मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण | Khabarhub Khabarhub

मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

गण्डकी– भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । 

दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य संकलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ । 

कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य संकलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब छ लाख डोज वीर्य संकलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो । त्यसवर्ष लहान कार्यालयबाट तीन लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो ।

पोखरा कार्यालयले वीर्य संकलन एवम् वितरणबाट वार्षिक तीन करोड ९६ लाख राजस्व संकलन गरेको उनले बताए । कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ । 

अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य संकलन गरिएको थियो । जसबाट रु पाँच करोडको हाराहारीमा राजस्व संकलन हुने अनुमान गरिएको छ । चालु आवको चैतसम्म रु तीन करोड संकलन भइसकेको जनाइएको छ । 

पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा पाण्डेय बताउँछन् । नश्ल सुधारले हिजोप्रति बेत ७००-८०० लिटर दूध दिने भैँसीले अहिले २७-२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए । 

भैँसीमा वंश सुधार कार्यक्रमले प्रतिवेत ३८-३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिवेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने उनले बताए । 

भैँसीले प्रतिवेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ । ‘वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो’, उनले भने, ‘जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैँमा अमूल्य छ ।’ मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ । नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ । आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए ।

अन्य देशबाट ल्याँउदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उनले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए । प्राविधिक टोलीले ल्याउन लागिएका राँगोमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्णरुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ । डेढ महिनाभित्रमा आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए । 

उहाँका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य संकलन भइरहेको छ । पोखरास्थित पशुप्रजनन् कार्यालयमा ५८ वटा साँढे र राँगा छन् । जसमध्ये ३१ वटाबाट वीर्य संकलन भइरहेको र २७ वटा हुर्कंदो अवस्थाका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका छवटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य संकलन गर्दै आएको छ ।

किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि-अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए । तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जंगबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ ।

त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो । नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण हुने खड्काले बताए । 

‘नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्’, उनले भने, ‘भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ ।’

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ३ : ३२ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको