काठमाडौं– भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिव १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए।
५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुबै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए।
भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग भित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावट समेत हुने गरेको उल्लेख छ। भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्। नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।
विशेष गरी भारतीय सीमा नाकाहरूको जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतबाट अवैध रुपमा कुखुरा आयात गरि ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ। सिमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिदै आएको छ। दुबै संघले भारतीय सीमा नाकाहरुबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरुको नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिन माग गरेका थिए।
ब्यबसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिनेगरि अगाडि बढेको बताएका थिए। आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधी सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाही दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने बचन दिएका थिए।
प्रतिक्रिया