मुग्लिन-पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव | Khabarhub Khabarhub

मुग्लिन-पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा छ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ । 

घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्जा आवश्यक पर्ने इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । त्यसमध्ये रु १४ करोड ५० लाख भुक्तानी भइसकेको पाण्डेले बताए । उनले भने, ‘घरटहरासमेत गरी छ सय ३१ संरचनाका लागि मुआब्जा वितरण गर्न अहिले बजेट सकिएको छ, असार मसान्तसम्म रकम निकासा भएर आएपछि भुक्तानी हुन्छ ।’

पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ । त्यसमा ८३ लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन् । त्यस्तै, पहिलो किस्ताका लागि रु दुई करोड रकम माग गर्दै निवेदन आएको छ । ‘निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ’, पाण्डेले भने । 

यो खण्डअन्तर्गत व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका पर्दछन् । त्यसमध्ये बन्दीपुरको प्रमुख बजार डुम्रेमा घरटहरा भत्काउन सुरु भइसकेको छ । आँबुखैरेनी र व्यास नगरपालिकाको दमौली बजारमा घरटहरा भत्काउन बाँकी छ । उनले भने, ‘डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, सडक मापदण्डभित्र रहेका सबै संरचना बिस्तारै हटाइन्छ ।’ डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् । 

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डको प्रगति भने न्यून छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । झन्डै ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन-पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक क्षेत्रभित्र संरचना बनाउन रोक

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले सडकको मापदण्डभित्र कुनै पनि भवनलगायत निजी संरचना निर्माण गर्न रोक लगाएको छ । योजनाले सडकको केन्द्रविन्दुबाट २५-२५ मिटर दायाँबायाँ संरचना बनाउन रोक लगाएको हो । सडक मापदण्ड बाहिर संरचना निर्माण गर्नुपर्ने भएमा सडकको केन्द्रविन्दुबाट २५ मिटर सडक मापदण्ड र छ मिटर ‘सेडब्याक’ गरी ३१ मिटर छाडी नियमानुसार नक्सा पास गराई संरचना निर्माण गर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १ : ३० बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको