दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नक्कली शरणार्थी प्रकरण : सांसदहरु आरोप–प्रत्यारोपमा, शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग, नवनियुक्त मन्त्री आचार्यद्वारा पदबहाली, गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित, १०औँ पटक मन्त्रिपरिषद विस्तार, एक मन्त्रीले लिए शपथ ,सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगायतका समाचारले प्रमुख स्थान पाए ।

नक्कली शरणार्थी प्रकरण : सांसदहरु आरोप–प्रत्यारोपमा

प्रतिनिधिसभा बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्तौला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए ।

साथै माओवादीका माधव सापकोटाले भ्रष्टाचार आरोप आफ्ना नेतालाई कानुनको दायरामा ल्याउन एमालेलाई चुनौती दिए । भ्रष्टाचारका विषयमा गरेको छानबिनको विषयलाई लिएर प्रधानमन्त्रीप्रति खिसीट्युरी नगर्न उनले एमालेलाई सचेत गराए ।

कांग्रेसका रामहरि खनिवडा, एकीकृत समाजवादीका मेटमणि चौधरी, नेमकिपाका प्रेम सुवाललगायत सांसदले भ्रष्टाचारका सबै विषयमा पनि छानबिन गर्नुपर्ने बताए । तर, एक दलका सांसदले अर्को दलका नेतालाई भ्रष्टाचारीको रुपमा इंगित गर्दै छानबिन गर्न माग गरे ।

कांग्रेसकी आरजु राणा देउवाले सबै मन्त्री र सांसदहरुको सम्पत्ति र स्रोत सार्वजनिक गर्नुपर्ने बताइन् । रास्वपाका हरि ढकालले ३३ वर्षमा भएका ३३ सय भ्रष्टाचार काण्ड सबैको आयोग बनाएर छानबिन गर्नुपर्ने बताए ।

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

राष्ट्रियसभाको आइतबार देखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बैठकमा नेकपा (एमाले)का देवेन्द्र दाहालले नक्कली भूटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । झापाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा केही दिनअघि पार्टी अध्यक्षको टोलीलाई लक्षित गरी भएको ढुङ्गामुढाको प्रयासका घटनाको छानबिन नभएकोमा आलोचना गर्दै उनले प्रतिपक्षविरुद्धमा सरकार खनिएको आरोप लगाए ।

आर्थिक सङ्कटले मुलुकमा भयावह स्थिति सिर्जना हुन सक्ने भएकाले समयमै सजग र रहन सुझाव दिँदै उनले मुलुकमा खोजी भएको वैकल्पिक शक्तिले जनताका आकांक्षालाई पूरा गर्न नसक्ने ठोकुवा गरे । विपक्षलाई साथमा लिएर जाने भनेको प्रजातन्त्रको सुन्दर पक्ष भएको बताउँदै सदस्य दाहालले अर्थतन्त्र र देशको समग्र समस्या सम्बोधन गर्न प्रतिपक्षसँग बस्ने वातावरण नभएको गुनासो गरे ।

उनले भने, ‘विधेयक अधिवेशन भए पनि अघिल्लो अधिवेशन त्यतिकै खेरा गयो, कुनै विधेयक पास हुन सकेन । सरकार गठन र फेर बदलमै बित्यो । देशमा गठबन्धनले विकृति ल्यायो । एमाले विरुद्ध गरिएको गठबन्धनले देशलाई अनिर्णय बन्दी बनाइएको छ ।’ देशको बिग्रँदो अर्थतन्त्रलाई सम्बोधन गर्ने खाका ल्याउन वर्तमान सरकारको ल्याकत नरहेको आरोप लगाउँदै नेता दाहालले भने , ‘जनताको पनि उत्पादनमा भन्दा उपभोगमा मात्र ध्यान गएको छ । सरकार पनि उद्योगधन्दा र रोजगारी सिर्जना गर्नमा सरकार उदासिन छ ।’

यसैबीच, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटना छानबिन गर्न चुनौती दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’

अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए ।

एमाले दोषी जोगाउने पक्षमा नरहेको उनको भनाइ छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् ।

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङ्गले पहल भइरहेको जानकारी दिए ।

उनले सरकारी विज्ञापनहरु विज्ञापन बोर्डमार्फत् न्यायिक ढङ्गले वितरण गर्न, एकीकृत मिडिया विकास कोष स्थापना र पत्रकार, अपाङ्ता भएका पत्रकारहका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको टिप्पणी गरे । उनले भने, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।”

प्रधानमन्त्री दाहालले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताए । उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

“आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौंँ पत्रकारले बलिदान गर्नुभएको छ, भने केही बेपत्ता हुुनुहुन्छ । कयौँ घाइते अपाङ्गता हुनुहुन्छ, भने कयौँले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौँ राजनीतिक दल अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै स्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागत रुपमा नै जागरणमूलक अभियान सञ्चालन भएको थियो,” उनले भने ।

नवनियुक्त मन्त्री आचार्यद्वारा पदबहाली

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन् ।

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आजै दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन् ।

उनले बाल विवाहविरुद्धको रणनीति, २०७२ संशोधन सार्वजनीकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे ।

गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित

गण्डकी प्रदेशको नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित भएका छन् ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

न्यौपाने गोरखा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् ।

यसअघि झापामा बस्ने भनिएको एमालेको केन्द्रीय समिति बैठक काठमाडौँ सारियो

यसअघि झपामा बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक काठमाडौँमै बस्ने भएको छ ।

बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमै बस्नेगरी तय भएको छ ।

संसदको बजेट अधिवेशन र अन्य संसदीय गतिविधिका कारण केन्द्रीय समितिको बैठक काठमाडौंमै बोलाइएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१०औँ पटक मन्त्रिपरिषद विस्तार, एक मन्त्रीले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यसअघि सो मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्य र यादवलाई मन्त्रीका नियुक्त गरेका थिए ।

यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।

बलिउड अभिनेता आमिर खान काठमाडौँमा

चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी आइतबार अपराह्न काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै उनी सीधै बुढानीलकण्ठतिर लागेका छन् ।

उनी ११ दिन नेपाल बस्ने कार्यक्रम छ । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा उनले ११ दिन बिताउने कार्यतालिका छ ।

सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ ।

गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँच जना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीन जना घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने बाँकीको उपचार भइरहेको छ ।

दुर्घटनापछि प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।

मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, ३६ वर्षीय वीर बोहोरा र ४० वर्षीय तारासिंह सार्की छन् ।

यार्सा संकलनका लागि पातारासीबाट १४ जनाको टोली त्यसतर्फ गएका थिए ।

कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोक्ने काम पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्नेलगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ । प्राविधिक काम बाहेकका अन्य काम पूरा भइसकेको बोर्डले जनाएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका बताइएको छ । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो । त्योसँगै परीक्षाका लागि छ वटै विषयको फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यतिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रिस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको थियो ।

दुई विषयभन्दा बढी जतिसुकै विषयमा एनजी प्राप्त भएको हो, ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ । यसअघि छ वटै विषयमा फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यत्तिकै परीक्षा दिनुपर्ने अध्यक्ष डा शर्माले बताए । परीक्षा फाराम भर्दा छ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ ।

आइतबार नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।

कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर रु ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ ।

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो।

तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

‘टुकुचा खोला छोप्ने कार्य बर्जित हो, अदालतले महानगरको कार्यलाई मान्यता दियो’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको जनाएका छन् ।

आज सामाजिक सञ्जालमा टुकुचा खोलाका बारेमा लामो स्पष्टीकरण लेख्दै मेयर शाहले उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकोसमेत जनाएका छन् ।

केहि दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ’ शाहले भनेका छन्, ‘यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ०० बजे

चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं– चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बंगलादेशको अर्थतन्त्र ५.८२

धुलिखेल-खावा सडक : राजमार्ग बन्द गरेर विस्तारको काम गरिँदै

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम

सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री

संसद्‍‍मा उठ्यो सिरोहियालाई पक्राउ पुर्जीको कुरा

काठमाडौं-प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश

ओलीको आग्रह- कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ  

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध