‘पुतली बाजे’ को अन्तिम बिदाइ | Khabarhub Khabarhub

‘पुतली बाजे’ को अन्तिम बिदाइ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गरेका कोलिन फिलिप स्मिथ अर्थात ‘पुतली बाजे’ को आज अन्तिम बिदाइ गरिएको छ । गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएका कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसहित बिदाइ गरेको हो ।

पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’ को प्राङ्गणमा राखिएका उनलाई अन्तिम श्रद्धासुमनका लागि उनका विद्यार्थी तथा सहपाठीको बाक्लो उपस्थिति रहेको थियो । कोलिनको पार्थिव शरीरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाए । बेलायतबाट सन् १९६६ मा ३० वर्षको उमेरमा नेपाल आएका उनको पूरै जीवन नेपालमा पुतलीको अध्ययन र अनुसन्धानमा व्यतित भएको थियो ।

शिक्षा र प्रकृति संरक्षणमा नेपालमा गरेको योगदानस्वरुप सरकारले उनलाई सन् २०१९ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । कोलिनले नेपालका धेरै जिल्लामा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेका थिए । कोलिनले नेपालमा पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षणसमेत गरे । महानगरप्रमुख आचार्यले पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको अतुलनीय योगदान रहेको स्मरण गरे ।

उनले भने, “नेपालको डाँडाकाँडा, भिरपाखा र पखेरा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो ।” आफ्नो व्यक्तिगत जिन्दगी र देशसमेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाऊँ भन्ने उनको आकाङ्क्षा अद्वितीय रहेको प्रमुख आचार्यको भनाइ छ ।

जीवनमा कोलिनले कसैलाई नपिराएको र सबैसँग अपनत्व रहेर बिदा भएको उनलाई बुझ्ने र जान्नेहरुको भनाइ छ । स्व. कोलिन गणितको शिक्षक भएर पनि प्रकृतिको संरक्षणमा लागेका थिए । उनकै अग्रसरतामा पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङग्रहालय स्थापना गरिएको छ । देश तथा विदेशबाट समेत सो सङ्ग्रहालको अध्ययन अवलोकनका लागि प्रकृतिप्रेमीहरु आउने गरेका छन् ।

सङ्ग्रहालयमा कोलिनले सङ्कलन गरेका पाँच सय ८७ प्रकारका पुतली राखिएको छ । पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सङ्ग्रहालय व्यवस्थापन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्दछ भन्ने धारणाको विकासमा स्व कोलिनले योगदान गरेको बताए । विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा उनको जीवन व्यतित भएको उनले स्मरण गरे ।

“कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नुपर्दछ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धि हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौँ,” कडरियाले भने । पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पसप्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको बताए ।

उनले भने, “ नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनुमात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नुपर्दछ ।” कोलिन लामो समयदेखि पोखरा–१८ लामागाउँमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको हरियोखर्क अस्पतालमा उपचार गरिएको थियो । कोलिनको श्रद्धाञ्जलीपछि क्रिश्चियन परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : २८ बजे

बागमतीका निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर, साढे तीन करोड गैरकानुनी सम्पत्ति भेटियो

काठमाठौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक

अमेरिकासँग तनावबीच चीन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य