आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध « Khabarhub

आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

उनन्तिसौँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे  ।

उनले आदिवासी दिवसले प्राप्त अधिकारको संरक्षण र सुदृढीकरण गर्दै थप अधिकार प्राप्तिको आन्दोलनलाई व्यवस्थित तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘आदिवासी जनजाति समुदायको पहलमा कानून बनाउने, स्रोत साधन एवं जनशक्तिले आयोग शक्तिशाली बनाउने, संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लगिने छ’, प्रधानमन्त्रीले भने, ‘स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानून बनाएर छिट्टै लागू गराउने र सङ्घीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार हाम्रासामु छन् । हामी सबैको सामूहिक प्रयास र सङ्घर्षले उल्लिखित कार्यभार पूरा गर्न महत्त्वपूर्ण योगदान हुनेछ भन्ने मेरो गहिरो विश्वास छ ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति यस्ता अवसरले उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरे । नेपालमा करिब एक करोड २० लाख आदिवासी-जनजाति रहेको तथ्यांक पेश गर्दै प्रधानमन्त्रीले हालसम्म ६० आदिवासी-जनजाति समुदाय सूचीकृत भएको र तिनीहरूको आ-आफ्ना भाषा–संस्कृति रहेको जानकारी दिए। 

नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका रहँदै आएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले यो यथार्थलाई हामी सबैले ठीक ढंगले आत्मसात् गर्न जरुरी रहेको बताए ।

संंयुक्त राष्ट्रसङ्घमा पनि आदिवासीसम्बन्धी सङ्गठन स्थापना गरिएको छ । नेपालमा २०४७ वैशाख २२ गते नेपाल आदिवासी जनजाति महासङ्घको स्थापना भएको हो । राष्ट्रसङ्घले सन् १९९४-२००४ लाई अन्तर्राष्ट्रिय आदिवासी दशक घोषणा गरेको थियो । सन् १९९४ को अगस्त ९ लाई विश्व अदिवासी दिवस मनाउन थालिएको र यो साल २९औँ आदिवासी दिवस हो । प्रधानमन्त्रीले यसको विगत, वर्तमान र भविष्यसमेत उत्तिकै गौरवशाली र महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

विश्वभरिका सरकार, आदिवासी जनजाति सङ्घ संस्था र अध्येताले आदिवासी जनजातिको हक अधिकार संरक्षण र संवर्द्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन यो दिवस मनाइन्छ । प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित जाति र समुदायका विभिन्न आन्दोलनको बलमा निर्मित नेपालको संविधानको प्रस्तावनामा नै स्पष्ट व्यवस्था गरिएको बताए।  

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितमूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प’ संविधानमा गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

नेपालको संविधानको भाग २७ धारा २६१ मा आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ । सो आयोगले आदिवासी जनजातिसम्बद्ध नीति निर्माणका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा सञ्चालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्यांकन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित भएको उल्लेख गर्दै चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न गाह्रो भएको यथार्थता प्रस्तुत गरे । 

उनले भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग, बजेटको व्यवस्था गर्ने प्रयास रहने उल्लेख गरे। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आले मगरलगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : ३४ बजे

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु