भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो : मुख्यमन्त्री शाह « Khabarhub

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो : मुख्यमन्त्री शाह


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्नेमा जोड दिएका छन् ।

ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन ।’ कसैको दबाबमा नपरी सुशासन कायम गर्न निर्धक्क भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उहाँले ऐन, नियम, कानुनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने बताएका छन् । 

प्रदेश सरकारका निमित्त प्रमुख सचिव गंगाबहादुर खरेलले सबैले आफ्नो आचरणमा सुधार गरे भ्रष्टाचारका सवालमा कसैले औँला ठड्याउन नपाउने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरस्थित कार्यालयका प्रमुख आस्मान तामाङले भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा भएका कानुनी तथा संस्थागत व्यवस्था, अन्तर्राष्ट्रिय प्रतिबद्धता र नियन्त्रणका लागि भइरहेका प्रयासबारे स्पष्ट पारे ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख तामाङका अनुसार सुदूरपश्चिम प्रदेशमा अनियमितता एवं भ्रष्टाचार भएको भनी कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । 

कार्यालयमा गत वर्ष एक हजार दुई सय ७३ उजुरी परेकामा चालु वर्षको हालसम्ममा पाँच सय ८२ उजुरी परेका छन् । प्रदेशमा नौ सय ५३ मुद्दा छानविनका क्रममा रहेकामा सबैभन्दा बढी स्थानीय तहका छ सय पाँच मुद्दा छन् । यिमध्ये प्रदेश सरकार र संघीय सरकारका तीन सय ४८ उजुरी रहेकामा ७१ उजुरी प्रदेश सरकारसँग सम्बन्धित रहेका प्रमुख तामाङले जानकारी दिए ।

‘प्रदेश सरकारका मुद्दा छानविनका क्रममा छन्,  सबैभन्दा बढी उजुरी निर्माणसँग सम्बन्धित छन्’, उनले भने, ‘सार्वजनिक सेवा प्रवाह, क्षमता विकास, प्राकृतिक स्रोतसाधनको उत्खनन, समाजिक सुरक्षा भत्ता, सरकारले दिने गरेको अनुदान सम्बन्धी उजुरी पनि अत्यधिक छन् ।’

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ४ : ११ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने