आज वैशाख २५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ८, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
भारतमा डुङ्गा डुब्दा २२ जनाको मृत्यु
भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।
दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी शुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।
एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । छ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।
स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।
पति र छोरीसँगै डुङ्गामा रहेकी रजिसाले डुङ्गामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुङ्गाबाट धुवाँ निस्केको बताइन् ।
डुङ्गामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भनिन्, “हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौं ।”
उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुङ्गाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताइन् ।
उनले ओन्मानोरलाई दिएको जानकारीमा भनिन्, “डुङ्गा यात्रामा निस्केको केही समयपछि डुबेको थियो । डुङ्गा डगमगाउन थालेपछि सबैजना एकछेउमा जम्मा भए अनि डुङ्गाबाट मानिस पानीमा खसे ।
उनले घटनाबारे थप व्याख्या गर्दै भनिन्, “म मेरो बच्चाको अगाडि लडेँ र पानीमा डुबेँ । डुङ्गा पानीमा खसेका मानिसहरूको माथिबाट पल्टियो । डुङ्गामा अधिकांश बालबालिका थिए ।”
एनडिटिभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षकबलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेराप्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।
राज्यको विपक्षी काङ्ग्रेस पार्टीका राजनीतिज्ञ भीडी सतीसनले दुर्घटना हेलचेक्र्याईँका कारण भएको भन्दै यसको छानबिनको माग गरेका छन् ।
केरलाका खेलकुद तथा मत्स्यपालन मन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताएका छन् ।
डुङ्गामा करिब ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।
चार महिनामा पर्यटनबाट श्रीलङ्काले कमायो ७० करोड डलर
श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो ।
श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए ।
श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ ।
श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गरेका थिए । यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।
श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।
भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु
भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा दुर्घटना भएको हो । भारतको राजस्थान राज्यस्थित सुरतगढ नजिक लडाकु विमान दुर्घटनाग्रस्त भएको हो ।
हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्को एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् ।
घाइते तीन जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।
थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान
थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ ।
निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाई नागरिकले तोकिएका मतदान केन्द्रहरूमा मतदान गरेका छन् ।
आइतबारको मतदान ७० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको निर्वाचन आयोगका महासचिव सावेङ बुनमीले बताएका छन् ।
दुई मतपत्र प्रणाली अन्तर्गत संसदीय निर्वाचनले प्रतिनिधिसभाका लागि ५ सय सदस्य निर्वाचित गर्नेछ ।
पेरुको सुनखानीमा आगलागी हुँदा २७ जनाको को मृत्यु
पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अवस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुँदा २७ कामदारको मृत्यु भएको हो ।
प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा विद्युतीय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।
सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।
प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।
अमेरिकाको टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु
अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ।
मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे सो घटना भएको थियो। सो घटनामा परी कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।
सो घटनाको मुख्य दोषी मानिएका चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । तर, यसअघि अमेरिकी सञ्चारमाध्यमले भने प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो।
नजिकैका एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले भने कि सिसिटिभी फुटेजमा एउटा एसयूभी रातो बत्ती बाल्दै दौडिरहेको र तीव्र गतिमा बस स्टपतर्फ गएको देखिन्छ । त्यसपछि गाडीले कर्बमा ठक्कर दियो र आफ्नो बाटोमा उभिरहेकाहरूलाई ठक्कर दिँदै सो कार अघि बढ्यो ।
सो घटनाका प्रत्यक्षदर्शी माल्डोनाडोले भने कि घटना हुनुभन्दा करिब आधा घण्टा अघि देखी करिब २० जनाको समूह बस स्टपमा गाडी पर्खेर बसिरहेका थिए । उनका अनुसार यसरी सार्वजनिक यातायात पर्खेर बस्नेहरुमा अधिकांश भेनेजुएलाका पुरुषहरू थिए।
केरलामा बालबालिका बोकेको डुंगा पल्टिंदा २० को मृत्यु
आइतबार साँझ केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।
सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई-दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यस घटनाको बारेमा भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै भनेका छन, ‘केरलाको मलाप्पुरममा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएकोमा म दुखित छु । शोक सन्तप्त परिवारजनमा समवेदना। प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ प्रदान गरिनेछ।’
केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए । प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरू हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ ।
घटनास्थलमा पुगेको प्रहरी भने यस विषयमा सम्पूर्ण अनुसन्धानमा जुटेको छ । घटना कसरी भयो भन्ने बारेमा वरपरका मानिसहरूलाई पनि सोधपुछ भइरहेको छ। घटनाको बारेमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘दुर्घटना साँझ करिब सात बजे भएको थियो। अहिलेसम्म पानीबाट निकालिएका मानिसहरूलाई नजिकैको निजी र सरकारी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ केहीको उपचार भइरहेको छ ।
उनले भने, ‘दुर्घटनाको यकिन कारण अहिले नै थाहा हुन हुन सकेको छैन । अहिले हामी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौं।’













प्रतिक्रिया