दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रतिनिधिसभा बैठकमा सदन अवरोध गर्न नहुनेमा सांसदको जोड, क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुने,  विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन, मन्त्रिपरिषद् बैठकबाट सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत, बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुन्छ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुने बताएका छन् ।

प्रकरणबारे संसदमा जवाफ दिँदै मन्त्री श्रेष्ठले कुनै टार, कोट वा राजनीतिक दबाबमा नलागि स्वतन्त्र र निष्पक्ष छानबिन हुने बताएका हुन् ।

 सर्वोच्चको आदेशले ललिता निवास प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि अपराधको निष्पक्ष छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

युरोपेली संघकी राजदूत डेप्रेज र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेकी हुन् ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ ।

मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरूको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ ।

संघीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय प्रशासनलाई बलियो बनाउन सरकारले संघीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन् । ‘सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ’, उनले भने, ‘आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ ।’

प्रतिनिधिसभा बैठक : सदन अवरोध गर्न नहुनेमा सांसदको जोड

प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैले आआफ्ना असन्तुष्टि व्यक्त गर्न र समस्याको समाधान खोज्न सदन अवरोध गरेर नभई सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिए।

दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारवाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विभूषण लिलामीमा नराख्न महावीर पुनलाई गृहमन्त्रालयको पत्राचार

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो ।

मन्त्रिपरिषद् बैठक :राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृतगरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो ।

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् ।

विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन्।

हामी सदैव समावेशिताको पक्षमा छौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् ।

२९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ,सभापति देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताएका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ प्रक्रिया सुरु
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिले संवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार प्रक्रिया सुरु गरेको हो ।

कांग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताएका छन्। उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको बताउँदै उनले अब कांग्रेसले काम गरेर देखाउनु पर्ने र गुनासो गर्ने छुट नरहेको बताएका हुन्।

राष्ट्रपति पौडेलसँग युरोपेली युनियनका राजदूतको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौ ७ गतेदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी भदौ ७ र ८ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धी प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन पेश गर्नेछ।

एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पस्यो

वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पसेको छ ।

बाढीका कारण मध्यान्हसम्म सो क्षेत्रको यातायात आवागमन समेत प्रभावित भएको थियो । बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा केही क्षति पुगेको एमालेले जनाएको छ । खोलाले लेदो समेत बगाउँदा सडक हिलाम्मे भएका छन् ।

रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु

रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध

वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् ।

बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ०० बजे

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट