विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २१,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सन् २०२३ मा चीनको जीडीपी ५.४ प्रतिशतले बढ्ने आईएमएफको अनुमान

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

आईएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ ।”

चीनका मिसन प्रमुख सोनाली जैन–चन्द्राको नेतृत्वमा आईएमएफको एउटा टोलीले सन् २०२३ आर्टिकल ४ कन्सल्टेसनमा छलफल गर्न अक्टोबर २६ देखि नोभेम्बर ७ सम्म चीनको भ्रमण गरेको थियो ।

मिसन टोलीले आर्थिक सम्भावना र जोखिम, सुधारको प्रगति र चुनौती तथा नीति प्रतिक्रियाहरूमा विचार आदानप्रदान गर्नका लागि सरकार, जनता तथा निजी क्षेत्रका प्रतिनिधि र शिक्षाविद्हरूसँग रचनात्मक छलफल गरेको थियो ।

बर्खास्त भएको श्रीलङ्काली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित

श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरिदिएको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ ।

सोमबार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको छ । “अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई साताका लागि हो”, अदालतका एक अधिकारले भने ।

अदालतले पूर्वकप्तान अर्जुना रणतुङ्गाको अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किने बोर्डका अधिकारीहरूले बताएका छन् । सरकारले बोर्डका ‘थाँती मुद्दाहरू’ सम्बोधन गर्न एउटा क्याबिनेट समिति पनि नियुक्त गरेको छ ।

विश्वकप प्रतियोगितामा भारतसँग श्रीलङ्काको लज्जास्पद पराजयपछि खेलमन्त्रीले यस्तो कदम चालेका थिए । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।

सन् १९९६ को विश्वकप विजेता श्रीलङ्काका पूर्वकप्तान रणतुङ्गाले सोमबार पदभार सम्हालेपछि बोर्डको छवि सुधार्न र राष्ट्रिय टिमको पुनरनिर्माण गर्ने वाचा गरेका थिए । “श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु”, उनले भनेका थिए ।

भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ

भारतले चीन र पाकिस्तानको सीमामा तीन वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमा क्षेत्रमा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ ।

तीनमध्ये एउटा एस ४०० प्रणालीले चीन, अर्कोले पाकिस्तान र तेस्रो प्रणालीले चीन र पाकिस्तान दुबैको सीमा क्षेत्रलाई समेटिएको छ ।

भारतले सन् २०१८ मा ३५ हजार करोड भारतीय रुपैयाँमा रुससँग ५ वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो । यसमध्ये तीन वटा एस ४०० प्रणाली प्राप्त भएको भारतीय वायुसेनाले जनाएको छ ।

थप दुई वटा प्रतिरक्षा प्रणाली प्राप्त गर्न भारत र रुसबीच चाँडै वार्ता हुने अपेक्षा गरिएको छ । यस प्रणालीले ४ सय किलोमिटर टाढाबाट आफ्नो लक्ष्य पत्ता लगाउन र उक्त लक्ष्यमा मार हान्ने क्षमता राख्दछ ।

मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि

अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्भ बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ ।

यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिनामा यो पहिलो वृद्धि थियो र सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो ।

पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि तीन महिनाका अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी पाँच दशमलव चार प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चाल्ने व्यापक अपेक्षा गरिएको थियो ।

“अस्ट्रेलियामा मुद्रास्फीतिले आफ्नो चरम सीमा पार गरिसकेको छ तर अहिले पनि यो अत्यधिक ठूलो छ, केही महिनाअघिको अपेक्षाभन्दा लगातार बढिरहेको छ”, उनले एक विज्ञप्तिमा भनिने, “मुद्रास्फीति उचित समय सीमामा लक्ष्यमा आउने सुनिश्चित गर्नका लागि मौद्रिक नीतिलाई अझ कडा बनाउन आवश्यक छ वा छैन भन्ने कुरा तथ्याङ्क र जोखिमहरूको विकसित आकलनमा निर्भर गर्नेछ ।”

केन्द्रीय बैङ्कले सन् २०२५ को अन्त्यसम्ममा मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा फर्काउने प्राथमिकता रहेको उल्लेख गरेको छ ।

कोभिड–१९ महामारी र युक्रेन युद्धले मुद्रास्फीतिलाई बढावा दिँदा र केन्द्रीय बैंक प्रमुख ब्याज दरलाई आफ्नो अघिल्लो तल्लो स्तर शून्य दशमलव एक प्रतिशतबाट बढाउन बाध्य भएका कारण सन् २०२२ मेमा मुद्रास्फीति वृद्धिको शृङ्खलामा ब्याज दर बढाउने यो नयाँ कदम हो ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ०२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको