विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज साउन २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिकामा प्रचण्ड गर्मीका कारण एक सय ४७ जनाको मृत्यु
अमेरिकामा प्रचण्ड गर्मीका कारण एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएको छ । तीन राज्यमा गर्मीका कारण मानिसहरुको मृत्यु भएको बताइएको छ ।

यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी नै छ । जुन र जुलाई महिनमा लगातार ३१ दिन एक सय १० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको सङ्ख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु सङ्कटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ ।

हार्वर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्स देशभरिबाट सङ्कलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्दै उक्त गणनालाई रहस्यमय भनेका छन् ।

‘भारत पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन तत्पर छ’
भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउन तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने भारतले स्पष्ट पारेको छ ।

हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि त्यसको जवाफमा भारतले हिंसामुक्त वातावरण निर्माणमा जोड दिएको हो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध चाहन्छ तर त्यस्तो सम्बन्धका लागि आतङ्कवाद र हिंसामुक्त वातावरण बन्नुपर्नेमा जोड दिए । उनले भने, “पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबारे हामी जानकार छौँ यससम्बन्धमा भारतको स्पष्ट र सुसङ्गत अडान सबैलाई अवगत छ– हामी पाकिस्तानसहित हाम्रा सबै छिमेकी देशसँग सामान्य सम्बन्ध कायम गर्न चाहन्छौँ तर त्यसका लागि आतङ्क र शत्रुतामुक्त वातावरण अपरिहार्य छ ।”

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै दुई देशबीचको तनावपूर्ण सम्बन्धको इतिहास भए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रले झेल्नुपरेको आर्थिक कठिनाइलगायत समस्या सामना गर्न भारतसँगको वार्तालाई जोड दिएका हुन् । गरिबी, बेरोजगारी, वित्त, शिक्षा, स्वास्थ्य र जनकल्याणका निम्ति आवश्यक स्रोतको अभावमा छिमेकीसँग सधैँ वैरभावका साथ बस्न नहुने निष्कर्षका साथ वार्ता गर्न आफू नेतृत्वको सरकार तत्पर रहेको उनको भनाइ छ ।

“हाम्रा छिमेकीहरूसँग हामी वार्ता गर्न तयार छौँ, यदि छिमेकी गम्भीर विषयमा टेबलमा बस्न राजी भएमा त्यो असंभव छैन । पाकिस्तान एक आणविक शक्ति हो यसलाई हामीले आक्रमणका लागि नभई आफ्नो रक्षाका लागि विकास गरेका हौँ,” बितेका ७५ वर्षमा तीन युद्ध लडेको देशका प्रधानमन्त्रीले छलफल र संवादका माध्यमबाट भारतसँग सबै समस्याको समाधान खोज्नुपर्ने उल्लेख गर्दै भने ।

आणविक होडबाजीको सट्टा आर्थिक प्रतिस्पर्धा गर्नु दुवै देशका निम्ति श्रेयस्कर हुने तर्क गर्दै प्रधानमन्त्री सरिफले आपसी चासो र विवादका विषयको निरुपण शान्तिपूर्ण छलफलबाट नगरेसम्म दुवै देश सामान्य छिमेकी हुन नसक्ने बताए । यसअघि पनि पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग वार्ता गर्न आफ्नो सरकार इच्छुक रहेको जनउँदै ‘कसैका विरुद्धमा कोही’ नभएको बताएका थिए ।

पाकिस्तानको स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध कहिल्यै पनि सामान्य हुन सकेको छैन । भारतले पाकिस्तानमाथि सधै सीमापार आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आतङ्कवादका बीचमा वार्तालाई निरन्तरता दिन नसकिने अडान दोहो¥याउँदै आएको छ ।

सन् २०१९ को अगस्ट ४ मा जम्मु कश्मीरलाई दिइएको विशेष राज्यको व्यवस्था खारेज गरी त्यसलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयको विरोधमा इमरान खान नेतृत्वको सरकारले पाकिस्तानका लागि भारतका राजदूतलाई निष्कासन गरेको थियो । उक्त कारबाहीसँगै द्विपक्षीय व्यापार पनि अवरुद्ध भएको छ ।

तिब्बतको यार्लुङ जाङ्बो नदीमा बाँध बनाउने चिनियाँ योजना र यसको जोखिम
चीनले तिब्बत भएर बग्ने यार्लुङ जाङ्बो नदीमा विशाल बाँध निर्माण गर्ने योजना अघि सारेको छ । भारतमा ब्रम्हपुत्र भनेर चिनिने यार्लुङ जाङ्बो नदीमा चीनले बाँध निर्माण गरिरहेको समाचार बरम्बार आउने गरेपनि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

भारतसँगको सीमानजिक निर्माणाधीन बाँध आसपास चीनले उच्च सैन्य सतर्कता पनि अपनाउँदै आएको छ । यद्यपि यस परियोजनाको क्षमता ६० गिगावाट रहेको बताइएको छ । यस नदीमा चीन, भारत र बंगलादेशका १३ करोड मानिसहरु निर्भर रहेका छन् ।

चीनले सन् २०२१ देखि सन् २०२५ सम्मको विकास लक्ष्य अनुरुप यस नदीमा बाँध निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको हो । पूर्वी तिब्बत र भारतको अरुणचल प्रदेशको सीमानजिकै भूकम्पका कारण प्रभावित भइरहने क्षेत्रमा चीनले बाँध निर्माणको योजना अघि सारेपछि चिन्ता बढेको छ ।

चीनले यस बाँधको निर्माणबाट तल्लो तटीय क्षेत्रमा कुनै असर नपर्ने बताउँदै आएको छ । तर, माथिल्लो तटीय क्षेत्रमा पर्ने भएकाले यस आयोजनाको लाभ भने चीन एक्लैले उठाउने देखिन्छ । त्यसबाहेक चीनले भारतसँगको सीमा विवाद समाधान गर्न अनिच्छा देखाइरहँदा यस बाँधलाई चीनले हतियारका रुपमा प्रयोग गर्नसक्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।

त्यस्तै, चीनले अत्यन्त धेरै जनसङ्ख्या रहेको मुलुकको पूर्वी तथा उत्तरी क्षेत्रमा पानीको आपूर्ति गर्न यस नदीलाई त्यसतर्फ मार्ग परिवर्तन गर्ने सम्भावना रहेको पनि जानकारहरु बताउँछन् । एक अध्ययनअनुसार चीनले तिब्बत भएर बग्ने नदीमा १ सयभन्दा धेरै बाँधको निर्माण गरेको छ । ब्रम्ह चेलानीका अनुसार चीन अहिले इतिहासकै सबैभन्दा ठूलो पानीको चोरीमा संलग्न छ ।

चीनले यार्लुङ जाङ्बो नदीमा अन्य स–साना बाँधको पनि निर्माण गरिरहेको बताइन्छ । शोधकर्ता डेमियन स्यिमोनले भूउपग्रह तस्वीरमार्फत गरेको अध्ययनअनुसार चीनले यार्लुङ जाङ्बो नदीको सहायक नदी मानिने माब्जा जाङ्बो नदीमा भारत र नेपालसँग त्रिदेशीय सीमानजिकै पर्ने ताक्लाकोट क्षेत्रमा सानो बाँध निर्माण गरिरहेको छ ।

चीनले आफ्नो परियोजनाबाट कसैलाई कुनै हानी नहुने दाबी गर्दै आएको छ । यद्यपि, भारतसँगको हिमाली सीमाक्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधि तथा पूर्वाधार निर्माण र सन् २०२२ को नोभेम्बर महिनामा सीमा क्षेत्रमा चिनियाँ र भारतीय सुरक्षाकर्मीबीचको झडपले चीन आफ्नो स्वार्थ पूरा गर्न भारतसँगको सम्बन्धलाई नै जोखिममा पार्न समेत तयार रहेको स्पष्ट हुन्छ ।

सन् १९६८ को हेलसिन्की नियम र सन् १९९७ को पारवहनरहित अन्तर्राष्ट्रिय जलस्रोतसम्बन्धी राष्ट्रसंघीय अभिसन्धीअनुसार माथिल्लो तटीय राज्यका रुपमा चीनको गतिविधिलाई भारतले रोक्न मिल्दैन ।

यद्यपि यस्ता परियोजनाबारे भारतले चीनसँग पूर्वसूचना, यसको प्राविधिक पक्ष, सल्लाहको माग भने गर्नसक्छ । अघिल्ला कदमलाई हेर्दा चीनले भारतलाई यस्ता विवरण प्रदान गर्ने इच्छुक देखिन्न । भविष्यमा कुनै द्वन्द्व उत्पन्न हुन नदिन चीनले यस्ता परियोजनाको निर्माण गर्दा अन्तर्राष्ट्रिय कानूनको पालना गरी तल्लो तटीय क्षेत्रका मुलुकहरुसँग सल्लाह लिएमा उपयुक्त हुने देखिन्छ ।

कम्बोडियाले ३८ बर्ष पछि नयाँ प्रधानमन्त्री पाउँदै
कम्बोडियाका राजा नोरोदोम सिहामोनीले प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेटलाई देशको नयाँ प्रधानमन्त्रीमा मनोनयन गर्न अनुमोदन गरेका छन् ।

गत महिना भएको निर्वाचनमा हुन सेनको पार्टीले ठूलो जित दर्ता गरेको थियो। हुन सेनको टेलिग्राम च्यानलमा जारी विज्ञप्ति अनुसार कम्बोडियाका प्रधानमन्त्रीले अगस्ट ७ मा कम्बोडियाको पीपुल्स पार्टीले महामहिम डा। हुन मानेटलाई कम्बोडिया राज्यको अर्को प्रधानमन्त्री नियुक्त गर्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कृपया सातौँ राष्ट्रियसभाको लागि कम्बोडिया राज्यको प्रधानमन्त्रीको रूपमा महामहिम डा। हुन मनेटलाई नियुक्त गर्नुहोस्।’

यद्यपि, आधिकारिक रूपमा देशको नयाँ नेता बन्न, प्रधानमन्त्री हुन सेनका छोराले संसदमा विश्वासको मत जित्नु पर्छ। कम्बोडियाका प्रधानमन्त्री सेनले तीन साताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरा हुन मानेटलाई पद हस्तान्तरण गर्ने घोषणा गरे पछि यो धारणा बाहिर आएको हो। उनी सन् १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन्।

७० वर्षीय हुन सेनले आफ्नो राजनीतिक दलले संसदीय चुनावमा विजयी भएको दाबी गरेको तीन दिनपछि टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका हुन् ।

उनले आफ्नो ४५ वर्षीय जेठो छोरा जनरल हुन मानेट आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका छन् । उनले आफ्नो छोरा पनि राजनीतिज्ञ भएकाले यो उत्तराधिकारीले राष्ट्रियसभाको कुनै नियम विपरीत नहुने बताए । प्रधानमन्त्री हुन सेनका जेठा छोरा मानेट पहिलो पटक संसदमा विजयी भएका हुन् ।

श्रीलंकामा खानेपानीको अभाव

श्रीलंकाका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी० ले जनाएको छ।

डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन् ।

यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले आवश्यक कदम चालेको पनि उनले बताए । डीएमसीका अनुसार दक्षिण एसियाली टापु देशमा खडेरी सामान्यतया मनसुन शुरु हुने ढिलाइ वा वर्षाको अस्थायी परिवर्तनशीलताका कारण हुने गर्दछ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा