघि निर्मित दुर्लभ क्यामेरा संग्रहित छन्। ६० वर्षअघि मदनबाबुले दुई हजारमा जंगबहादुरले बेलायतबाट ल्याएको क्यामेरा किनेका थिए। जुनबेला काठमाडौं उपत्यकामा एक हजार रुपैयाँमा एक रोपनी जग्गा आउँथ्यो। दुई रोपनी जग्गा आउने पैसा क्यामेरा संकलनको अनुत्पादक वस्तुमा किन लगाए ? यसको जवाफ खोज्न उनको रोचक इतिहाससँग साक्षात्कार आवश्यक छ।

पुरानो क्यामेरालाई चार करोडसम्म खर्चिने प्रस्ताव इन्कार । क्यामेरा बेच्नु सन्तान बेच्नुसरह भएको उनको बुझाइ छ।

त्यतिबेला उनी न्यूरोडमा क्यामेरा र रेडियोको पसल चलाउँथे। क्यामेरा र रेडियोको व्यापार सामाजिक रुपमै प्रतिष्ठित थियो। पसलमा विदेशी पर्यटकको घुइँचो लाग्थ्यो। विदेशीले ल्याएका नयाँ नयाँ क्यामेरामा उनको आँखा पथ्र्यो। आँखा लागेपछि त्यो क्यामेरा हात नलगाई मदनबाबुलाई निद्रा नै लाग्दैनथ्यो। विदेशीसँग साटपाट गरेर होस या पैसा थपथाप गरेर उनी क्यामेरा लिएरै छाड्थे। एक दुईवटा गर्दागर्दै र्‍याकमा थपिएका क्यामेराले थाहै नपाई संग्रहको आकार पाइसकेको उनलाई त्यतिबेला थाहा भयो, एक विदेशी पत्रिकामा आफ्नो नामसहित प्रकाशित सामग्री पढे। यसले उनको क्यामेरा संकलनको हुटहुटी अझ बढेर गयो।

क्यामेरा संकलन गर्दाका जटिल संघर्षको स्मरणले कहिले नमिठो सपना बनेर तर्साउँछ त कहिले रुमानी स्मरण बन्छ। जीवनको रहरलाग्दो समय क्यामेरा खोजीमै बित्यो। घरभरि सयौं मोडलका क्यामेरा छन्। उमेर ८० वर्ष नाघिसक्यो। जीवनभर कमाएको कमाईले दिएको नामप्रति गौरव छ। तर सन्ततिको नासो बनाउने मदनबाबुको इच्छालाई कसैले नबुझ्दा उनी भक्कानिन्छन्।

मदनबाबुले संकलन गरेका दुर्लभ क्यामेराको अस्तित्व निर्माण भएकै देशमा अप्राप्य भइसक्यो। संग्रहमा रहेको सर्वाधिक पुरानो ‘इलफोर्ड क्यामेरा’को इतिहास अहिले कतै पाइँदैन। जर्मनीले तयार पारेको क्याट्लगमा पनि उक्त क्यामेराको इतिहास समेटिएको छैन। त्यो क्यामेराका खातिर चार करोडसम्म खर्चिने आउँदासमेत मदनबाबुले प्रस्ताव इन्कार गरे। संकलित क्यामेरा बेच्नु सन्तान बेच्नुसरह भएको बुझाइ उनको छ।

मदनबाबुले संकलन गरेका दुर्लभ क्यामेराको अस्तित्व निर्माण भएकै देशमा अप्राप्य भइसक्यो। संग्रहमा रहेको सर्वाधिक पुरानो ‘इलफोर्ड क्यामेरा’को इतिहास अहिले कतै पाइँदैन ।

जंगबहादुरले बेलायतबाट ल्याएको क्यामेरा अझै जतन गरेर राखेका छन्। यो कसरी हात पर्‍यो त ? मदनबाबु बेलिबिस्तार लगाउँदै भन्छन्, ‘कान्छा कायस्त भन्ने मेरा साथी थिए। उनैले एकजनासँग जंगबहादुर राणाले बेलायतबाट ल्याएको क्यामेरा रहेछ किन्ने हो भनेर सोधे। त्यसपछि मैले ती व्यक्तिलाई भेटेर दुई हजार नगदमा क्यामेराको लेन्स किनेँ।’ यसको केही समयपछि चन्द्रशमशेरले युरोपबाट ल्याएको ४० किलोको क्यामेरा समेत मदनबाबु आफ्नो संग्रह कक्षमा ल्याउन सफल भए। यो क्यामेराका लेन्स, फिल्टर, डार्क रुमका सामान समेत सुरक्षित छ। पहिलो नेपाली सिनेमा ‘माइतीघर’ खिचेको क्यामेरालाई आफ्नो नबनाई मदनबाबुको मन मानेन। विद्यालयका बालबालिकादेखि सौखिन विदेशीका लागि मदनबाबुको संग्रहालय धाम बनेको छ।

मदनबाबुको ख्याती क्यामेराको संग्रहकर्ताका रुपमा मात्र सीमित छैन। उनी त भक्तपुर जिल्लामा निजी गाडी र मोटरसाइकल चढ्ने पहिलो व्यक्तिका रुपमा इतिहास बनेको छ। २०२३ सालमा मोटरसाइकल चलाउँदै गर्दा प्रहरीले पक्रिएको घटना मीठो मानेर सुनाउँछन्। मदनबाबु पढेका छैनन, तर पढेकालाई पढाउँछन्। उनको अर्को रहर साथी बनाउनु पनि हो। तर, साथी बनाउँदा सिकाउने हैसियत भएकोसँग मात्र संगत गर्नुपर्ने शिक्षा उनले ग्रहण गरेका छन्। यही गुणको प्रभावका कारण विश्वविद्यालयका थुप्रै विद्यार्थीले उनका विषयमा शोधपत्र लेखेका छन्।

विदेशमा छँदा मैले संकलन गरेको एउटा क्यामेरा हरायो। त्यसको पीडाले अझै मलाई झस्काउँछ। तर मेरो अनुपस्थितिमा यसको संरक्षण कसरी होला भनेर चिन्तित छु।

‘मेरो टोल छिमेकमा म छुट्टै थिएँ, सबैले खेतीपाती गर्थे, मैले फरक खालको काम सुरु गरेँ, त्यसले मलाई भिन्दै बनायो’, मदनबाबु भन्छन, ‘विदेशमा छँदा मैले संकलन गरेको एउटा क्यामेरा हरायो। त्यसको पीडाले अझै मलाई झस्काउँछ। संग्रहित क्यामेरा मलाई सन्तानजस्तै लाग्छ। तर मेरो अनुपस्थितिमा यसको संरक्षण कसरी होला भनेर चिन्तित छु। मेरो नाममा यदि संग्रहालय बनाइदिन्छ भने सरकारलाई यी अमूल्य निधि बुझाउन तयार छु।’

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ०१ बजे

लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुखको आग्रह

कम्बोडिया– पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले

आठ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ उपयोगविहीन 

पर्सा– ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानको अभावमा नारायणी अस्पताल

कास्कीको अन्नपूर्णमा ‘हनी हन्टिङ’ महोत्सव

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

भोजपुर– समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको