प्रवासीको भोट तान्न रवि लामिछानेको विदेश यात्रा | Khabarhub Khabarhub

प्रवासीको भोट तान्न रवि लामिछानेको विदेश यात्रा

विदेशमा बस्ने नेपालीले ०८४ को चुनावमा भोट दिन पाउँछन् : निर्वाचन आयोग



काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यो साता देश दौडाहापछि विदेश भ्रमणमा व्यस्त रहे । उनले विदेशमा रहेका शुभचिन्तक र समर्थक भेट्न भन्दै मलेसिया, कतार र बेलायतको भ्रमणमा छन् ।

लामिछाने मंसिर १६ गते शनिबार राति १० बजे मलेसिया उडेका थिए । मलेसियाबाट उनी २० गते फर्किएर मंसिर २१  गते कतार गएका छन् ।  कतारबाट २४ गते बेलायत जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । रवि मंसिर २८ गते नेपाल फर्कने छन् ।

मलेसियाको कार्यक्रममा लामिछानेसँग रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी,  सहकोषाध्यक्ष दीपक बोहोरा र सभापति लामिछानेकी श्रीमती निकिता पौडेल सहभागी थिए । कतारको भ्रमणमा लामिछाने, सहकोषाध्यक्ष दीपक बोहोरा र श्रीमती पौडेल सहभागी थिए ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालका अनुसार मलेसियाको कार्यक्रममा रविले विदेशमा रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेका थिए । अर्यालले खबरहबसँग भने, ‘विदेशमा रहेका नेपालीहरूले सभापतिज्यू भेट्न आउनुपर्छ भन्ने माग गरेका थिए ।’

त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए । उनीहरूबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवाको विषयमा छलफल भएको स्रोतले बतायो  । राजदूत पौडेलले सीमित स्रोत-साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भएको बताएका थिए ।

त्यसो त ०७९ को आमनिर्वाचन जितेपछि नै रविको बाहिर जाने तयारी थियो । तर, नागरिकताका विषयमा उत्पन्न विवादका कारण उनको विदेश भ्रमण रद्द भएको थियो । त्यसपछि चितवन २ मा भएको उपनिर्वाचनमा भाग लिनुपर्ने भएकाले उनी जान भ्याएका थिएनन् ।

विदेश भ्रमणको लक्ष सम्बन्धित देशमा भएका नेपालीको समस्या बुझ्ने र सरकारसम्म  पुर्‍याउने रहेको रास्वपा नेताहरू बताउँछन् ।

रविले मलेसिया पुगेर फेसबुक मार्फत विदेश भ्रमणबारे जानकारी दिँदै भनेका थिए, ‘सबैसँग भेट हुन पाएन, तर यहाँहरू सबैको मुद्दा बोकेर म हिँडेको छु । हिजो पनि तपाईँहरूको माया थियो, आज पनि उत्तिकै छ । यो तपाईंको विश्वास हो । जहाँ तपाईंको समस्या छ म त्यहाँ जहिले पनि हुन्छु ।’

विदेशमा रहेका नेपालीको भोट तान्ने दौड

विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुन बनाउनका लागि रास्वपाले निर्वाचन आयोगलाई दबाब दिइरहेको छ । रास्वपाले आफ्नो घोषणापत्रमा पनि यो विषय उठाएको छ । सभापति लामिछानेले २०८४ का लागि यो विषयलाई आफ्नो मिसन बनाएका छन् ।

रास्वपाका उपसभापति अर्याल भन्छन्, ‘कुनै पनि हालतमा २०८४ को निर्वाचनबाट विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्छाैं । यो हाम्रा लागि मात्र होइन, सबै दलका लागि खुसीको कुरा हो ।’

रास्वपाले आफ्नो पार्टीका आधा जति मान्छे र समर्थक विदेशमा भएको बताउँदै आएको छ । रास्वपाका  प्रवक्ता तथा महामन्त्री मुकुल ढकालका अनुसार रास्वपालाई माया गर्ने र यो पार्टी स्थापना गर्नका लागि ऊर्जा दिने युवा नेपाली जनशक्ति विदेशमै भएका कारण सभापतिलाई अगाडिबाटै विदेश पठाउने रास्वपाले तयारी गरेको थियो ।

रास्वपाका महामन्त्री ढकालले खबरहबसँग भने, ‘विदेशमा भएका सबै नेपालीको साथ हामीलाई छ । मलाई लाग्छ,  जति पनि विदेशमा नेपालीहरू हुनुहुन्छ, रास्वपा पार्टीलाई मन नपराउने कोही हुनुहुन्न । हाम्रो पार्टी नेपालीहरूको आशा र सम्भावनाको दियो हो । २०८४ सालमा त अझ हाम्रो पार्टी बहुमतका साथ देशको पहिलो शक्ति बन्ने पक्का छ । यही कुरालाई ख्याल गर्दै हामी अगाडि बढेका छौँ ।’

रास्वपाले २०८४ को निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने भाष्य बोल्दै आएको छ । सो पार्टीका नेता भन्छन्, ‘अहिले हामी पार्टी बलियो बनाउने मिसनमा छौँ । खाडी मुलुकमा भएका नेपालीहरूलाई हाम्रो पार्टीप्रति विशेष आशा छ । यो आशाको दियोलाई निभ्न दिइने छैन ।’

महामन्त्री ढकाल थप्छन्, ‘एक घर एक नेपाली विदेशिनुपर्ने बाध्यता छ । हामीले २०७९ को निर्वाचनमा पनि विदेशमा बस्ने नेपालीको साथ पाएका थियौँ । कतिपयले फोन गरेर भोट गर्न लगाउनुभयो, कतिपय त मतदानमा खटिन र मतदान गर्नसमेत आउनुभएको थियो ।’

रविले मलेसिया पुगेर फर्किएपछि पार्टीका नेताहरूलाई भ्रमणबारे रिपोर्टिङ गरेका थिए । रविको भनाइ उद्धृत गर्दै अर्यालले खबरहबलाई भने, ‘त्यहाँका नेपालीमा एकदमै ठूलो अपेक्षा र आशा रहेछ । हामीलाई पनि पनि भोट हाल्न पाउने हक दिनुपर्छ भन्नुभएको छ । हामीले गर्नुपर्ने काम धेरै रहेछ ।’

निर्वाचन आयोग भन्छ– विदेशमा बस्ने नेपालीले भोट दिन पाउँछन्

यसैबीच, निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरूले पनि मतदान गर्न पाउने बताएको छ । आयोगले यसका लागि गृहमन्त्रालयमा विधेयकको मस्यौदा पठाइसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो विषय संसदमा पेस नभई गृह मन्त्रालयमै थन्किरहेको छ । संसदमा पेस भएपछि यसमा छलफल हुने थपलिया बताउँछन् । २०८४को चुनावमा विदेशमा रहेका नेपालीले भोट दिन पाउने व्यवस्था गरिछाड्ने उनको भनाइ छ ।

२०८४को चुनावमा विदेशमा रहेका नेपालीले भोट दिन पाउने व्यवस्था गरिछाड्ने निर्वाचन आयोगको दाबी छ  

थपलिया खबरहबसँग भन्छन्, ‘अहिले छलफल भइरहेको छ । मेरो नेतृत्वमा रहेको निर्वाचन आयोगको टोलीले एक साता अगाडि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको प्रक्रिया अगाडि अघि बढाउनका लागि भनेको थियो । उहाँले प्रक्रिया अगाडि बढाइरहेको तर एक–दुईवटा विषयमा जटिलता रहेकाले कसरी मिलाउने भन्नेमा सरकार पक्ष र आयोगको टोली बसेर छलफल गरौँ भन्नुभएको छ । हामी छलफल गर्न तयार छौँ ।’

पहिले निर्वाचन आयोगसँग एक चरण छलफल गरेर मात्र विधेयकमाथि संसदमा छलफल हुने गृहमन्त्रीबाट आश्वासन प्राप्त भएको आयोगले जनाएको छ । थपलिया २०८४ को निर्वाचनमा विदेशमा रहेका नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुनु नपर्ने दाबी गर्छन् ।

यात्रा ‘कम्फर्टेबल’ बनाउन श्रीमतीको साथ

यसैवीच, पार्टीको कार्यक्रमका लागि विदेश भ्रमणमा जाँदा रविले श्रीमतीलाई समेत लगेको भन्दै सामाजिक सञ्जालमा कतिपयले आलोचना गरेका छन् । रविले पनि पुराना पार्टीमा जस्तै परिवारवादी व्यवहार देखाएको आलोचकहरुको तर्क छ ।

तर, यससम्बन्धी उठेको प्रश्नमा उपसभापति अर्यालले खबरहबसँग भने, ‘हामीलाई जानकारी छ । पार्टी निर्माण भएपछि उहाँ पहिलो पटक विदेश भ्रमणमा जानुभएको हो । सुरु–सुरुको समयमा मिलाउन कठिन भएकाले परिवारको सदस्य साथमा हुँदा कम्फर्टेबल हुन्छ भन्ने सल्लाह भयो । यसले निरन्तरता पाउँदैन । पब्लिकले गलत हो भन्ने सल्लाह दिनुभयो भने हामी सच्याएर जान्छौँ ।’

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  २ : १५ बजे

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी

हत्या आरोपमा तीन पक्राउ

बैतडी – पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको