व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान « Khabarhub

व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दी मङ्गलाका किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोपेका छन्। परम्परागत रूपमा धान खेती गर्दै आएका उनले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दै आएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर घर फर्किएका खत्रीले घर फर्किएपछि २०७३ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिकरुपमा नगदे बालीमा समर्पित भएका हुन् । गोपाल कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुन्तला  र केरासँगै तरकारी, किबी र ड्रागनको समेत खेती गरेका छन् । खत्रीले करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गर्दै आएका छन् ।

‘बाह्र मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो वर्षदेखि सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो तथा नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफूलतर्फ लागेको हुँ’, उनले भने ।

खत्रीले मौरीपालनसमेत गर्न थलेका छन् । व्यावसायिक बाख्रापालन पनि गर्दै आएका उनको फार्ममा करिब ३० बाख्रा छन् । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन सदस्य स्वरोजगार बनेको खत्रीको भनाइ छ ।

‘फलफूलसँगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घर खर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाबाट आम्दानी गर्ने बेला भएको छ, यसबाट वार्षिक  १० लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान छ’, खत्रीले भने ।

कुहूँमा खत्रीले मात्रै होइन यहाँका अन्य किसानले पनि परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली लगाउन थालेका छन् ।

खाद्यबालीभन्दा फलफूल खेती सजिलो, रोग कीरा लागेमा प्राविधिक सहयोग लिन सहज भएको र आम्दानीका हिसाबले पनि लाभदायी भएकाले परम्परागत कृषिलाई रूपान्तरण गरेर फलफूल खेतीमा लागेको स्थानीय भद्र बहादुर जिसीले बताए ।

उनले धान रोप्ने खेतमा एक सय ७० सुन्तलाका बोट लगाएका छन् । सुन्तला खेती गरेको जमिनमा सिमी, भट्टलगायत खेतीसमेत हुने भएकाले फलफूल खेती लाभदायी बनेको जिसीको भनाइ छ ।

कुहूँको मजुवा, अनबाङ, रातमाटा, खानीगाउँलगायत क्षेत्रमा धान र कोदो रोप्ने खेतबारीमा सुन्तला रोप्ने लहर नै चलेको छ । यहाँ सबैभन्दा धेरै सुन्तला नगेन्द्रबहादुर जिसीले एक हजारभन्दा बढी बोट रोपण गरेका छन् ।

धान र कोदो खेती गर्न लागत बढी लाग्ने र आम्दानी नहुने भएकाले व्यावसायिक रूपमा सुन्तला खेती थालेको उनले जानकारी दिए । यस क्षेत्रमा लालबहादुर केसी, वीरबहादुर खत्री, देवेन्द्र केसी, विष्णु जिसी, मोहन हमाल, यामबहादुर पुन, गङ्गाबहादुर खत्री, धर्मदक्त रेग्मी, रेशम शर्मा, दीर्घबहादुर खत्री, उदबहादुर खत्री लगायतले खेतसँगै पाखोबारीमा व्यावसायिक सुन्तला खेती गरेका छन् ।

सात वर्षदेखि कुहूँमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । सुरुआतमा सुन्तला लगाएका कृषकको बगैँचाबाट धमाधम बिक्री हुन थालेपछि अन्य कृषक पनि यसतर्फ आकर्षित भएका छन् ।

परम्परागत खेती छाडेर व्यावसायिक फलफूल खेतीमा लागेका कृषकलाई अनुदानमा बोटबिरुवा र उपकरणमा सहयोग गरिएको वडा अध्यक्ष एकजित रोकाले बताए । सिँचाइ सुविधाले खेती गर्न कृषकलाई सहज भएको छ । नगदे बालीबाट कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ ।

सिँचाइ सुविधाले कृषकलाई सुविधा

मङ्गला गाउँपालिका–१ कुहूँको घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि यहाँका कृषकलाई खेती गर्न सहज भएको छ । परम्परागत कुलोबाट खेतबारीमा सिँचाइ गर्दै आएका स्थानीयवासीलाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले बताए ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पाँच वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको हो । चालु आर्थिक वर्षमा कार्यालयबाट विनियोजन भएको रु २५ लाख अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको खत्रीले बताए ।

यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीन हजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ । घट्टेखोला सिँचाइ आयोजनाबाट कुहूँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआना लगायतको फाँटमा सिँचाइको सुविधा पुगेको छ ।

आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिँचाइ गर्न सुविधा पुगेको स्थानीय भद्र बहादुर जिसीले बताए ।

‘सिँचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक उन्मुख बन्न सिँचाइ सुविधाले ठूलो राहत दिएको छ, कृषकका खेतबारीमै पानी आउने भएकाले बर्खा र हिउँदमा बोटबिरुवा र खेतीमा सिँचाइ गर्न सजिलो भएको छ’, उनले भने ।

घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : ०५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित