ब्रेकिङ स्टोरी

संसदको गतिरोध हटाउन नेताहरू सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने

By खबरहब

July 09, 2023

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण केही दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुचारु हुने भएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा सहमति भएसँगै बैठक सुचारु हुने भएको हो ।

कांग्रेस नेता रमेश लेखकले आज ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने जानकारी दिए ।

दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने छन् ।

गत बुधबारदेखि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।