जेलबाट छोरीलाई बीपीको चिट्ठी | Khabarhub Khabarhub

जेलबाट छोरीलाई बीपीको चिट्ठी

‘मेरो मुटुमा तिम्रो तस्बिर टाँसिया छ नउक्किने गरी’


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष नेता हुन्। जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन उनले खेलेको अहंम भूमिकाको इतिहासमै उच्च मूल्यांकन भएको छ। अझ एकै बाबुका तीन छोरा मातृका, बीपी र गिरिजा कार्यकारी सरकार प्रमुख हुनुको अपूर्व संयोग पनि देशकै लागि गौरव भएको छ। राजनीतिका अब्बल सम्पदा बीपी साहित्यमा पनि उत्तिक्कै प्रखर थिए। आफू राजनीतिकर्मी भए पनि साहित्यलाई राजनीतिबाट पुरै निरपेक्ष राख्न सक्ने उनको खुवीको अहिले पनि खुलेर प्रशंसा हुने गरेको छ। नातिदेखि हजुरबासम्मको तीनै पुस्तामा समान छवि बनाउन सफल यी राजनेताले जेलबाटै छोरी चेतनालाई चिट्ठी पठाएका थिए।
थाहा छैन– जवाहरलाल नेहरु बीपीबाट प्रभावित थिए या बीपी नेहरुबाट। तर यी दुवै नेताले आफ्ना छोरीहरुलाई सम्बोधन गरेर जेलबाट चिट्ठी लेखेका थिए। नेहरुले छोरीलाई लेखेको पत्रको पुस्तक नै तयार भएको छ। बीपीका दर्जनौं कृति प्रकाशित छन्। तर छोरीलाई लेखेको पत्र फाटफुट मात्र पाइन्छ। नेहरुकी छोरी इन्दिरा गान्धी संसारकै चर्चित नेता भइन्। तर बीपी पुत्री चेतना भने वर्षौंदेखि अमेरिकामै घरजम गरेर बसेकी छन्। प्रस्तुत छ तिनै चेतनालाई उनका बाबु बीपीले जेलबाट लेखेको पत्र।

प्यारी छोरी, प्यारी चेतना,
धेरै दिनपछि तिमीलाई चिट्ठी लेख्न बसेँ। तिमीलाई धेरै महिनादेखि नलेखे पनि, म खुब संझिरहन्छु। लाग्छ, मेरो मुटुमा तिम्रो तस्बिर टाँसिया छ नउक्किने गरी। तिमीले मलाई बिर्सिसक्यौ, तिमीले मलाई संझिरहनु पनि कसरी ? मबाट छुटिँदा तिमी सानी डेढ वर्षकी थियौ। त्यसपछि आजसम्म एक दिन पनि मसँग बसेकी छैनौं। सुशीलाबाट मेरो बारेमा सुन्दा मलाई तिमी एकसाथ पराइ त भन्ठान्दिनौ होली, तर गहिरो खालको माया भने तिमी आफ्नो मुटुमा बटुल्न सक्दिनौ हौली मेरा खातिर। तिमीलाई म अबदेखि हरेक महिना चिट्ठी लेख्ने गर्छु न बिराएर। यसरी चिट्ठीबाट तिम्रो नजिकै हुन्छु। तिमी पनि मलाई बराबर चिट्ठी लेख्ने गर्नु।

तिमीलाई पैले पैले चिट्ठी लेख्दा यहाँका चराचुरुंगीहरुका बारेमा लेख्थेँ। आजकल पनि थरिथरिका चराचुरुंगीहरु आउँछन् र साँझतिर त एकचोटि भयंकर कोलाहल गरेर जेलको शान्तिलाई भंग गरिदिन्छन्। राति बास बस्ने गरी आउने सारौंका हुलको कोलाहलले त एकछिन् आकाश नै थर्किन्छ, र राति जति चोटी घण्टी बज्छ, उति चोटी उनीहरु पनि निद्राबाट बिउँझिएर चिरिबिरी गर्न थाल्छन्। तर म आज तिमीलाई चराचुरुंगीका बारेमा लेख्दिन, यद्यपि तिनीहरुले एक्लो जेल–जीवनमा साथीले गर्ने काम गरेका छन्।

यहाँसम्म कि मलाई पटक्क मन नपर्ने कौवाहरु पनि यहाँ मेरा साथी जस्ता भएका छन्, जोसँग खानेकुराहरु बाँडेर खान मन लाग्छ।
अबदेखि तिमीलाई चिट्ठीमा विज्ञानका कुरा लेख्ने गर्छु। मलाई यता विज्ञानमा रुचि भइरहेको छ, र त्यस विषयमा लेखिएका सजिला सजिला कुराहरुलाई पढेर तिनलाई बुझ्न मन लाग्छ। तिमी सोधौली विज्ञान जसलाई साइन्स पनि भन्छन्- के हो ? र किन मलाई यस बूढो उमेरमा त्यसका लागि चाख लाग्यो। त्यो मेरा पछि पछिका चिट्ठीमा खुल्दै जाला, जब तिमीलाई साइन्सका कुरामा चाख जगाउन सकूँला। आज यस चिट्ठीमा साइन्स के हो ? त्यसलाई तिमीलाई बुझाउने कोशिस गर्छु। म पनि भर्खरै यस विषय पढ्न थालेको, त्यसो हुनाले साइन्सका बारेमा तिमीभन्दा धेरै बढ्ता मलाई आउँदैन। अरु कुरो बुझेको हुनाले यस कुरालाई पनि बुझ्न मलाई तिमीलाई जति गाह्रो पर्ने छैन। त्यत्ति मात्र म तिमीभन्दा बढ्ता छु।

अब विज्ञान भन्ने के कुरो हो, त्यसलाई बुझ्ने कोशिस गरौं। तिमी सुशीलालाई आमा भन्दछ्यौ। यदि मैले तिमीलाई सोधेँ, किन प्यारी चेतना तिमीले सुशीलालाई आमा भनेकी ?- भने तिमी अकमकाउने छौं र शायद मेरो प्रश्नको उत्तर दिन सक्ने छैनौ। यदि उत्तर दियौ भने पनि शायद यति मात्र भन्ने छौ कि सुशीला मलाई माया गर्छिन् त्यसो हुनाले उनी मेरी आमा हुन्। तर फेरि म सोधुँला- चेतना प्यारी तिमीलाई त धेरैले माया गर्छन् विराटनगरमा, बनारसमा, काठमाडौंमा जहाँ पनि तिमीलाई माया गर्ने मानिस छन्, के तिनीहरु सबै तिम्रा आमा हुन् ? तिमी हाँसेर भनौली- आमा हुनलाई त स्वास्नी मानिस हुनुपर्छ, तेत्ति पनि नबुझ्ने बाबा। तेति त मैले बुझेको छ प्यारी छोरी, तर तिमीले अर्को नयाँ कुरा झिक्यौ- स्वास्नी मानिस भन्ने नयाँ कुरो। के हो लोग्ने मानिस र स्वास्नी मानिस भनेको कुरा ? तर तिमीले मेरो पैलेकै जवाफ दिइसकेकी छैनौं, किनभने जति स्वास्नी मानिसहरुले तिमीलाई माया गर्छन, सबै तिम्री आमा होइनन। यौटी स्वास्नी मानिस मात्र तिम्री आमा हुन्, जसको नाउँ छ सुशीला। यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा को हो भन्ने बुझ्न। तिम्रो मनको मायाको आँखाले सुशीलालाई आमा भनेर देखेको छ। तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन। त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ।

९ वर्ष पहिले तिमी थिइनौ। कतै पनि, आकाश, पाताल, पृथ्वी कतै पनि तिमी थिइनौ। तिमी सबभन्दा पैले बन्नपुग्यौ सुशीलाको पेटमा, सानो सानो आँखाले पनि नभेट्टाउने एकदम थोप्लो जस्तो भएर। ९ महिना जति सुशीलाको अँध्यारो पेटमा टाँस्सिएर बसिरह्यौ। त्यो अँध्यारो कोप्चो ठाउँमा त्यो सानो थोप्ला ९ महिनासम्म बढ्दा बढ्दा हात, गोडा, टाउको र अरु अंगप्रत्यांग भएकी गुडिया जस्ती यौटी सानी केटी बन्दै गई र ९ महिनापछि त्यो सानी केटी एक हातभन्दा पनि सानी आमाको पेटबाट निस्की। त्यै केटी आज तेत्री ठूली चेतना भएकी छ। पेटमा छँदा तिमी कहाँबाट खानेकुरा खान्थ्यौ ? सुशीलाले जे जे कुरा खान्थी त्यसैबाट सानो भाग तिमीले पनि पाउँथ्यौ, तर तिमी मुखभन्दा नाइटोले आफूलाई चाहिएको भोजन खान्थ्यौ किनभने पहिले पहिले त तिम्रो मुख पनि बनिसकेको थिएन। अब तिमीले विज्ञानको आँखाले हेर्दा आमा भनेको के हो र मायाको आँखाले हेर्दा आमा भनेको के हो त्यसको फरक अलिअलि बुझ्यौं हौली। पछिपछि तिमीलाई चिट्ठीमा यस कुरालाई विस्तारसँग सम्झाएर लेखूँला।
तिम्रो माया गर्ने बाबा।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ०६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई