कागतीको बजार खोजी गर्दै कृषि ज्ञान केन्द्र « Khabarhub

कागतीको बजार खोजी गर्दै कृषि ज्ञान केन्द्र


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ ।

कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए ।

उनले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताए । उनले भने, ‘कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको पहल गरेका हौँ । छलफल सकारात्मक भएको छ ।’

छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुनसके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमतिसमेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले यहाँ दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिए । उनले भने, ‘९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् ।’

कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालीमाटी तरकारी बजारमा किसानले कागती बिक्री गर्दा प्रतिकिलो एक सयदेखि एक सय २० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । उनका अनुसार टिपेको चार–पाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ ।

देवघाट देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे । विदेशबाट फर्किएर कागती खेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’

पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन् । गत वर्ष पहिलोपटक ७० हजारको कागती बिक्री भएको उनको भनाइ छ । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।’

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागतीखेती कृषकलाई बगैँचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्ला २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ३९ बजे

मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

एजेन्सी– रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने

बालेन-रविबारे अमेरिकी रिपोर्ट : स्वार्थ प्रेरित गठजोड, उपसभामुखसहितका कुराले खटपट भएको सुनियो

काठमाडौं– अमेरिकास्थित कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को हालै सार्वजनिक एक

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू

बारा- बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक