मौरीपालनबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

मौरीपालनबाट मनग्य आम्दानी


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले तीन सय रुपैयाँ तिरेर काठमाडौँमा मौरीपालन तालिम लिँदा आफ्नो जीवन मौरीपालनमै बित्छ भनेर सोचेका थिएनन् ।

वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुगेका उनको विदेश जाने सपना पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उनलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन् ।

उनको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ । झट्ट हेर्दा सङ्ग्रहालयजस्तै देखिने मौरीका घरबाटै वार्षिक १० लाख रुपैयाँ बराबरको आम्दानी हुँदै आएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चित बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आएका छन् । विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आएका उनले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आएका छन् ।

मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार छन् । “मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी हुँदै आएको छ” मोहराज भन्छन्, “वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकूल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पुर्‍याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पुर्‍याउनै सकिएको छैन ।”

मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आएको पनि उनले बताए । सो क्षेत्रमा प्रतिकिलो मह एक हजार दुई सय रुपैयाँ पर्छ । मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ । “कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ” उनी भन्छन् “आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौँ, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्री हुन्छ ।” उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मङ्सिर, फागुन र जेठमा राम्रो हुने मोहराजले जानकारी दिए ।

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ । बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन् । उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उनको भनाइ छ । यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिलाले बताइन् ।

“बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीले समेत सिकिसेका छौँ, बुबालाई सहयोग पुर्‍याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु” उनले भनिन्, “बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु ।”

विदेश जाने ध्याउन्नमा विसं २०४५ मा काठमाडौँ भौतारिएका मोहराजले यससम्बन्धी तालिम लिएपछि विदेश नजाने गरी घर फर्किएका थिए । “विदेश जानका लागि विसं २०४५ मा २०/२५ हजार सिध्याएर पनि सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौँमा तीन सय रुपैयाँमा तालिम सिकेर घर फर्केपछि मौरीपालन थालेँ” उनले सुनाए ।

धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन् । मौरीपालनमा उनको पच्चीस लाख रुपैयाँ लगानी भइसकेको छ ।

मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गरेका छन् । यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ४४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले