नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आईएफआरसी महासचिव चापागाईं | Khabarhub Khabarhub

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आईएफआरसी महासचिव चापागाईं


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएका छन् ।

उनले भने, “म आईएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।”

चार दिने भ्रमण पूरा गरी आज आईएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई आईएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा विदाइ गरेका थिए । महासचिव चापागाईंले भने, “रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।”

आईएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट नेपाल सरकारलाई सहयोग गरेको थियो ।

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेसल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो ।

सन् २०२० फेब्रुअरी १ देखि सो संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । उक्त संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन् ।

“विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ”, उनले भने ।

भ्रमणका क्रममा महासचिव चापागाईंले सो संस्थाको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रसले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिएको थियो ।

उनले आईएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । ‘ख’ वर्गका सो एम्बुलेन्सले बिरामी तथा घाइतेहरुलाई स्वास्थ्य सस्थासम्म पुर्‍याइ जीवन रक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासचिव चापागाईंले आईएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिक गरेका थिए । ‘विश्वास, समता र स्थानीय कार्य’ नामक सो प्रतिवेदनमा कोभिड–१९ महामारीले उत्पन्न गरेका स्वास्थ्य सङ्कट र सङ्कटकसँग जुध्न गरिएका विश्वव्यापी अनुभवलाई औँल्याइएको छ ।

भविष्यमा हुनसक्ने विपद्हरूलाई राम्रोसँग व्यवस्थापन गर्न कोभिड–१९ बाट महत्वपूर्ण सिकाइ भएको कुरा प्रतिवेदनले औँल्याएको छ । विश्वास, समता र स्थानीय कार्यहरू नै विपद् पूर्वतयारीका महत्वपूर्ण पक्ष भएको प्रतिवेदनमा उल्लेख छ ।

भ्रमणका क्रममा महासचिव चापागाईंले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग अलग अलग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

साथै राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफल गरी रेडक्रस अभियानलाई सुदृढ बनाउन आग्रह गरेका थिए । आईएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पुर्‍याउने गर्दछ ।

कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दीका बाबजुद उनले सङ्कटापन्न समुदायलाई मानवीय सहायता पुर्‍याउन निर्वाह गरेको कुशल नेतृत्वले आईएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनाका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : १४ बजे

झाझ खोलामा डुबेर बालकको मृत्यु

सर्लाही – जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९

कालढुंगामा फसेका यातायात मजदुरको बिचल्ली, उद्धारमा सरकार निरीह

काठमाडौं- गत शुक्रबार (असोज ११ गते) झापाबाट बा५ख ७३७ नम्बरको

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले