जनताको आश टालामा, नेताको ध्यान मालामा | Khabarhub Khabarhub

जनताको आश टालामा, नेताको ध्यान मालामा

स्वार्थ केन्द्रित राजनीतिले देश बनाउने एजेण्डा झोलामा



काठमाडौं – ‘सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यू, म र म जस्ता बालबालिकाहरु युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु।’ यो सुर्खेतका ९ वर्षीय बालक किशोर पौडेलले एमाले अध्यक्ष ओलीलाई लेखेको पत्रको अंश हो।

सामाजिक सञ्जाल फेसबुकमा स्वयम् ओलीले शेयर गर्दै प्रतिउत्तरमा लेखेका छन, ‘हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’ तर ओली एक विद्यार्थीलाई सामाजिक सञ्जालमा उत्तर दिएजस्तो सहज अवस्था नेपालमा अहिले छैन।

सरकार सञ्चालनको जिम्मा पाएका राजनीतिक दल देशका तमाम समस्या समाधानमा उदासिन देखिन्छन्। अप्ठेरो परिस्थितिमा देश विकासको एजेण्डा भन्दा राजनीतिक दल सरकार बनाउने, भत्काउने र जोगाउने खेलमा अग्रसर छन्।

देश आर्थिक संकटबाट गुज्रिरहेको छ। उद्योग कलकारखाना पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन्। व्यापार व्यवसायमा आएको मन्दीले बजार सुस्ताएको छ। देशमा सम्भावना नदेखेर लाखौं युवा अध्ययन र वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन्। नेपालमा भएका पनि उपयुक्त अवसर र समयको पर्खाइमा छन्। देशमा सम्भावना देख्ने घट्दै जाँदा कुनै पनि क्षेत्रमा उत्साह छैन।

सरकार सञ्चालनको जिम्मा पाएका राजनीतिक दल देशका तमाम समस्या समाधानमा उदासिन देखिन्छन्। अप्ठेरो परिस्थितिमा देश विकासको एजेण्डा भन्दा राजनीतिक दल सरकार बनाउने, भत्काउने र जोगाउने खेलमा अग्रसर छन्। पछिल्लो समय राजनीतिक दलका क्रियाकलाप हेर्दा उनीहरु बेमौसमी बाजा बजाउन व्यस्त छन्।

यी दलबाट परिवर्तनको आश गर्न सकिँदैन
राष्ट्रिय मुद्दा आफू अनुकुल बनाउन उद्धत राजनीतिक दल आन्तरिक राजनीतिको किचलोबाट थिचिएका छन्। देश निर्माणको भन्दा कार्यकर्ता र आफन्तको चिन्ता दल, नेता, मन्त्रीदेखि प्रधानमन्त्रीसम्ममा देखिन्छ। राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी आफ्नै घरभित्रको किचलोबाट बाहिर आउनै नसकेका दलबाट परिवर्तनको आशा गर्नै नसकिने बताउँछन्।

दलका शीर्ष नेतृत्व स्वार्थभन्दा बाहिर ननिस्कदा अहिलेको अवस्था सिर्जना भएको उनको तर्क छ। उनी भन्छन, ‘शेरबहादुर आरजुभन्दा बाहिर आउन नसक्दा, ओली आफ्ना भनिएकाको घेरा तोड्न नसक्दा र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड आफ्नो नैतिकता बिर्सेर परिवारवादमा लिप्त हुँदा देश यो अवस्थामा पुग्यो।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी आफ्नै घरभित्रको किचलोबाट बाहिर आउनै नसकेका दलबाट परिवर्तनको आशा गर्नै नसकिने तर्क गर्छन्।

कुन पार्टी कता व्यस्त ?
राजनीतिक दल र दलका नेता सत्तालिप्सामा केन्द्रित भएको उनीहरुका क्रियाकलापले स्पष्ट पार्छ। शीर्ष नेतामा सरकार र सत्ताबाहेक केही कुराको चिन्तन नभएको देखिन्छ। अहिलेका राजनीतिक दलले त्यही सत्ता लिप्सालाई प्रमाणित गर्ने गरी मात्र काम गरिरहेको विश्लेषक केसीको ठहर छ। सत्तामा नपुगेसम्म नागरिकले धेरै अपेक्षा गरे पनि सत्तामा पुगेपछि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने भनाइलाई हरेक दल र दलका नेताले चरितार्थ गर्दै आएका छन्।

दिशाहीन कांग्रेस
देशको ठूलो दल नेपाली कांग्रेस सरकारमा सामेल छ । तर कांग्रेसका नेता नै सरकारमा सहभागी मन्त्रीको कामबाट सन्तुष्ट छैनन्। मन्त्रीहरु नै सरकारमा गएर काम गर्ने वातावरण नभएको बताउन थालेका छन्।

यो बिचमा सरकारका मन्त्री हेरफेरको कुरा चले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा सहमत नहुँदा मन्त्रिपरिषद हेरफेर हुन सकिरहेको छैन।

कांग्रेस नागरिकका समस्या भन्दा आफ्नै समस्यामा धेरै रुमलिएको छ। चार प्रदेशमा सरकारको नेतृत्व गरेको र ९ महत्वपूर्ण मन्त्रालय सम्हालेको कांग्रेस राष्ट्रिय मुद्दामा केन्द्रित हुनै सकेको छैन। गुट र उपगुटमा विभाजित कांग्रेसमा राष्ट्रिय मुद्दा भन्दा सरकारी भागबण्डा प्राथमिकतामा पर्ने गरेको छ। नेताका लागि आफ्ना मान्छेलाई कसरी भाग पुर्याउने भन्ने विषय महत्वपूर्ण बनिरहेको छ।

निर्वाचनपछि जिल्ला र प्रदेशको महाधिवेशनमा फर्किएको कांग्रेसका शीर्ष नेता पार्टीमा आफ्नो पकड जमाउन तीव्र प्रतिस्पर्धामा देखिन्छन्। धेरै नेता अहिले आउँदै गरेको नीति महाधिवेशनमा एकले अर्को नेताको आलोचना गर्न गुट र उपगुट निर्माणमा केन्द्रित छन्।

गुट र उपगुटमा विभाजित कांग्रेसमा राष्ट्रिय मुद्दा भन्दा सरकारी भागबण्डा प्राथमिकतामा पर्ने गरेको छ।

देशमा विकराल बन्दै गएको अर्थतन्त्र र युवा पलायनको मुद्दा सो पार्टीमा अहिलेसम्म छलफलको विषय बनेको छैन। कांग्रेसको अपरिपक्क राजनीतिका कारण देशको मूल राजनीति नै दिशाहीन बनेको राजनीतिक विश्लेषक केसीको भनाइ छ। सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पालो कुरेर बस्दा मूल मुद्दा नै ओझेलमा परेको उनको तर्क छ।

देशको ठूलो पार्टी भएर पनि नागरिकका मुद्दा ओझेलमा पर्दा कांग्रेसका नेता नै सन्तुष्ट देखिँदैनन्। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन भन्छन, ‘यो सबै राजनीतिक दल एक ठाउँमा उभिएर देशको समृद्धिका लागि हातेमालो गर्ने समय हो। देशमा समस्या थपिँदै जाने तर नेतृत्वले समस्या समाधानको पहल नगर्ने अवस्था बनेको छ। यसले मुलुकमा ठुलो समस्या ल्याउँछ।’

रमिते एमाले
एमाले सत्ता बाहिर रहनुपर्दाको पीडा भुल्न देश दौडाहामा छ। मध्यपहाडी यात्रा ‘संकल्प यात्रा’को नामबाट देश दौडाहा गरेको एमाले नेतृत्वले हरेक कार्यक्रममा सरकार नपाउँदाको पीडा पोखेको देखिन्छ। एमाले अध्यक्ष ओलीले हरेक कार्यक्रममा आफ्नो नेतृत्वको सरकार नहुँदा देश अप्ठ्यारो स्थितिमा रहेको बताउँछन्। त्यो मात्र होइन आउँदो चुनावमा एमालेको एकल सरकार नभए देश नबन्ने तर्क ओलीको छ।

‘सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय’ भन्दै दौडिएको एमाले यात्रामा नागरिक र देशका एजेण्डा भन्दा आउँदो चुनावमा कसरी जित्ने भन्ने एजेण्डा बलियो देखिन्छ। देशको विकराल आर्थिक अवस्था र कहालीलाग्दो युवा पलायका विषयमा एमाले बोलेको छैन। आफू सरकारमा गए सबै कुरा ठिक हुने तर्क गर्दै हिँडेको एमालेको यात्रा आफूलाई राम्रो र अन्य पार्टीलाई नराम्रो देखाउने अभिप्रायले भएको डा. केसीको टिप्पणी छ। सरकारका काममा रमिते बन्ने बाहेक अरु भूमिका एमालेले निभाउन नसकेको उनको तर्क छ।

एमालेको कामबाट सोही पार्टीका नेता भिम रावल पनि सन्तुष्ट छैनन्। देश अप्ठ्यारो स्थितिमा गुज्रेको समयमा सरकारलाई खबरदारी गर्ने र नागरिकका एजेण्डा बोक्नुपर्ने भए पनि नेतृत्व त्यसमा गम्भीर नदेखिएको उनको आरोप छ।

सत्तामा रुमलिएको माओवादी
तेस्रो राजनीतिक शक्ति भएर पनि सरकारको नेतृत्व गरेको माओवादीका लागि नागरिकका मुद्दा भन्दा सरकारलाई जोगाउने मुद्दा प्राथमिकतामा देखिन्छन्। सरकारको नेतृत्व गरेको माओवादीले चुनावी घोषणापत्रमा लेखिएका कुनै पनि काम अहिलेसम्म गरेको छैन।

राजनीतिक विश्लेषक केसी भन्छन, ‘दाहालले प्रधानमन्त्रीको लोभमा आफ्नो नैतिकता नै समाप्त पारे। उनमा पछिल्लो समय देखिएको छटपटाहट आफ्नो नैतिक धरातल गुम्नुको पीडाले हुनसक्छ।’ प्रधानमन्त्रीको लोभमा उनले मारेको चक्करले नैतिकताको खडेरी देखिएको केसीको विश्लेषण छ। परिवादमा रुमलिएका प्रचण्डको नेतृत्वमा माओवादीबाट केही आशा गर्नै नसकिने र देश बनाउने सवालमा पनि पार्टीसँग कुनै एजेण्डा नभएको उनी बताउँछन्।

रास्वपाले मिसन ८४
आम नागरिक ठूला भनिएका राजनीतिक दलबाट आजित भएर दिएको भोटबाट स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिसन ०८४ को यात्रामा छ। भर्खरै मात्र मधेश प्रदेशमा उसले केन्द्रीय र संसदीय दलको संयुक्त बैठक सम्पन्न गरेको छ। सो बैठकमा आम नागरिक र राष्ट्रिय सवालका मुद्दाले स्थान नै पाएनन्। बरु आफ्नो पार्टीको व्यवस्थापनका लागि उसले केन्द्रीय सदस्य र पदाधिकारी थप गरेको छ।

रास्वपाको यो बैठकका निर्णयबाट नै उसमा देश बनाउने एजेण्डा नभएको स्पष्ट हुने केसीको विश्लेषण छ। ‘०८० मा मिसन ०८४’ भन्नु हास्यास्पद भएको भन्दै केसी रास्वपालाई मिसन ०८४ भन्ने अधिकार नै नभएको टिप्पणी गर्छन्।

आम नागरिकका मुद्दा स्थापित गरेर जाँदा कुनै मिसन नचाहिने भन्दै केसी नयाँ भनिएका दलमा समेत सत्ताको भोक देखिएको तर्क गर्छन्। मिसन ०८४ को एजेण्डाले रास्वपाबाट कुनै पनि आशा गर्न नसकिने उनको बुझाइ छ।

भर्खरै मात्र मधेश प्रदेशमा रास्वपाले केन्द्रीय र संसदीय दलको संयुक्त बैठक सम्पन्न गरेको छ। सो बैठकमा आम नागरिक र राष्ट्रिय सवालका मुद्दाले स्थान नै पाएनन्। बरु आफ्नो पार्टीको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारी थप गरेको छ।

सत्ता स्वार्थले हराएका मधेशी दल
क्षेत्रीय मुद्दालाई उठाएर मधेशमा स्थापित हुने प्रयास गरेका मधेश केन्द्रित दल सत्ता र स्वार्थमा केन्द्रित हुँदै जाँदा खुम्चिएका छन्। मधेश केन्द्रित दलले नागरिकका मुद्दा कम सरकार र सत्ताको रसपानमा धेरै रमाउँदा हरेक निर्वाचनमा सानो हुँदै गएका छन्।

बाटो बिर्सिएका साना दल
देशमा विकसित घटनाक्रमलाई औल्याउन नसक्दा साना भनिएका राजनीतिक दल दिशाबिहीन बन्न पुगेका छन्। एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल तथा झलनाथ खनालले राष्ट्रिय मुद्दामा मुख नखोलेको लामो समय भयो।

आफ्नो प्रतिष्ठा जोगाउन संघर्ष गरेको समाजवादीमा नागरिकका मुद्दा कमै मात्र सुनिन्छन्। आफ्नै पार्टीको किचलो मिलाउन नसकेको समाजवादीले माघमा गर्ने भनिएको महाधिवेशन जाजरकोट भूकम्प र राष्ट्रियसभा निर्वाचन देखाएर टारेको छ।

यस्तै, राजतन्त्रको वकालत गर्ने राप्रपामा पनि एजेण्डाको खडेरी छ। हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मुद्दालाई उसले स्थापित गराउने कुनै प्रयास नै गरेको देखिँदैन। घोषणा पत्रमा उल्लेख गरिएका कुरा चुनावको समयमा मात्र उठाउने र अन्य समयमा कुनै पनि सक्रिय क्रियाकलाप नहुनुले उसले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई चुनावी फण्डाको रुपमा प्रचार गरेको बुझ्न सकिन्छ। आफ्नै पार्टीको सिद्धान्त पत्ता लगाउन नसकेको दलले आम नागरिकका मुद्दा नउठाउनु सामान्य भएको विश्लेषक केसी बताउँछन्।

आफ्नो प्रतिष्ठा जोगाउन संघर्ष गरेको समाजवादीमा नागरिकका मुद्दा कमै मात्र सुनिन्छन्। आफ्नै पार्टीको किचलो मिलाउन नसकेको समाजवादीले माघमा गर्ने भनिएको महाधिवेशन जाजरकोट भूकम्प र राष्ट्रियसभा निर्वाचन देखाएर टारेको छ।

नेतृत्वबाट नेता नै असन्तुष्ट
०७२ को भूकम्पबाट उठ्ने प्रयास गरेको नेपालको अर्थतन्त्र कोरोनाले थला पर्यो। कोरोनाबाट विक्षिप्त अवस्थामा पुगेको अर्थतन्त्रलाई सम्हाल्ने गतिलो प्रयास नहुँदै देशको पश्चिम क्षेत्र भूकम्पबाट आहात छ। मंसिरको चिसोमा लाखौं नागरिक घरबारबिहीन छन्। भूकम्पले जोगिएका चिसोका कारण मृत्युको मुखमा पुगेका छन्। तर, सरकार उनीहरुको समस्या समाधानमा गम्भीर छैन। अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजारमा प्रक्रियागत झन्झट पैदा गरेर सरकारका मन्त्री विदेश घुमिरहेका छन्। जिम्मेवार राजनीतिक दल आफ्नो प्रतिनिधित्व देखाएर आफ्नै स्वार्थमा रुमलिएका छन्।

देश रोइरहेको बेलामा देशका समस्याका बारेमा कोही गम्भीर नबनेको टिप्पणी एमाले नेता भिम रावलको छ। रावल भन्छन्, ‘देश आर्थिक संकटमा मात्र छैन, देशमा त्यो भन्दा ठूलो रुपमा राजनीतिक संकट सिर्जना भएको छ।’

यसरी आफ्नै बाटो प्रष्ट नभएका दल र दलका नेताबाट नागरिकले देश विकास र समृद्धिको अपेक्षा गर्नु भ्रममात्र हुने निश्चित छ ।

ठूलो बलिदानबाट प्राप्त उपलब्धिलाई शीर्ष नेतृत्वको गलत कामका कारण खतराको अवस्थामा पुर्‍याएको उनको भनाइ छ। ‘पछिल्लो समय विश्व नै आर्थिक संकटसँग जुधिरहेको छ। त्यसको असर नेपालमा पनि देखिनु स्वभाविक हो’, रावल भन्छन्, ‘यसको निकासका लागि सबै दलहरु एक ठाउँमा उभिएर अर्थतन्त्र सुधार गर्दै रोजगारी सिर्जनामा लाग्नुपर्ने थियो। तर त्यसो हुन नसकेको उनको भनाइ छ। देशमा काण्डै काण्ड मच्याउने र अर्थतन्त्र खोक्रो बनाउन राजनीतिक दल सरकार लागि परेको उनको आरोप छ।

यसरी आफ्नै बाटो प्रष्ट नभएका दल र दलका नेताबाट नागरिकले देश विकास र समृद्धिको अपेक्षा गर्नु भ्रममात्र हुने देखिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १० : १६ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले