दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

आज दिनभर टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी, ढाकाकुमार श्रेष्ठमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय, अर्थ मन्त्रालयका सचिव पोखरेलद्वारा शपथ, स्वास्थ्यमन्त्री बस्नेतले गरे मन्त्रालय र विभागको आकस्मिक अनुगमन, दार्चुला हिमपहिरो : थप एक जनाको शव फेला लगायतका समाचारले प्रमुख स्थान पाए ।

टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी

पूर्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको छ ।

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

रायमाझी गत बुधबारदेखि फरार रहेका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नहोस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराएका हुन् ।

उनले अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउदै गएको आभाष भएको जिकिर गरे । त्यस्तै लामिछानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताए ।

उनले असधारण अवस्था रहेको अर्थतन्त्रलाइ सहि बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभई समाधानमूखी नीति अंगीकार गर्न सरकारलाई सुझाव दिए ।

जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफूले अर्धनग्न भएर विरोध गरेको बताएका छन् ।

खबरहबसँग विशेष कुराकानी गर्दै सांसद सिंहले सोमबार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताए ।

सम्बन्धित मन्त्री, सचिव या अन्य सबैलाई कानूनको दायरामा लगेर निष्पक्ष ढङ्गबाट निर्णय हुनुपर्छ भन्दा आफूलाई बोल्न समय नदिएको उनको जिकिर छ ।

उनले नेपालमा भ्रष्टाचारको परिभाषा साना मान्छे वा साना कर्मचारीलाई मुद्दा लगाउने र ठूला राजनीतिक तहका नेताहरूलाई उम्काउनेजस्तो भएको टिप्पणी गरे ।

पीडित र अभियुक्तको बयान फेर्न र अनुसन्धानको दायरलाई साँघुरो बनाउन खोजिएको भनेर नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी र महान्यायाधिवक्ता कार्यालयका उच्च पदस्थ पदाधिकारीले संसदमा आवाज उठाउन आफूलाई आग्रह गरेको उनको भनाइ छ ।

यसै विषयमा बोल्न खोज्दा आफूलाई समय नदिएपछि विरोधस्वरुप अर्धनग्न भएको उनले बताए । तोडफोड, हत्याहिंसामा आफूले विश्वास नराख्ने भन्दै उनले आफ्नै शैलीमा विरोध जनाएको स्पष्ट पारे ।

१५ वर्षको भ्रष्टाचारका कारण नेपाली समाज अर्धनग्न भइसकेको उल्लेख गर्दै उनले जनताको चित्कार सुनेर आफूले विरोध जनाएको बताए । विरोधको यस्तो शैली मेक्सिको, क्यानडा लगायतका धेरै ठाउँमा पनि अभ्यासमा रहेको उनको भनाइ छ ।

विरोधको आफ्नो शैलीबाट कसैलाई असर परेको भए क्षमा गरिदिन समेत उनले आग्रह गरे ।

ढाकाकुमार श्रेष्ठमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पूर्वसांसद श्रेष्ठलाई कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अनतरिम आदेश दिएको हो ।

यद्यपि उनी संसद बैठकमा जान पाउने नपाउने विषय भने लिखित आदेशपछि स्पष्ट हुनेछ ।

आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा एमालेविरुद्ध प्रहार भयो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन् ।

उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको दाबी गर्दै प्रधानमन्त्रीले स्टन्ट नभइ निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र हुन्छ भने मुकावला हुने चेतावनी दिए । ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दाबी गरे ।

उनले प्रधानमन्त्रीले नै आफूलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर मात्र भएको भनेकोमा ओलीले आफूहरु पुरा फिल्म हेर्न आतुर रहेको जिकिर गरे ।

अर्थ मन्त्रालयका सचिव पोखरेलद्वारा शपथ

अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगद्वारा रास्वपाकी कंसाकारलाई सांसदको प्रमाणपत्र प्रदान

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ ।

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो ।

पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो ।

तर, ढाकाकुमारको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

नवनिर्वाचित सभापति राईद्वारा शपथ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिहदरबारस्थित संसद् भवनमा सोमबार आयोजित कार्यक्रममा सभापति राईले उक्त शपथ लिएकी हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य छिन् । राईले साेमबार नै पदबहाली गरिन् ।

पदबहालीपछि कुराकानी गर्दै उनले राष्ट्र र जनताका पक्षमा सक्रियतापूर्वक कानून निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, ‘समितिमा प्रवेश पाएका विधेयकलाई समृद्ध तुल्याएर यथाशक्य छिटो निष्कर्षमा पुर्‍याइनेछ, समितिका सबै सदस्यले एक मन र मतले सक्रियतापूर्वक खटेर प्राप्त जिम्मेवारीलाई पूरा गर्नेमा मेरो पूर्ण विश्वास छ ।’ समितिमा राष्ट्रिय मर्यादाक्रम निर्धारण, नेपाल विश्वविद्यालय, कोभिड–१९ सङ्कट व्यवस्थापनलगायत विधेयक छन् ।

यसअघि उक्त समितिका सभापतिका रूपमा पर्शुराम मेघी गुरुङ र डा वेदुराम भुसालले काम गरेका थिए । डा भुसाल वर्तमान मन्त्रिपरिषदमा सहभागी भएसँगै सभापति पद रिक्त थियो । उक्त समितिमा राईको चयनसँगै राष्ट्रियसभा मातहतका चारमध्ये दुई समितिमा महिलाको नेतृत्व हुन पुगेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापति छिन् ।

स्वास्थ्यमन्त्री बस्नेतले गरे मन्त्रालय र विभागको आकस्मिक अनुगमन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र विभिन्न विभागहरुमा आकस्मिक अनुगमन गरेका छन् ।

सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुगेका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गरेका हुन् । सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ ।

समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए । मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित विभिन्न बिभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए । विभिन्न विभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका थिए ।

मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैँबाट गर्नुपर्ने भन्ने मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताए ।

उनले समयमा नै कार्यालय पुग्ने कर्तव्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस विषयलाई कडाईका साथ लागू गर्ने धारणा राखे । सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने बताए ।

उनले विभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरि काम गर्नुपर्ने बताए । मन्त्री बस्नेतले समयमा नै आएर काम गर्न निर्देशन दिएको जानकारी दिए ।

एसएसपीमा पदोन्नती भएका २० प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

दर्ज्यानी चिह्न पाउनेहरुमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जबरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन रहेका छन् ।

यसैगरी, प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. संज्ञा मल्ल, डा. दिवा शर्मा र डा. आषिश दत्तले दर्ज्यानी चिह्न पाएका हुन् । सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो ।

दार्चुला हिमपहिरो : थप एक जनाको शव फेला

दार्चुलामा गएको हिमपहिरोमा परी बेपत्ता थप एक जनाको शव फेला परेको छ ।

गत साता गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गरिरहेको सशस्त्र प्रहरी बलको टोलीले थप एक जनाको शव फेला पारेको हो । यसअघि हिमपहिरोमा परेका तीन जनाको शव फेला फेला परिसकेको छ ।

हिमपहिरोमा परी बेपत्ता भएकी डोटीको जोरायल गाउँपालिका २ की ईश्वरी थापाको शव फेला परेको सशस्त्रले जनाएको छ ।

सशस्त्रका अनुसार बेपत्ता अर्का एक जनाको खोजी कार्यलाई जारी राखिएको छ ।

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो ।

बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताए ।

भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी थिए। उनीहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतंक रोक्नुपर्ने धारणा राखेका थिए ।

उनीहरुले बाँदर नियन्त्रण भएमा बसाइँसराइ पनि रोकिने आशा व्यक्त गरेका थिए । ‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएको छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन’, स्थानीय दुर्गाबहादुर थापाले भने , ‘जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला ।’ हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उनले बताए ।

वडा वडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन् । घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउने गरेको किसानको गुनासो छ । यहाँ बनाउने योजना गरिएअनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जंगलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ थियो ।

त्यसका लागि धेरै बजेट लाग्ने अनुमान छ । नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डिपिआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरूपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको जनप्रतिनिधिले बताए । ‘बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ’, उपप्रमुख हरिहर शर्माले भने , ‘दिनदिनै बसाइ जाने अवस्था भएमा गाउँमा बिकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन्’, खेतबारी बाँझो भएको र आयातको भरमा बाँच्नुपर्दा नगरपालिका दिनदिनै गरिब बनेको उनको गुनासो थियो ।

नगर प्रमुख नरबहादुर पुनले त बाँदरको संरक्षण गरेर पर्यटनमा जोड्नुपर्ने धारणा राखे। उनले बाँदरबारे अध्ययन गर्न चाहने विद्यार्थीका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सुझाए । त्यसका लागि सबै स्थानमा पहल गर्नुपर्ने उहाँको जोड थियो । राम्रो संरक्षण भएमा छिमेकी पालिकाबाट समेत बाँदर ल्याएर राख्ने र पालिकाले राजस्व संकलन गर्ने, आम्दानीको दायरा बढाउने अवस्था आउने उनले बताए ।

आजदेखि काठमाडौँ महानगर भित्रका अव्यवस्थित तार हटाइने

आज देखी काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरिदैँछ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ०० बजे

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

सिन्धुपाल्चोक– मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही

प्रभावकारी बन्दै होमियोप्याथी उपचार

काभ्रे घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय सागर

तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव