ब्रेकिङ स्टोरी

संसद तीन दलको बन्धक बनेको भन्दै सांसद लिङ्देनको आपत्ति

By खबरहब

August 08, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको भन्दै उनले तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाए ।

सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै उनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको बताए । देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा प्रमुख तीन दलबीच भागबन्डामा भने सहमति हुने गरेको उनको भनाइ छ ।

प्रतिपक्षी दल मात्र होइन सरकार पनि संसद नचलोस् भन्नेमा रहेको अध्यक्ष लिङ्देनले बताए ।