हिउँमै भेडीगोठ | Khabarhub Khabarhub

हिउँमै भेडीगोठ


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागलुङ– समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौँ गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ । लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन् । चिसो याममा खाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन् ।

धेरैजसो गोठालाहरु असार र कात्तिक महिनामै बेंसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन् । केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो । चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठाला बेंसी झर्ने तरखरमा छन् । अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन् ।

उनीका ठूलो सङ्ख्यामा भेडाबाख्रा हुँदा अहिलेसम्म पातीहाल्ने क्षेत्रमै रहेका हुन् । उनीहरु सबैले भेडापालन थालेको दशकौँ बित्यो । पाँच पुर्खादेखि भेडापालन गर्दै आएको बताउने श्रीप्रसाद ६१ वर्षको भए । उनले भेडापालन थालेको ५३ वर्ष भयो । बाउबाजेले गर्दै आएको पेसालाई अङ्गाल्नुभएका गुरुङले आफ्ना हातपाखुरा चल्दासम्म यही काम गर्ने चाहना रहेको बताए ।

उमेर ढल्दै गए पनि गुरुङमा काम गर्ने जोस जाँगर भने युवाको जस्तै छ । गुरुङका सबै दौतरी यही पेसामा लागे पनि अहिलेका नयाँ पुस्ताले भेडाबाख्रा पालनमा चासो दिँदैनन् । नयाँ पुस्ताले परम्परागत पेसालाई चासो नदिँदा पुर्खौँदेखि गर्दै आएको पेसा हराउने डर गुरुङलाई छ । आफ्नो पालामा पढ्ने लेख्ने र विदेश जाने चलन नहुँदा गाउँका सबै मानिस पशुपालनमा लागेको सुनाउँदै अहिलेका पुस्ता विदेश पलायन हुन र बजार झर्ने गरेको गुरुङले बताए ।

भेडापालनबाटै परिवार चलाउनेदेखि सम्पत्ति जोड्नेसम्म गरेको सुनाउने गुरुङले हिजोआज गाउँमा विकास हुँदै गएपछि पुरानो पेसा लोप हुने अवस्थामा पुगेको सुनाए । गत असारमा पशुचौपाया लिएर लेक आएको भन्दै चिसो बढेकाले अब गाउँ झर्ने गुरुङको भनाइ छ ।

पातीहाल्ने क्षेत्रमा तीन जिल्लाका भेडा गोठाला आउने गरे पनि बागलुङको निसीखोला र रोल्पाली भेडा गोठाले असोजमै बेसी झरेका थिए । निसीखोला र रोल्पामा बेंसीमा पनि चरन क्षेत्र बढी हुँदा उनीहरु पहिले नै बेंसी झरेका हुन् । पूर्वी रुकुमका गोठाला भने पुरै झरिसकेका छैनन् ।

अहिले पातिहाल्ने क्षेत्रमा रहेका गोठालामध्ये जोरप्रसाद पुन पनि हुनुहुन्छ । पुनको यहाँ रहेको बथानमा करिब तीन सय भेडा छन् । उनले पनि भेडा पाल्न थालेको तीन दशक बढी भयो । गाउँका सबै पशुपालनमा आबद्ध भएको हुँदा उनी पनि ११ वर्षकै उमेरदेखि यो पेसामा लागेका थिए ।

भेडापालनले अहिलेसम्म गाउँका धेरैलाई विदेश जानबाट रोकेको पुन बताउँछन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बसेर भेडा पाल्ने किसानको न्यूनतम पनि एक सय ५० बढी भेडाबाख्रा हुने हुँदै उनीहरु बेचेर विदेश जान नसकेको उनको भनाइ छ । जता गएर जे पेसा अङ्गाले पनि जीवनयापन नै गर्ने भएको भन्दै गाउँमै परम्परादेखि गरिँदै आएको काम गरे पनि परिवार चलाउन सकिने पुनले बताए । आफू अहिलेसम्म कुनै पनि ठूलाठूला सहरमा नपुगेको उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गले भेडीगोठ जोडिएपछि ग्राहक बथानमै आएर भेडाबाख्रा किन्ने गरेको सत गुरुङले बताए । पहिलेपहिले आफूहरू बागलुङको निसीखोला, बुर्तिबाङ, हुँदै गुल्मीको रिडीसम्म पुग्ने गरेको सुनाउँदै अचेल भेडा बिक्रीका लागि टाढा जान नपर्ने उनको भनाइ छ । हरेक वर्ष गोठबाटै लाखौँको भेडाबाख्राको बिक्री हुने गुरुङले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : १७ बजे

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको