चिसोले जमेको म्याग्दीको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक « Khabarhub

चिसोले जमेको म्याग्दीको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।

पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए । ‘हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिँडडुल गर्न सकिने भएको छ,’ उनले भने ‘पर्यटकहरूले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र साहसिक यात्रा गरेर रमाउन थालेका छन् ।’

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउँछ । आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ । हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने गत हप्ता आधार शिविर पुगेर फर्कनुभएका गाडपारका बासिन्दा सुकबहादुर गर्बुजाले बताउनुभयो ।

हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको  हो । सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए ।

हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भूबनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेको बताइन्छ ।

तालको परिसरमा हिन्दु धर्मग्रन्थ रामायणका पात्र कागभुसुण्डि ऋषिले तपस्या गरेको डाँडा भएकाले यो ठाउँका धार्मिक महत्व पनि रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ ।

निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरी हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिने कास्कीका सोमलाल सुवेदीले बताए ।

ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन् ।

पञ्चकुण्ड तालबाट निस्कने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन गुरुयोजना तयार पार्न लागिएको गाउँपालिकाका ईञ्जिनियर ईश्वर भण्डारीले बताए ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । उनले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा  मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ५५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका