आज मंसिर २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
भारत र चीनसहित २० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी
इण्डोनेसियाले भारत र चीनलगायत २० देशका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोका अनुसार विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले इण्डोनेसिया सरकारले यस्तो नीति लागू गर्न लागेको हो ।
“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, उनोले राजधानी जकार्तामा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भने ।
यसो भएमा अमेरिका, चीन, अस्ट्रेलिया, भारत, दक्षिण कोरिया, जर्मनी, बेलायत, फ्रान्सलगायतका २० देशका पर्यटकलाई इण्डोनेसिया प्रवेश गर्न भिसा चाहिने छैन ।
आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जनाए । इण्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।
“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ’’ उनोले भने ।
अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीचको नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।
दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमबारे छलफल केन्द्रित गरेको बताइएको छ । राष्ट्रपति बाइडेनले ‘गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाह’ को महत्वमा विशेष जोड दिएका छन् ।
उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिएका छन् ।’
राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध भएका चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनु पर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्याएका छन् ।
बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लाई हमास आतङ्ककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उनले युवती (महिला) नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ ।
दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ ।
रूसमा राष्ट्रपति निर्वाचनको मिति घोषणा
रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ । अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, २०२४ को लागि तोकिएको छ। संसद्को माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो ।
हाल रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन (७१) ले चुनाव लड्ने घोषणा भने गरिसकेका छैनन् । पुटिनले पाँचौं पटक चुनाव लड्ने र देशको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ
चुनावअघि पुटिनको जित निश्चित मानिन्छ किनभने उनलाई चुनौती दिने उनका सम्भावित प्रतिद्वन्द्वी या त जेलमा छन् वा विदेशमा छन् । एकै समयमा, अधिकांश स्वतन्त्र मिडिया प्रतिबन्धित छन्। यस्तो अवस्थामा मार्चमा हुने निर्वाचनका कारण पुटिन कम्तिमा २०३० सम्म सत्तामा रहने प्रबल सम्भावना छ ।
यसैबीच, रुस र युक्रेनबीच युद्ध जारी छ । रसिया युद्धमा फसेको छ तर उसले आफ्नो नयाँ भूभाग भनी बोलाएको क्षेत्रमा पनि मतदान हुने जनाएको छ। युक्रेनको केही भूभाग पनि रुसी सेनाको नियन्त्रणमा आएको छ । युक्रेनले आफूले कब्जा गरेको क्षेत्रबाट सबै अन्तिम सैनिकलाई नहटाउँदासम्म आराम नगर्ने बताएको छ।
रूसमा लगभग ११० मिलियन मानिसहरूलाई मतदान गर्ने अधिकार छ, तर सामान्यतया लगभग ७०-८० मिलियन मानिसहरूले मात्र मतदान गर्छन्। यसअघि सन् २०१८ मा ६७.५ प्रतिशतले मतदान गरेका थिए ।
उल्लेखनीय छ कि भ्लादिमिर पुटिन सन् १९९९ मा पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए । सन् १९९९ को अन्तिम दिन उनलाई बोरिस येल्तसिनले राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए, त्यसपछि पुटिनले जोसेफ स्टालिनपछिका कुनै पनि रुसी शासकभन्दा लामो समयसम्म यो पदमा काम गरेका छन्।
राष्ट्रपति नियुक्त भएपछि पुटिनले २००० को राष्ट्रपति चुनावमा ५३.० प्रतिशत र २००४ को चुनाव ७१.०३ प्रतिशत मत ल्याएर जितेका थिए ।
रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप
बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी अभियानमा संलग्न भएको आरोप लगाएको छ ।
रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आशङ्का गरिएको छ । विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ । यद्यपि उक्त हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ ।
पछिल्लो दाबीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा ९एफएसबी० बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लन्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।
‘बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयासहरू सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ’, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भने, ‘हामी जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयासहरू उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ ।’
क्यामरुनको कार्यालयले सेन्टर १८ (एफएसबीभित्रको एकाइ) बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेबार रहेको बताएको छ । एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू (लिक) चुहावट भएको बेलायत सरकारले दाबी गरेको छ ।
प्रतिक्रिया