'राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’ | Khabarhub Khabarhub

‘राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। संसदमा पनि सत्तापक्ष र प्रतिपक्षबीच सवाल जवाफ भयो। यद्यपि प्रमाणीकरणविरुद्ध परेको रिटमा सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएर २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यो नागरिकता विधेयक नयाँ संसद् आइसकेको अवस्थामा मन्त्रिपरिषद्ले सिफारिसका लागि अनुरोध गर्न मिल्छ कि मिल्दैन ? गरे पनि राष्ट्रपतिले प्रमाणीकरण गर्दा उठेको संवैधानिक प्रश्न के हो ? यसै विषयमा आधारित रहेर वरिष्ठ अधिवक्ता प्राध्यापक डा. गान्धी पण्डितसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नागरिकता विधेयक जसरी अघिल्लो संसद्ले पारित गरेर पठाएको थियो, त्यसलाई पूर्वराष्ट्रपतिले रोक्नु हुन्थ्यो कि हुँदैनथ्यो ? पहिले संसद्ले पठाएको विधेयकलाई नयाँ संसद् आइसक्दा पनि मन्त्रिपरिषद्ले सिफारिस गरेर नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्दा संवैधानिक प्रश्न उठ्यो कि उठेन ?

संवैधानिक प्रश्न उठ्यो, किनभने कुनैपनि संसद्ले पारित गरेको विधेयक कानून बन्नको लागि संविधानको धारा ११३ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ भनिएको छ । विधेयक राष्ट्रपति समक्ष पेस गर्ने अधिकार संसदको अध्यक्ष वा राष्ट्रियसभाका अध्यक्षलाई मात्र हुनेछ ।
तर, योभन्दा अगाडिको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । त्यो नगरेर त्यसलाई अहिलेको राष्ट्रपतिले क्याबिनेटको सिफारिसमा पत्रको आधारमा प्रमाणीकरण गर्नु भयो, संविधानमा त्यो व्यवस्था छैन ।

दुई पटक संसद्ले पारित गरेर पठाएको विधेयकलाई तत्कालीन राष्ट्रपतिले सुझावसहित फिर्ता पठाउनुभयो, सभामुखको सिफारिसमा राष्ट्रपतिले त्यो विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपतिले इन्कार गरेको र अहिले त्यही विधेयकलाई हुबहु मन्त्रिपरिषद्ले सिफारिस गरेर पठाएको छ भने कसले भनेको सही र कसले गलत भनेको भन्ने प्रश्न त उठ्दैन ?

नेपालको संविधानले भनेबमोजिम सबैले मान्नुपर्छ । सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । त्यो आधारमा हेर्दा विद्यादेवी भण्डारीले पूरा नगरेको देखियो ।

संविधानले राष्ट्रपतिलाई पनि दायित्व दिएको छ । त्यो कर्तव्य अन्तर्गत रहेर उहाँले काम गर्नुपर्ने थियो । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्न मिल्दैन । यो घटनाक्रम हेर्दा राष्ट्रपतिले संविधान र कानूनलाई मिचेर अगाडि बढेको हो भने संविधानको धारा १०१ बमोजिम उहाँमाथि महाअभियोगको प्रस्ताव पनि आउनसक्छ ।

पहिलाको राष्ट्रपतिले पनि कानूनबमोजिम काम नगरेको र अहिलेको राष्ट्रपतिले पनि त्यस्तै काम गरेको देखिन्छ हो ?

राष्ट्रपतिले यति हलुङ्गो रूपमा प्रधानमन्त्रीको सिफारिसबाट काम गर्नुहुँदैन । तर, अहिले राष्ट्रपतिमा मलाई राष्ट्रपति बनायो मैले पनि केही गर्नुपर्छ भन्ने भएर सहमतिको आधारमा जाँदा यस्तै त्रुटिहरू भएको देखिन्छन् ।

कानूनको भाषामा मन्त्रिपरिषद्ले त्यो विधेयकलाई सिफारिस गर्न पाउने कि नपाउने भन्ने मात्र प्रश्न हैन ?

अहिले यो प्रश्न त्यतिकै आएको होइन, पूर्वराष्ट्रपतिले पनि आफ्नो भूमिका निर्वाह गर्नुभएन । तर, उहाँविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएन । १५ दिनभित्र पुरानो राष्ट्रपतिले प्रमाणीकरण नगरी रिटायर हुनुभयो र नयाँ राष्ट्रपति आउँदा पनि त्यो विधेयक आउँदा १५ दिन कटिसकेको छ भने यसको प्रमाणीकरण गर्ने कि नगर्ने भनेर निर्णय राष्ट्रपतिले र प्रधानमन्त्रीले गर्ने हैन सर्वोच्चले हो ।

दुई पटक संसद्ले पारित गरेको विधेयकलाई नयाँ राष्ट्रपतिले प्रमाणीकरण गरेर के बिग्रियो त ?

त्यसले गलत प्रवृत्तिको विकास गर्छ । राष्ट्रपति ले जहिले पनि गर्न पाउने र एउटाले रोके अर्को राष्ट्रपति आएर गर्दा संविधानको धारा ११३ को उपधारा ४ मा राखिएको मान्यता त उलङ्घन भयो नि ।

रामचन्द्र पौडेलले मन्त्रिपरिषदबाट आएको विधेयक किन प्रमाणीकरण गर्नुपर्‍यो ?

या त यसमा उहाँलाई गलत सल्लाह मिल्यो होला । राष्ट्रपति भनेको सरकारले भनेको मान्ने, भत्ता खाने, घरमा बसेर खाने हो त ? रामचन्द्र पौडेलजस्तो विद्वानले यस्तो काम गर्दा आश्चर्य लागेको छ ।

राष्ट्रपतिलाई के कारबाही होला त ?

त्यसको लागि नेपालको संविधानले सबैको कर्तव्य र अधिकार र सीमा तोकेको छ । त्यसैले संविधानको धारा १०१ मा महाअभियोगको व्यवस्था गरेको छ । राष्ट्रपतिले वा उपराष्ट्रपतिले संविधानको उलङ्घन गर्‍यो भने महाअभियोगको प्रस्ताव आउनसक्छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेको कुरामा राष्ट्रपतिले गर्दिनँ भन्न पाइँदैन हैन ?

उसलाई मेरो काम भनेको संविधानको धाराअनुसार गर्ने हो भनेर बोल्न सक्ने अधिकार छ नि । तर, अहिलेको अवस्थामा आएको तीन महिना नभई सुविधा पाए भन्दैमा जसले जे ल्याए पनि छाप लाउन त पाइन नि । उहाँलाई झुक्यायो या के भयो भोलिका दिनमा उहाँले बुझ्नु होला । अहिलेको अवस्थामा धारा ६१ अनुसारको उल्लङ्घन गरेको देखिन्छ । मैले व्यक्तिगत रूपमा र राष्ट्रपतिको गरिमा कम गर्न बोलेको होइन संविधानमा उल्लेख गरेको कुरा बोलेको हुँ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : ०८ बजे

ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार  

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का लागि नयाँ वर्ष निराशाजनक सुरुवात

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना