ब्रेकिङ स्टोरी

श्रम र ‘ब्रेन’ पलायनले देशमा संकट निम्तियो : शंकरदास बैरागी

By खबरहब

November 09, 2023

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदास बैरागीले कक्षा १२ पास गर्नसाथ विद्यार्थी बाहिर जाने प्रवृतिले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा चुनौती थपिएको बताएका छन् ।

अवसरको खोजीमा बाहिरिएका युवाका कारण देशमा दक्ष र सक्षम जनशक्तिको अभाव हुन थालेको उनको भनाइ छ । आइएसएसआर र खबर हबको आयोजनामा विहीबार भएको ‘आर्थिक कुटनीति र सीमा सुरक्षा विषयक अन्तक्रिया’ कार्यक्रममा बोल्दै बैरागीले श्रम र ब्रेनको पलायन रोक्नका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

रोजगारी तथा उत्पादन बढाउन निजी र सरकारले सँग सहकार्य गर्नुपर्ने भन्दै उनले त्यस्तो हुन नसकेको गुनासो गरे । यो एकले अर्कालाई गाली गर्ने समय नभएको भन्दै पूर्वमुख्यसचिव समेत रहेका बैरागीले सबैको स्वार्थ राष्ट्रिय हित भए मात्र देशले आर्थिक उन्नति गर्न सक्ने जिकिर गरे ।

नेपालको आर्थिक क्षेत्र सुधारोन्मुख देखिए पनि अर्थ चलायमान बनाउने पर्यटन ब्यवसायमा उल्लेख्य सुधार नआएको उनको भनाई छ । नेपालले स्तरीय पर्यटक ल्याउन नसकेको भन्दै बैरागीले सस्तो टुरिजमले आर्थिक क्षेत्रमा सोचे अनुसार फड्को मार्न नसकिने बताए । आर्थिक क्षेत्र चलायमान बनाउन बजारको माग अनुसार उत्पादन हुनुपर्ने भन्दै उनले माग अनुसारको उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए ।

वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रवि सैजूले नेपालको सीमा क्षेत्रमा धेरै नाकाको आवश्यकता नभएको बताए । दुई छिमेकी देशसँग आर्थिक कारोबारका लागि ८ वटा मात्रै नाका भए पुग्ने उनको भनाइ छ । सीमा क्षेत्रमा धेरै नाका हुँदा सुरक्षा ब्यवस्थामा चुनौती हुने भन्दै उनले धेरै नाका हुँदा सामान नेपालका लागि भनेर आउने तर त्यो बिचबाटै गायब हुने समस्या सृजित भएको बताए ।

कार्यक्रममा बोेल्दै संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल सरकारले सीमा सुरक्षालाई गम्भीर रुपमा नलिएको गुनासो गरे ।

आर्थिक कुटनीतिमा भएको बेइमानीले सीमा क्षेत्रमा समस्या आएको यादवले बताए । सीमा क्षेत्रका नागरिकलाई मूलबासी नै नमान्ने सरकारी सोचका कारण सीमामा जटिल समस्या निम्तिएको उनको भनाइ छ । राष्ट्रियताको सबालमा आमनागरिक गम्भिर नहुँदा पनि देशमा समस्याहरु आइरहेको भन्दै यादवले सरकार यस्ता कुरामा सचेत हुनुपर्ने बताए ।

नेपालमा पर्यटक मैत्री नीति नहुँदा आर्थिक क्षेत्र चलायमान हुने गरी पर्यटक नआएको सभापति यादवले जिकिर गरे । हवाई यात्रामा अबलम्बन गरिएको असमान नीतिका कारण नेपालमा विदेशी पाहुनाले सहज महसुस नगरेको उनको भनाइ छ । पर्यटकका लागि लिइएको फरक प्रकृतिको नीति तत्काल फेरिनुपर्नेमा उहाँको जोड छ ।

राज्य स्तरबाट नै भ्रष्ट्राचारलाई प्रोत्साहन गर्ने काम भइरहेको भन्दै सभापति यादवले सुपारी तथा मरिचको इजाजत तथा आयात निर्यातका सम्बन्धमा संसदीय समितिमा छलफल हुनु यसको उदाहरण भएको तर्क गरे ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमारी झाँक्री, नेपाल प्रहरीका पूर्वआइजीपी धिरजप्रताप सिंह, पूर्व डीआइजी हेमन्त मल्ल, सशस्त्रका प्रहरीका पूर्वएआइजी रबिराज थापा, सशस्त्रका पूर्वआइजीपी किशोर कुमार लामा, पूर्व एसपी रबिन्द्रनाथ रेग्मी नेपाल आर्मीका पूर्वजर्नेल सुरेश शर्मा, पूर्वप्रशासक रबि सैंजू लगायत आर्थिक तथा सुरक्षा क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।