समाचार

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’द्धारा पर्सा राष्ट्रिय निकुञ्जको ‘एक्सप्लोर’

By खबरहब

October 07, 2023

काठमाडौँ –४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पत्रकार, कलाकार र राइडर्ससहितको मिलेर पर्सा राष्ट्रिय निकुञ्जको पहिलोपटक भव्य प्रवद्धन ‘एक्सप्लोर’ गरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नाट्टा मधेस प्रदेशको आयोजना, जितपुर सिमरा उपमहानगरपालिका तथा पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर पहिलोपटक कलाकार, पत्रकार र राइडर्ससहित पर्सा राष्ट्रिय निकुञ्जको भ्रमण गर्दै ‘एक्सप्लोर’ गरेको हो ।

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रममार्फत पहिलोपटक काठमाडौँबाट सोझै पर्सा पुगेर ‘भर्जिन निकुञ्ज’को एक्सप्लोर गरिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा गोल्डेन ट्रयाङ्गल बाइक टूरका संस्थापक संयोजक विष्णु विवेकले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर पहिलोपटक झण्डै ५० जना पत्रकार, कलाकार र राइडर्स मिलेर पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गरेका छौँ’ गोल्डेन ट्रयाङ्गल बाइक टूरका संयोजक विष्णु विवेकले भ्रमणपछि भने, ‘पर्सा राष्ट्रिय निकुञ्ज घुम्नका लागि नेपालको महत्वपूर्ण गन्तव्य हो । जुन भर्जिन छ । बाघ, हात्तीदेखि गौरीगाईं लगायतका जनावर सजिलै देख्न सकिन्छ ।’

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर पहिलोपटक ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रम आयोजना गरिएको थियो । जसको सुरुवात असोज १० गते नेपाल पर्यटन बोर्डबाट भएको हो ।

बोर्डका सीइओ डा।धनन्जय रेग्मीले गोल्डेन ट्रयाङ्गल बाइक टूर र नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको झण्डा हस्तान्तरण गरेर टूरको उद्घाटन गरेका थिए ।

टूरको उद्घाटन गर्दै बोर्डका सीइओ डा।रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङ संस्कृति बढ्दै गएको भन्दै गोल्डेन ट्रयाङ्गल बाइक टूरले काठमाडौँसहित पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, भरतपुर, लुम्बिनी, पाल्पा, रानीमहल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने बताए ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहनप्रसाद शर्माको विशेष अगुवाई, नेतृत्व र आयोजनामा भएको पर्सा राष्ट्रिय निकुञ्ज एक्सप्लोर कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत र नेपाल आर्मीको पर्सामा रहेको गणले विशेष स्वागत तथा निकुञ्जको भ्रमण गराएको थियो ।

यस्तै नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईंले बाइक टूरिङ कल्चरले नेपालको पर्यटन प्रवद्र्धनमा धेरै महत्वपूर्ण भूमिका खेलेकाले गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम अर्को महत्वपूर्ण कोशेढुंगा भएको बताए ।

ताप्लेजुङ–दार्चुला बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले नै एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम आयोजना गरेकाले सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

एक्सपल्स राइडर्स क्लब, नेपालका अध्यक्ष कुन्दन श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङ अग्रस्थानमा आइरहेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गर्न पाउनु अहोभाग्य भएको बताए ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहनप्रसाद शर्माले अहिलेसम्म भर्जिन निकुञ्जका रुपमा चिनिएको पर्सा राष्ट्रिय निकुञ्ज गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले भिजिट गरेर एक्सप्लोर गर्दै थप पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौँबाट ठूलो बाइक राइडर्स टिमलाई बोलाएर पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गर्ने योजना र चाहना पूरा भएको भन्दै उनले आगामी दिनमा पर्साको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने पनि बताए ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अन्तर्राष्ट्रिय पर्यटन दिवसमा पर्सा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न राइडर्सको टोलीले आउनुले ठूलो सहयोग पुगेको भन्दै आगामी दिनमा यस किसीमका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

बाइक टूरलाई एक्सपल्स राइडर्स क्लब, नेपालका उपाध्यक्ष तथा मार्सल क्याप्टेन हरि आचार्यले राइडर्स टिमको नेतृत्व गरेका थिए । टूरमा कलाकार सनम कठायत, कुसुम शर्मा र डेभिड शंकर लगायत पनि सहभागी थिए ।

काठमाडौँबाट पहिलोपटक पत्रकार, कलाकार, राइडर्ससहित सरोकारवाला गएर भर्जिन पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गरिएको थियो । आगामी दिनमा गोल्डेन ट्रयाङ्गल बाइक टूरको प्रचारप्रसारमार्फत पर्सा निकुञ्जमा पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।