आईसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा | Khabarhub Khabarhub

आईसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आईसीयू स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए ।

दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शय्याको उक्त आईसीयू कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भएका हुन् । सङ्घीय सरकारको सहयोगमा रू दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालमा सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।

उनका अनुसार डायलाइसिस मेसिनको कात्तिक पहिलो साता परीक्षण गरी नियमित सञ्चालनको तयारी थालिएको छ । जनशक्ति र प्रयोग हुने औषधिको अभावमा आईसीयू तत्कालै सञ्चालन हुनसक्ने अवस्था नभएको जोशीको भनाइ थियो । आईसीयू सञ्चालन नहुँदा गत आवमा मात्रै एक सय ९२ जना बिरामीलाई जिल्ला अस्पतालबाट अन्यत्र पठाइएको उनले जानकारी दिए ।

“आईसीयू सञ्चालनका लागि एनेस्थेजियोलोजिस्ट चिकित्सक र अन्य सहायक स्वास्थ्यकर्मी आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी जिल्ला अस्पतालमा छैन । यहाँ कार्यरत एनेस्थेजियोलोजिस्ट चिकित्सक केही महिनामै आफ्नो अवधि पूरा गरी सरुवा हुन लागेका छन्”, जोशीले भने । दुर्गम क्षेत्रमा सेवा दिने स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधाका साथै काम गर्ने वातावरण नहुनु, सुरक्षामा चुनौती र भौगोलिक कठिनाइलगायत कारण चाहेअनुसार स्वास्थ्यकर्मी राख्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बुद्धिबहादुर थापाले बताए । अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्नसके गम्भीर प्रकृतिका बिरामीलाई ठूलो राहत पुग्ने र रेफर गर्नुपर्ने अवस्थामा कमी आउने उनको भनाइ थियो ।

उपकरण भएर पनि सञ्चालन गर्न नसक्दा दुर्गम क्षेत्रका सेवाग्राही मर्कामा परेका उनले बताए । पाँचथर अस्पतालले नियमितरुपमा ताप्लेजुङ र तेह्रथुमका बिरामीलाई समेत सेवा दिँदै आएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार जिल्ला अस्पतालले थप ५० शय्याको स्वीकृति पाए पनि कार्यान्वयन हुन सकेको छैन ।

उनले अहिले ६० शय्यासम्म बिरामी राखेर सेवा दिइरहेको जानकारी दिए । “आईसीयू लागि उपकरण तयार भए पनि तत्कालै सञ्चालन गर्न कठिन छ । माथिल्ला निकायमा स्वास्थ्यकर्मी पठाइदिन ताकेता गरिरहेका छौँ”, आङ्देम्बेले भने । जनशक्ति र प्रयोग हुने औषधिको उचित व्यवस्थापन हुन सके आईसीयू सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : २६ बजे

राजनीति न खुसी लेख्ने कलम बन्यो, न दुख मेट्ने इरेजर

बेलायतका दुई प्रधानमन्त्री डिजरायली र ग्लेडस्टन व्यंग्यवाण चलिरहन्थ्यो। उनीहरु पालैपालो

अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

क्यालिफोर्निया – अमेरिकाको लस एन्जलसमा डढेलोको प्रकोप अझ बढेको छ।

कास्की जिल्ला अदालत : रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस जारी

गण्डकी – कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीको

कोशी प्रदेशको प्रगति : सात वर्षमा फेरिए आधा दर्जन मुख्यमन्त्री, कर्मचारी भाडाको घरमा

विराटनगर – स्थापना कालको साढे सात वर्षमा आधा दर्जन मुख्यमन्त्री

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

तराईमा देखिएको हुस्सु । फाइल तस्बिर