ब्रेकिङ स्टोरी

नागरिकता विधेयकसम्बन्धी मुद्दा न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

By खबरहब

June 09, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे आज सवोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र शुष्मलता माथेमाको इजलासमा पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यही जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश मनोज शर्माको एकल इजलासको सो आदेशपछि नागरिकता ऐन कार्यान्वयनमा अंकुश लागेको छ ।

उक्त मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

सर्वोच्चमा आज हुने सुनुवाइले नागरिकता ऐनको भविष्य निर्धारण हुनेछ । सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएमा नागरिकता वितरणको कार्य तत्कालका लागि रोकिनेछ । यस्तै, यसअघि जारी भएको अल्पकालीन आदेश खारेज गरेमा नागरिकता वितरणको बाटो खुल्नेछ ।  

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक जेठ १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको थियो ।