आज वैशाख २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ७, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु, २५ घाइते
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ ।
खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानका अनुसार बाढीका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
त्यसैगरी करिब ३०० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् । कामा, लालपुर, गोष्टा, कोज कुनार जिल्ला र नान्गार्हार लगायतका प्रान्तका अन्य केही क्षेत्रको हजारौँ एकड खेतीयोग्य जमिनमा आएको बाढीका कारण क्षति पुगेको हो ।
स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा वर्षा र बाढीका कारण भएको क्षतिका तस्बीर सार्वजनिक गरेका छन् । स्थानीय बासिन्दाले बाढीपीडित परिवारलाई सहयोग गर्न सहयोगी संस्थाहरूलाई आग्रह गरेका छन् ।
यसैबीच, तीव्र हावासँगै आएको भारी वर्षाले उत्तरी बल्ख, समंगन, तखार, कुन्दुज र बाघलान प्रान्तमा खेतबारी र बगैँचामा व्यापक क्षति पुर्याएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको मौसम विज्ञान विभागले मौसम थप जटिल हुनसक्ने भविष्यवाणी गरेको छ । गत अप्रिलको सुरुमा तालिबानको नेतृत्वमा रहेको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका ३१ प्रान्तमा अचानक आएको बाढी र भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको बताएका थिए ।
प्राकृतिक प्रकोपका कारण ८ सय ४८ गाईबस्तु, १ सय ५५ आवासीय घर, १ हजार २ सय ४२ घरमा आंशिक क्षति पुगेको र ७ हजार १०६ एकड खेतीयोग्य जमिनमा भौतिक तथा आर्थिक क्षति भएको उनले उल्लेख गरेका छन् ।
अफगानिस्तानका नौ प्रान्तहरू पहिले भारी वर्षा, हिउँ र पानीबाट गम्भीर रूपमा प्रभावित भएका थिए जसमा बाल्ख, जाबुल, फर्याब, उरुजगान, निमरोज, नान्गाहार, कुनार, नुरिस्तान र लघमान लगायतका छन्। भारी वर्षाका कारण ७५६ भन्दा बढी घर आंशिक वा पूर्णरुपमा ध्वस्त भएका पनि उल्लेख गरिएको छ ।
सुडानमा टर्किस राजदूतको गाडीमा गोली प्रहार
द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा गोली प्रहार भएको छ । उक्त घटनालाई लिएर सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसविरुद्ध दोषारोपणमा उत्रेका छन् ।
आरएसएफले राजधानी खार्तुममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई ‘कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम’ को संज्ञा दिएको छ ।
आरएसएफले जारी गरेको विज्ञप्तिमा ‘राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ ।’ उल्लेख छ ।
अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपपछि सुडानबाट विदेशी नागरिक र कूटनीतिज्ञहरू बाहिरिएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन् ।
अफगानिस्तानमा हतियारको भण्डार फेला
अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको अफगान गुप्तचर महानिर्देशनालय (जीडीआई) ले आइतबार जनाएको छ ।
गोप्य सूचनाको आधारमा गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अकारवाही गरेको र दुई मोर्टार र हजारौँ गोली सहित धेरै हतियारहरू फेला पारेको बताइएको छ । अफगान सुरक्षा बलले पछिल्ला केही दिनमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तमा पनि ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको थियो ।
यस्तै कारवाहीमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलो हतियार भण्डार फेला पारेको थियो । अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मीबाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।
अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी ९ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । र, प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सदिग्ध ऐलन पनि मारिएका छन् ।
घटनाका केही तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरु भुइँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ ।
पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन, हाल उनीहरुको अवस्थाबारे कुनै जानकारी आएको छैन ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् । पसलकी जिल वूलीले स्थानीय समाचार स्टेसनलाई बताइन् कि उनी आफ्नी ७९ वर्षीया आमासँग गोली चल्दा भित्र थिइन्। ‘मलाई तुरुन्तै थाहा थियो कि यो बन्दुकको गोली हो। त्यसपछि हामी भुइँमा पल्ट्यौं,’ वुलीले सञ्चारकर्मीसँग भनिन् ।
‘आजको यो हिंसात्मक घटनाबाट हाम्रा पाहुनाहरू र भाडामा लिनेहरू प्रभावित भएकोमा हामी निराश भएका छौं,’ मल सञ्चालक मध्ये एक माक्र्सले भने ।
चार्ल्स तृतीयाको राज्याभिषेक चलिरहँदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन
बेलायतमा राजतन्त्र विरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बेलायती राजतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने विरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरूले राज्याभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्क्वायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
राजतन्त्र विरोधी अभियानका विरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरूले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरूले टिसर्टमा राजतन्त्र विरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो ।
यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
भारतको मणीपुरको हिंसामा परी ५४ जनाको मृत्यु
मणिपुरमा भड्किएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ ।
५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरू इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ ।
यसबाहेक इम्फाल पश्चिमको लाम्फेलस्थित क्षेत्रीय चिकित्सा विज्ञान संस्थानले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थिति नियन्त्रण गर्न सेना र असम राइफलका करिब १० हजार सिपाही राज्यमा तैनाथ गरिएका छन् । पीटीआईका अनुसार दुई समुदाय बीचको हिंसात्मक झडपमा धेरै व्यक्तिको मृत्यु भएको हुन सक्ने जनाईएको छ, सयभन्दा बढी घाइते हुन पुगेका छन् । यद्यपि प्रहरी भने यो कुरा पुष्टि गर्न तयार छैन ।
गोली लागेर घाइते भएका धेरैको रिम्स र जवाहरलाल नेहरू चिकित्सा विज्ञान प्रतिष्ठानमा पनि उपचार भइरहेको छ । हिंसा नियन्त्रण गर्न सेना, र्यापिड एक्शन फोर्स र केन्द्रीय प्रहरी बलको थप फौज मणिपुर पठाइएको छ।
मणिपुर नरसंहारमा मृत्यु हुनेको संख्या ५४ पुगेको अधिकारीहरूले बताए पनि अनौपचारिक स्रोतहरूले यो संख्या धेरै हुने सक्ने जनाएका छन् । त्यहाँको इन्टरनेट काटिएका कारण जारी हिंसामा के कतिको ज्यान गयो, त्यसको स्वतन्त्र पुष्टि भने अझै हुन सकेको छैन ।
साथै, जारी हिंसालाई नियन्त्रण गर्नका लागि थप सेना, र्यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको बलियो सुरक्षा उपस्थितिले सबै प्रमुख क्षेत्र र सडकहरुलाई भने नियन्त्रणमा लिईएको छ ।













प्रतिक्रिया