विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

आज साउन २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लोकसभा फर्किए राहुल गान्धी

‘मोदी’ समुदायको अपमान गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीको सदस्यतालाई लोकसभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । केही दिनअघि सर्वोच्च अदालतले गुजरात उच्च अदालतको सजायमा रोक लगाएसँगै नेता गान्धी लोकसभा फर्किएका हुन् ।

भारतको सर्वोच्च अदालतले गत हप्ता अगस्ट ४ का दिन गरेको एक फैसलाले उनीविरूद्धको सजाय र वायनाड क्षेत्रबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो । सर्वोच्चको फैसलाको आधारमा लोक सभा सचिवालयले आज गान्धीको वायनाडबाट लोकसभाका लागि भएको प्रतिनिधित्वलाई पुनः बहाली गरेको हो ।

“२४ मार्च, २०२३ को अधिसूचना नं २१/४(३)/२०२३/टीओ (बी) को निरन्तरतामा, भारतको सर्वोच्च अदालतले सन् २०२३ अगस्ट ४ मा विशेष अपील अनुमति (सीआरएल) नम्बर ८६४४/२०२३ मा एक आदेश पारित गरेको छ, जसले केरलाको वायनाड संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने लोकसभा सदस्य राहुल गान्धीको दोषसिद्धिमा रोक लगाएको छ,” लोकसभा सचिवालयद्वारा जारी एक आधिकारिक अधिसूचनामा भनिएको छ ।

“भारतको सर्वोच्च अदालतको अगस्ट ४ को आदेशलाई ध्यानमा राख्दै, राहुल गान्धीको अयोग्यताको लागि, १४ मार्च, २०२३ को राजपत्र अधिसूचना नम्बर २१/४ (३)/२०२३/टीओ (बी) द्वारा अधिसूचित गरिएको भारतको संविधानको धारा १०२ (१) (ई) को प्रावधानको साथ जन प्रतिनिधित्व अधिनियमको १९५१, धारा ८ बमोजिम थप न्यायिक निर्णयको अधीनमा रहेर काम गर्ने व्यवस्था रोकिएको छ ।”

सर्वोच्च अदालतले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै ‘मोदी’ थरबारे गरेको टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गान्धीको सजायमा रोक लगाएको थियो । गुजरात उच्च अदालतको आदेशलाई चुनौती दिने कांग्रेस नेताको अपिलमा सर्वोच्च अदालतले जुलाईमा गुजरात सरकार र उजुरीकर्तालाई सूचना जारी गरेको थियो ।

उक्त अदालतले यसअघि आफ्नो आदेशमा राहुललाई ‘मोदी’ थरबारे गरेको टिप्पणीका कारण सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको आपराधिक मानहानिको मुद्दामा उनको सजाय रोक्न अस्वीकार गरेको थियो । यस मुद्दामा दोषी ठहर भएपछि गान्धीलाई मार्च २४ मा केरलाको वायनाडबाट सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नुपरिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफका अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेका छन् ।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भने, “विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट उथलपुथलको चपेटामा परिरहेको अवस्थामा तथ्याङ्कले दक्षिण एसियाका लाखौं बालबालिकाको जीवन र कल्याणलाई गर्मी र उच्च तापक्रमका कारण खतरामा पारेको स्पष्ट देखाउँछ ।”

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको ‘उच्च जोखिममा’ रहेको चेतावनी दिएको छ र एक वर्षमा ८३ वा सोभन्दा बढी दिन अत्यधिक उच्च तापक्रमलाई ३५ डिग्री सेल्सियस ९९५ डिग्री फरेनहाइट० भन्दा बढी हुने अवस्थाको रूपमा परिभाषित गरेको छ ।

बच्चाहरू तापमान परिवर्तनको लागि छिटो अनुकूलन गर्न सक्दैनन्, र उनीहरूको शरीरबाट अतिरिक्त गर्मी हटाउन सक्षम हुँदैनन् ।

“साना केटाकेटीहरूले गर्मी सहन सक्दैनन्,” विजेसेकेराले भने, “हामीले अहिले नै कदम नचालेमा यी बालबालिकाले आगामी वर्षहरूमा अझ बढी बारम्बार र अझ तीव्र गर्मीको सामना गर्नुपर्नेछ ।”

सन् १८०० को दशकको उत्तरार्धदेखि लगभग १.२ डिग्री सेल्सियस को विश्वव्यापी तापक्रम वृद्धि, जीवाश्म ईन्धनको जलनद्वारा सञ्चालित हुने उद्योग तथा कलकारखाना र मोटर तथा मेसिनसम्बन्धी प्रयोगले बारम्बार गर्मीको तरङ्गलाई तातो, लामो र अधिक बनाएको छ, साथै अन्य आँधी र बाढी चरम मौसमी गतिविधिलाई तीव्र बनाएको छ ।

युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दशौं लाख मानिसहरूलाई प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो ।

वैज्ञानिकहरूका अनुसार विश्वले पहिले नै उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभावहरूको अनुकूलन गर्न आवश्यक छ र भविष्यमा अझ खराब हुनबाट जोगिन यस दशकमा कार्बन प्रदूषण उत्सर्जनलाई नाटकीय रूपमा घटाउनुपर्छ ।

पाकिस्तान रेल दुर्घटना : मृतकको सङ्ख्या ३० पुग्यो

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पुर्‍याइएको बताए ।

कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।

कम्बोडियाली नेता हुन सेनका जेठा छोरा नयाँ प्रधानमन्त्री नियुक्त

करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुन सेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेपछि मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ‘प्रहसन’ भन्दै आलोचना गरिएको थियो ।

संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै नतिजाप्रति विमति जनाएका छन् ।

सोमबार हुन सेनको अनुरोधपछि राजा नोरोदोम सिहामोनीले शाही आदेश जारी गर्दै ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरिएको’ उल्लेख गरेका छन् ।

यद्यपि औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उहाँको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसदमा विश्वासको मत प्राप्त गर्नैपर्छ ।

आगामी सरकारले युवा मन्त्रीहरूको एउटा समूहलाई ल्याउने अपेक्षा गरिएको छ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने तर देशको राजनीतिमा आफ्नो प्रभावलाई नत्याग्ने बताएका छन् ।

सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । यद्यपि उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूको उन्मूलन पनि भएको आलोचकहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ५९ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार