ग्यास्ट्रिकको समस्या आम नेपालीको समस्याको रूपमा परिचित छ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षण भएको समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन्। तर, यसको समयमै ख्याल गरिएन भने अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन्। ग्यास्ट्रिक र अल्सर भएको कसरी थाहा पाउने ? ग्यास्ट्रिकका लक्षणहरू के–के हुन् ? ग्यास्ट्रिक र अल्सरका के कारण हुन्छ ? यस्तो समस्या नै नहोस् भनेर के कुरामा ध्यान दिने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि पेट रोग विशेषज्ञ डा. दीपकराज पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय प्राय सबै नेपालीलाई हुने गरेको ग्यास्ट्रिकको समस्यालाई कसरी बुझ्ने ?
प्राय बिरामी अस्पतालमा आउँदा नै मलाई ग्यास्ट्रिक भयो भनेर आउनुहुन्छ। बिरामीले आफैले लक्षण स्वरूप पेटको माथिल्लो भागमा दुख्ने, पोल्ने, पेट फुले जस्तो हुने, ढ्याउ आउने, वाकवाकी लाग्ने, छाती पोल्ने हुन्छ। मलाई ग्यास्ट्रिक भएको हो भनेर आफै नाम दिनुहुन्छ। ग्यास्ट्रिक रोग भन्दा पनि सबै रोगको कलेक्सन हो।
ग्यास्ट्रिक के कारणले बढिरहेको छ ?
पछिल्लो समय रोग नलागे पनि आफूलाई के–के हुने हो भनेर आफै डर मानेर सबैभन्दा बढी चिन्ताले समस्या बढेको देखिन्छ। सुरुमा पहिलो स्टेपमा जाँच गर्दा भित्री समस्या केही भएको देखिँदैन। त्यसको एक स्टेप जाँदा यस्ता लक्षणबाट ग्यास्ट्रिक, अल्सर र क्यान्सर पनि हुनसक्छन्। ग्यास्ट्रिक बढ्दै गएपछि अल्सर हुने हुन्छ। यसका असर के के हुन्छन् भनेर सबैले जान्नु जरुरी हुन्छ।
ग्यास्ट्रिकको उपचार कसरी गरिन्छ ?
कुनै पनि बिरामी आएर मलाई ग्यास्ट्रिक भयो भनेपछि हामीले यसको लागि जाँचबुझ गर्नुपर्ने हुन्छ। ग्यास्ट्रिकले भित्री अंगमा के भइरहेको छ ? सिधा हेर्ने भनेको इन्डोस्कोपी जाँच हो। त्यो भन्दा अरु जाँच भनेको ग्यास्ट्रिक गराउने, अल्सर गराउने एक प्रकारको कीटाणु हुन्छ। त्यो छ कि छैन भनेर जाँच्ने विधि छन्। तर, ग्यास्ट्रिक भयो भनेर आउने सबैलाई इन्डोस्कोपी गरिँदैन। इन्डोस्कोपी गर्दा धेरै मान्छे आत्तिने डराउने हुन्छ। ४५ वर्ष भन्दा कम उमेरका पहिलो पटक ग्यास्ट्रिक भयो भनेर यिनै लक्षण लिएर आउनुभयो भने पहिला अरु पेटको रोग छ कि छैन भनेर बुझ्नुपर्छ। सबैलाई इन्डोस्कोपी गराउनुपर्ने बाध्यता छैन।
इन्डोस्कोपी किन र कस्तो अवस्थामा गर्नुपर्छ ?
कम उमेरमै कसैको तौल अचानक घट्यो भने के कारणले हो भनेर इन्डोस्कोपी गर्नु जरुरी छ। बिना कारण वाकवाकी लाग्ने, वान्ता आउने, रगत वान्ता आउने, कालो दिसा आउने, लक्षण देखियो भने इन्डोस्कोपी गर्नु अति जरुरी हुन्छ। केही कुरा निल्दा गाह्रो हुने, अड्किने भयो भने क्यान्सरको लक्षण पनि हुनसक्छ। यस्तो बेलामा पनि इन्डोस्कोपी गरिहाल्नुपर्छ। थकाई धरै लाग्ने, मुटु ढुकढुक हुने, लक्षण देखा पर्दा रक्तअल्पता भएको हुनसक्छ। रक्तअल्पता अल्सरको कारणले भएको हुन्छ। अन्य कुनै रोगका कारण आफूले थाहा नपाउने गरी ब्लड लिक भएको हुनसक्छ। जसले गर्दा एनिमिया भएको हुनसक्छ। यस्तो बेलामा इन्डोस्कोपी गर्नुपर्छ।
ग्यास्ट्रिकको समयमा उपचार नगरे अल्सर हुने हो ?
अल्सर ब्याक्टेरियाले गर्दा हुन्छ। सामान्यतया ग्यास्ट्रिकको लक्षण देखियो भने खानपानमा चिल्लो पिरो कम गर्नु र तनाव नलिनु भनिन्छ। अर्काे जाँच नगरी पेनकिलर जस्ता औषधि खाने प्रवृत्तिले अल्सर हुनसक्छ। पहिला शल्यक्रिया गर्नुपर्ने बाध्यता भए पनि अहिले अल्सरको सजिलो उपचार हुन्छ। अहिलेको समयमा ब्याक्टेरियाले गर्दा अल्सर हुन्छ भन्ने थाहा पाएपछि यो ब्याक्टेरिया छ वा छैन हेरेर ब्याक्टेरियालाई मार्न सकियो भने यसबाट बच्न सकिन्छ।
अल्सर कसरी हुन्छ ?
ग्यास्ट्रिक भएको लामो समय भयो, समयमा ध्यान दिएन भने ग्यास्ट्रिक बढ्दै जान्छ र पछि अल्सर हुने हो। चिल्लो, पिरो धेरै खाँदा वा समयमा खाना नखाएमा अल्सर हुने सम्भावना हुन्छ। चिकित्सकको परामर्शबिना मेडिकलबाट औषधि किनेर खाँदा केही दिन दुखाई रोकिएला तर रोग निको हुँदैन। त्यसैले समयमा नै अस्पताल गएर जाँच गरेर उपचार गराउनु पर्दछ।
ग्यास्ट्रिकबाट बच्न कस्ता खानेकुरा खाने र कस्तो नखाने ?
ग्यास्ट्रिकबाट बच्न चिल्लो, पिरो, अमिलो खानेकुरा खानु हुँदैन। चिल्लो कुरा खाँदा रिफलेक्स हुन्छ। जसका कारण घाँटी पोल्ने, अमिलो पानी आउने लक्षण देखापर्छ। आमाशयमा जोडिने भल्भ खुकुलो हुने खानेकुरा खानु हुँदैन। साथै क्याफिन भएको कुरा खानु हुँदैन। साथै यसको प्रयोगमा डाक्टरको सल्लाहविना अनावश्यक रूपमा खाने कुनै औषधि हुँदैन। डाक्टरको सल्लाहमा मात्र अन्य औषधि खानुपर्छ।
ग्यास्ट्रिक हुनै नदिन के गर्न सकिन्छ ?
समयमा खाना खाने, तनाव लिँदै नलिने, बाहिरको खाना सकेसम्म नखानु राम्रो हुन्छ। धेरै चिल्लो/पिरो, भुटेको, तारेको खाना खानु हुँदैन। बिहान उठ्ने बित्तिकै केही खाई हाल्ने, केही समस्या आयो भने अस्पताल गएर जँचाउने गर्नु पर्दछ। मद्यपान, धूम्रपान नगर्ने र मुटुको रोग भएकाले त शंका लाग्ने बित्तिकै डाक्टरको सल्लाह लिइहाल्नुपर्छ। समयमै उपचार गरे यो समस्या सहजै निको हुन्छ।
प्रतिक्रिया