सतीघाटको सामयिक विकासमा जोड | Khabarhub Khabarhub

सतीघाटको सामयिक विकासमा जोड


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौँ विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् । नेपाली भाषाका कवि, लेखक, तथा दार्शनिकका रुपमा पहिचान बनाएका आदिकवि आचार्यलाई नेपाली साहित्यको जग बसाल्ने व्यक्तित्त्वका रुपमा चिनिन्छ । भानुभक्तसँग सम्बन्धित कैयौँ विषय हालसम्म पनि खोज तथा अनुसन्धान हुन सकेका छैनन् ।

आचार्यको जन्मस्थल, बाल्यकाल, युवा तथा वृद्धअवस्थाका धेरै विषयमा हालसम्म कुनै खोजी नभएकाले खोज तथा अनुसन्धान गर्नुपर्ने देखिएको हो । उनको अन्त्येष्टिका विषयमा पनि खोजी गर्नुपर्ने भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित धर्मशाला (शिखर कटेरी) मा विसं १८७१ असार २९ गते जन्मिएका थिए । राष्ट्रिय विभूित आचार्यको बाल्यकाल, युवा र वृद्धावस्थालगायत विषयमा खोज तथा अनुसन्धान गर्नुपर्ने समितिका निर्देशक शंकर रानाभाटले बताएका छन् । जन्मस्थलका बारेमा प्रचारप्रसार र प्रवर्द्धन भए पनि अन्य विषय भने प्रचारप्रसारको कमीले ओझेलमा परेका भन्दै अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

‘भानुभक्तको विसं १९२५ असोज ७ गते देहावसन भयो । देहावसनको मिति लेखिएको शिलापत्र पाइन्छ । उनको निधनपश्चात् पार्थिव शरीरको अन्त्येष्टि (समाधि) कहाँ गरियो रु भन्ने विषयमा कतिपय साहित्यकारहरु नै जानकार नहुन सक्छन्’, रानाभाटले भने , ‘जन्मस्थलको विकास, संरक्षण र प्रवद्र्धन भए पनि समाधिस्थलको प्रचारप्रसार नहुँदा गुमनाम जस्तै छ । यस विषयमा गहन अनुसन्धान हुनु आवश्यक छ ।’ आचार्यका बारेमा उनका सन्ततिका साथै सरकारी पक्षबाट विशेष अनुसन्धान गरिनुपर्ने उनको भनाइ थियो ।

भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका अन्य विषयका बारेमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन नसकेको रानाभाटले बताए । ‘अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलका बारेमा जानकारी भए पनि उनीसँग सम्बन्धित अन्य विषय तथा महत्त्वपूर्ण स्थानका बारेमा हालसम्म अनविज्ञ छन्’, उनले भने, ‘राष्ट्रिय विभूति भानुभक्तको अन्त्येष्टिको विषयमा कतैबाट पनि खोजी भएको छैन । यस्ता विषयको गहन अनुसन्धान गरी प्रचारप्रसार गर्नु जरुरी छ ।’

मस्र्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी)अन्तर्गत तनहुँको भानु नगरपालिका–१ सतीघाट (गाईथुने)मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । ऐतिहासिक एवं धार्मिक रुपमा परिचित सतीघाटको बारेमा अधिकांश मानिस अनविज्ञ छन् । भानुभक्तसँग सम्बन्धित स्थानको संरक्षण र संवर्द्धनका स्थानीयवासीले चासो नदिँदा विशेष महत्त्व राख्ने यस्ता क्षेत्र ओझेलमा परेका हुन् ।

तत्कालिन समयमा नेपालका सनातनी ब्राह्मणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । सोही अनुरूप भानुभक्तलाई पनि अन्त्यावस्थामा मर्स्याङ्दी नदीको सतीघाट (गाईथुने)मा लगी जलाश्रयमा राखिएको शिलापत्र उल्लेख छ । यो घाट चुँदीबेँसीबाट करिब दुई कोस पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ ।

सतीघाटमा दुई वटा घाट रहेको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले जानकारी दिए। उनका अनुसार दुई घाटमध्ये माथिल्लो मन्दिर रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको थियो । 

आचार्यसँग सम्बन्धित केही पुस्तकमा सतीघाटका बारेमा उल्लेख भए पनि यसको विकास र प्रवद्र्धन हुन नसकेको रानाभाटले बताए ।
भानुभक्तका पनाती हरिनाथ आचार्यले भानुभक्तको अन्त्येष्टि गरिएको स्थान सतीघाट नै भएको दाबी गरे । भानुभक्तका सन्ततिबाट नै उहाँको अन्त्येष्टि सतीघाटमा भएको सुन्दै आएको हरिनाथले बताए । ‘पहिलेदेखि नै सतीघाटको प्रवर्द्धन गर्न सकिएको छैन । राष्ट्रिय विभूति आदिकविको समाधिस्थलको प्रचारप्रचार गरी यस स्थानलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’, उनले भने , ‘राष्ट्रिय विभूतिको सम्मानसँगै उनीसँग जोडिएका महत्त्वपूर्ण विषय र स्थानका बारेमा अनुसन्धान गरी ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्नुपर्छ । यसले यस क्षेत्र सदैव जीवन्त रहन्छ ।’ 

भारतमा गान्धीको समाधिस्थललाई विकास र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर आयसँग जोडिएको हरिनाथले उदाहरण दिँदै भानुभक्तको समाधिस्थललाई पनि धार्मिक पर्यटनसँग जोड्न सके आयआर्जनका हुने बताए । 

भानुभक्तको नामबाट नामकरण भएको नगरपालिकाले समाधिस्थलको संरक्षण, प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । ‘जन्म, बाल्यावस्था र वृद्धावस्थाका साथै उनीसँग सम्बन्धित विभिन्न विषयका बारेमा विभिन्न पुस्तक तथा शिलापत्रमा उल्लेख भएका छन् । समाधिस्थलको प्रचारप्रसार नहुँदा चर्चामा पर्न सकेको छैन’, उनले भने, ‘यसको संरक्षण गरी प्रचारप्रसारसँगै विकास गर्न आवश्यक छ । नगरपालिका यो काममा लागिपरेको छ ।’

धार्मिक तथा ऐतिहासिक क्षेत्र सतीघाट

सतीघाटलाई भानुभक्तको समाधिस्थलका रुपमा मात्रै नभएर धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमासमेत लिने गरिएको छ । डुम्रे भन्सारमा सामान ढुवानीसँगै मुख्य आवतजावतको स्थलका रुपमा पनि सतीघाट परिचित रहेको नगर प्रमुख त्रिपाठीले जानकारी दिए । डुम्रे बजार मुख्य व्यापारिक केन्द्र हुँदा आवश्यक सामग्री ल्याएर बिक्री वितरणका लागि यही बाटोमार्फत डुङ्गा, काठको फेरीको प्रयोग गरी मर्स्याङ्दी नदी हुँदै गोर्खा, नुवाकोट, काठमाडौँ पुग्ने गरिएको उनको भनाइ थियो । उनका अनुसार यस क्षेत्रमा भन्सार रहेकाले यहीँबाट कर लिने प्रचलन थियो । 

सतीघाट परापूर्वकालदेखि नै धार्मिक एवं ऐतिहासिक रुपमा महत्त्वपूर्ण रहेको नगर प्रमुख त्रिपाठीले बताए। विशेषगरी बुटवलबाट बन्दीपुर हुँदै आएका कपडा तथा खाद्यान्न सामग्री गोर्खा, नुवाकोट हुँदै काठमाडौँ लगिने गरिएको उनले जानकारी दिए । 

धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको यस स्थानको विकास र संरक्षणका लागि गुरुयोजना निर्माण गर्ने तयारी गरिएको त्रिपाठीले जानकारी दिए। भानुभक्तसँग सम्बन्धित भएकाले जनस्तरबाट नै सहयोग र सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।   

सतीघाट संरक्षण समिति वा संवद्र्धन समिति निर्माण गरी गुरु योजनामार्फत यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक योजना तयार गरिने नगर प्रमुख त्रिपाठीले जानकारी दिए। ‘पुराना धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यहाँ पुल निर्माण गर्ने योजना बनाएका छौँ’, उनले भने ।

बाइसी-चौबिसी राज्यका बेलामा सेनाले पदयात्रा गर्ने मुख्य नाका नै सतीघात क्षेत्र रहेको उल्लेख छ । बाइसी-चौबिसी राज्यका बेलामा सेनासहित पृथ्वीनारायण शाहले यही बाटो प्रयोग गरेको इतिहासमा उल्लेख गरिएको छ ।

 राज्य एकीकरणको समयमा कालु पाण्डेलगायतका सेना सतीघाट (मस्र्याङ्दी नदी) पार गरी आवतजावत गर्ने मुख्य बाटोका रुपमा यही मार्गलाई प्रयोग गर्ने गरेका स्थानीय बताउँछन् । तनहुँसुरका राजा, गोर्खाली राजा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने मुख्य नाका पनि यही भएकाले यस क्षेत्र विशेष महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ५ : ३१ बजे

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण