कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु | Khabarhub Khabarhub

कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो ।

पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी थालिएको बताए । शान्तिपुरमा विसं २०२४ देखि मानव बस्तीको विकास भएको थियो ।

“कृष्णपुर नगरपालिकाबाट अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न सुरु गरिएको छ”, आयोगका अध्यक्ष ढुङ्गानाले भने, “बेदकोट, दोधारा चाँदनी र बेलौरीमा पुर्जा वितरणको तयारी भइरहेकाले क्रमशः सबैलाई वितरण गरिने छ ।”

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका रामबहादुर चौधरीको एक बिघा ऐलानी जमिन छ । वर्षौंदेखि यहाँ बसोबास गर्दै आएका उनले जग्गाधनी पुर्जाका लागि भूमि आयोग गठन भएपिच्छे पटकपटक फाराम भरे पनि विभिन्न बहानामा जग्गाधनी पुर्जा पाएका थिएनन् । लामो समयपछि यसपटक भने रामबहादुरले तीन कट्ठा जमिनको लालपुर्जा पाएका छन् ।

“दाङबाट बाजे बसाइँसराइ गरेर यहाँ आउनुभएको हो, हरेक आयोगमा फाराम भरियो”, उनले भने, “लामो समयपछि यसपटक भोगचलन गरेको तीन कट्ठा जग्गाको पुर्जा पाएका छौँ ।” उपभोग गरेको वर्षौंपछि जग्गाधनी पुर्जा पाएपछि उनी खुसी छन् । विसं २०६३ मा सेतो पुर्जा पाएको जमिनको अहिले लालपुर्जा पाएको उनले बताए ।

“हजुरबुवाले उपभोग गरेको जमिनको लालपुर्जा नातिको पालामा पाइयो, वर्षौंपछि भए पनि पुर्जा पाउँदा खुसी लागेको छ”, रामबहादुरले भने, “बाँकी जमिनको पनि चाडै पुर्जा पाए हुन्थ्यो ।” उनले आफ्नोसहित केही जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । लालपुर्जा भएपछि तरकारी खेतीमा लगानी गर्न तथा अन्य धेरै कुरामा सहज हुने उनको विश्वास छ ।

“लालपुर्जा नहुँदा तरकारी खेतीमा लगानी गर्नका लागि ऋण निकाल्न सकिएको थिएन, अब लगानी कम परेमा बैंकमा धितो राखेर ऋण लिन र थप गर्न सजिलो हुन्छ”, रामबहादुरले भने ।

केही दिनअघि एक कार्यक्रमको आयोजना गरेर जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको नगर प्रमुख हेमराज ओझाले बताए । “जग्गा भोग गरिरहेका तर जग्गाधनी प्रमाण पुर्जा नभएका सबैलाई जग्गाको मालिक बनाइन्छ, यस कार्यको सुरुआत भएको छ”, उनले भने, “अब अन्य वडामा पनि पुर्जा वितरण गरिनेछ ।”

भूमि आयोगका अध्यक्ष ढुङ्गानाका अनुसार अहिले नौवटै पालिकामा नापी गर्न बाँकी जमिनको नापीको काम चलिरहेको छ । कृष्णपुर नगरपालिका–५ र ६ मा नापीको काम बाँकी छ । बेदकोट नगरपालिकामा जग्गा नापीको काम सकिएको छ । “नापी सकिएको वडामा धमाधम पुर्जा वितरण गरिन्छ”, उनले भने, “हामीसँग जनशक्ति कम छ, स्थानीय तहले जनशक्ति व्यवस्थापन गरिदिने आश्वासन दिएका छन् ।”

बेलौरी नगरपालिका–४, ९ र १० मा नापी सकिएको छ भने वडा नं २ मा चलिरहेको छ । पुनर्वास नगरपालिका–४, ५ र ९, लालझाडी–४ र ५, बेलडाँडी–२ र ५, दोधारा चाँदनी–८ तथा भीमदत्त नगरपालिका–४ र १७ मा नापीको सकिएको छ । शुक्लाफाँटा नगरपालिकामा पनि दुई वडामा मात्रै नापी सकिएको छ । जिल्लाभर अव्यवस्थित बसोबासका ७० हजार बढी निवेदन परेका भूमि आयोग कञ्चनपुरले जनाएको छ ।

आयोगका अध्यक्ष ढुङ्गानाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासीका ४५ सय र अधुरो काम (नापनक्सा र फिल्ड बुक भएका र सेतो पुर्जा पाएका) ६५ सयले निवेदन दिएका छन् । पहिलो चरणमा अव्यवस्थित बसोबासीको छानविन गरेर पुर्जा वितरणपछि भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अधुरो कामका निवेदनमाथि छानविन गर्ने भूमि आयोगको तयारी रहेको उनले बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : ४२ बजे

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको