तिहारका लागि पाला बनाउन भक्तपुरका कुमाले समुदाय व्यस्त « Khabarhub

तिहारका लागि पाला बनाउन भक्तपुरका कुमाले समुदाय व्यस्त


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ ।

त्यसैले तिहार जति नजिक आउँदैछ, बजारमा पालाको माग पनि उत्तिकै बढ्दो छ । पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तिहारको पालाको माग धान्न भक्तपुरका विभिन्न स्थानमा धमाधम पाला बनाइँदैछ । कुमाले समुदाय माटाका अन्य भाँडा बनाउन छाडेर अहिले पाला बनाउन व्यस्त छन् ।

“तिहारमा अरु भाँडा त्यति बिक्री पनि हुँदैन, त्यसैले अहिले अन्य भाँडा बनाउन छाडेर पाला बनाउँदैँ आएका छौँ”, भक्तपुर पोटरी स्क्वायरमा पाला सुकाउन व्यस्त पञ्चमाया प्रजापतिले भनिन्, “चाडपर्व अनुसार पनि भाँडा बनाउनुपर्छ, दसैँमा धुपौरो, कुलिँचाको माग बढेजस्तै तिहारमा पालाको माग बढी आउँछ ।”

तिहारमा लक्ष्मीपूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको पञ्चमायाले बताइन् ।

“बिहान सबेरै उठेर अघिल्लो दिनमै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने तथा सुकिसकेको पालालाई पालोमा राखेर भट्टीमा पोल्ने र माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौंँ, अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन”, उनले भनिन् । पाला बनाउन माटोलाई आवश्यकता अनुसार मेसिनले मुछेर तयार गरिन्छ । आजभोलि प्रविधिले माटोको भाँडा बनाउने पेसा पनि सहज बन्दै गएको छ ।

मेसिनले नै तयार गरेको माटोलाई विद्युतीय चक्रमा राखेर काँचो पाला तयार गरिन्छ । यसरी बनाएको पालालाई घाममा सुकाइन्छ । सुकेर तयार भएको पालालाई आधुनिक भट्टीमा पोलेपछि पाला पूर्ण रुपमा तयार हुन्छ र मागअनुसार बजारमा आपूर्ति गरिन्छ । आजभोलि भक्तपुरका पोटरी स्क्वायर तालक्वका कुमालेहरु मात्र होइन सुजमारी, लिवाली, तुमुचो, सूर्यविनायक, चोलिंचा, च्याम्हासिहंलगायतमा माटोका भाँडा बनाउने पेसामा संलग्न कुमालेहरु अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् ।

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाका दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ ।

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युतीय बत्तीको प्रयोगसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलिमिली पार्ने गरे पनि अनिर्वाय रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् । केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन पनि देखिएको थियो तर दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएको छ ।

पालाको माग बर्सेनि बढ्दो रहेको कुमालेहरु बताउँछन् । विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षित तथा धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको पाला व्यवसायी विनोदकुमार प्रजापति बताउँछन् । कुमालेहरुले तयार भएको पाला थोक व्यापारीलाई बिक्री गरिन्छ ।

थोक व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैंयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेका छन् । भक्तपुरमा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा बिक्री हुन्छ

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : ३७ बजे

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक