गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा « Khabarhub

गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे। उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन्। तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ। बिक्री भए पनि उनीहरूले उचित मूल्य भने पाउन सकेका छैनन्।

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारूपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ। उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए।

‘उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्’, उनले भने, ‘हामीसँग चिस्यान केन्द्र पनि छैन। भण्डारण गरेर राख्न सक्ने अवस्था छैन।’

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ। चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन।

कृषक पुष्पराज खड्का गोलभेँडा उत्पादन भएकोमा जति खुसी छन् त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा  दुःखी छन्। ‘प्रतिकिलो गोलभेँडा २० रुपैयाँमा बिक्री गर्नु परिरहेको छ’, उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’

कार्कीका अनुसार उक्त वडाको गोलभेँडा ओखलढुङ्गा,  सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ। ‘उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौँ’, कार्कीले भने, ‘केन्द्रले प्रतिकिलो तीन रुपैयाँ राखेर कृषकलाई दिँदा कृषकले मुस्किलले किलोको ३० रुपैयाँसम्म पाउँछन्।’

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेँडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन्। नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेँडा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ। ‘व्यापारीले हामीलाई ३०  रुपैयाँ भन्दा बढी दिँदैनन्’, उनले भने, ‘कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन्।’

वडाध्यक्ष हायूका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ। यसअघि अदुवा, काउली र डल्ले खोर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन्।

उत्पादन बढ्दै गए पनि कृषकले बजारसम्म गोलभेँडा पुर्‍याउन सकेका छैनन्। वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायूले बताए। बजारमा भारतबाट आयात गरिएको गोलभेँडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो। स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ०५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको