दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज दिनभर राष्ट्रियसभा बैठकमा दुई विधेयक पारित, बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह, प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त, सरकारले ब्याजदर घटाउने उपाय खोजेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ, एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्तालगायत समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रियसभा बैठकमा दुई विधेयक पारित

राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।

यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन)विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताए । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिएका थिए ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८-७९ प्रतिवेदन प्रस्तुत गरे । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिनको १ बजेर एक मिनेटमा बस्नेछ ।

बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा संघीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । ‘काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, संघीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ’, उनले भने।

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उनले भने , ‘स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।’

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

उनी पत्रकार महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा अदालतले हस्तक्षेप गर्न नपाइने महराकाे भनाइ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् ।

सोमबार माओवादी घटकहरूले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन् । सङ्क्रमणकालीन न्यायलाई अघि बढाउदा वृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने भन्दै पुरानो कानूनद्वारा समाधान खोज्न नहुने बताए । महराले माओवादी घटकहरुबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै अन्य माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

सरकारले ब्याजदर घटाउने उपाय खोजेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु । हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’

अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको बताएका प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन् । आयात निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।’

अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने बताएका उनले घरजग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बोधन गर्न नसकिने भएकाले यसबारे चाँडै निर्णय पुग्ने बताए । ‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र बैंकमा कार्यरत कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।

सांसद श्रेष्ठले दुई करोड मागेको विषयमा छानबिन गर्न समिति गठनको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’

साथै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताए । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमालेले सोमबारबाट लागु हुने गरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्ट सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

विभिन्न माग राख्दै आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीच भएको वार्ता बिनानिष्कर्ष सकिएको छ ।

सोमबार गृहमन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणा राखेका थिए । असोज १ गते मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल र मिटरब्याज किसान संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिका बारे र कार्यान्वयनका विषयमा छलफल भएको र अहिलेको ६ बुँदे मागको विषयमा पनि छलफल भएको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिएका छन् ।

उनले गृहमन्त्रालयले आन्दोलन रोक्नका लागि सहमति मात्रै गर्ने गरेको र कार्यान्वयन तहमा निकै फितलो गरेको बताए । नवीनले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत मन्त्रपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपुर्तीको व्यवस्था गर्नुपर्ने आफूहरूको प्रमुख माग गरेको बताए ।

त्यस्तै मिटरब्याजसँग सम्बन्धित मुद्दाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्दाको पुनरावलोकन गर्नुपर्ने उनले जानकारी दिए ।

बिस्केट जात्रा आजबाट सुरु

आठ रात नौ दिनसम्म भव्यरूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ ।

बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ ।

थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको संख्या ४४४ पुगेको छ ।

१ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या बढ्दै गएको छ ।

बर्दिबासमा अतिक्रमित सडक खाली गर्न डोजर लिएर निस्के वडाध्यक्ष

महोत्तरीको बर्दिबास नगरपालिका वडा न.६ का वडाध्यक्ष पदम आले मगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् ।

वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०/१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०/१० फिट सडक अतिक्रमण गरेर टहरा बनाउने, पशुचौपाया बाँध्ने जस्ता क्रियाकलाप गरिएको थियो । त्यसलाई अहिले हटाउन थालिएको छ,’ वडा अध्यक्ष मगरले भने ।

सडक अतिक्रमण हुँदा सवारी दुर्घटना हुने गरेको थियो । वडा नम्बर ६ को हुलाकी सडक मानिएको हनुमानचोक जाने सडकमा पछिल्लो दुई वर्षमा ६ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुनाउनुको एउटै कारण ४० फिटको सडकमा दायाँबायाँ स्थानीयहरूले १०/१० फिट अतिक्रमण गर्नु नै रहेको स्थानीय श्यामवावु यादव बताउँछन् ।

जिल्लाभरि नै सडक अतिक्रमणको समस्या रहेका बेला वडा अध्यक्ष मगरले अतिक्रमित सडक खाली गर्न थालेका हुन् । एक महिनाअघि अतिक्रमण सडक खाली गर्न सात दिने सूचना निकालिएको थियो । तर, यसलाई बेवास्ता गरिएपछि वडा अध्यक्ष मगर आफैँ डोजर लिएर सडक खाली गराउन हिँडेका हुन् ।

विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाइट’ बन्द

बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् ।

विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाइट’ दिउँसो मात्रै देखिन थालेको दुई महिनाभन्दा नाघिसकेको छ । दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाइट’मा राति कुन गाडीले ठोकिदिने हो भन्न चिन्ता स्थानीयवासीमा छ । आठ वटा बत्ती भएको लाइट दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ ।

विगत डेढ वर्षदेखि केही लाइट बल्ने र केही नबल्ने अवस्थामा रहेकामा दुई महिनादेखि सबै बत्ती बल्न छाडेको छ । स्थानीयवासी देवीराम यादवले भने,’सुरुसुरुमा त राम्रै बल्थ्यो तर पछिपछि बिस्तारै एउटा एउटा गर्दै बत्ती निभ्न थाल्यो र अहिले त सबै बल्नै छाड्यो ।’

हाई माक्सका सबै बत्ती बल्न छाडेपछि विगत दुई महिनादेखि गाडीको आवाज सुनेर अँध्यारो सडक वारपार गर्न बाध्य भएको अर्का स्थानीयवासी चेतन गोडरियाले बताए । औद्योगिक कलकारखाना धेरै भएको उक्त वडामा ‘हाई माक्स लाइट’ ले दिएको उज्यालोले खुसी भएका स्थानीयवासी अहिले अँध्यारोमा हिँड्नुपर्दा दुःखी भएका छन् । उक्त लाइट बिग्रँदा राति सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेको गनापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईंले बताए ।

‘पहिला बत्ती हुँदा हामीलाई निकै सजिलो थियो । टाढा टाढासम्म सबै देखिन्थ्यो तर अहिले पूरै सडक साँझैदेखि अँध्यारो हुने गरेको छ’, । उनले भने,’यो औद्योगिक क्षेत्र भएकाले राति डियुटी सकेर घर फर्कने कामदारलाई बाटो काट्न निकै कठिन छ ।’ अपराधका घटना अँध्यारोमा धेरै हुने भएकाले ‘हाई माक्स लाइट’ बाल्न आफूले वडालाई दबाब दिएको पनि प्रहरी नायब निरीक्षक गोसाइँले बताए।

उक्त पालिकामा तीन वटा यस्ता लाइट रहेकामा गनापुर चोकमा रहेको लाइटको विगत दुई वर्षदेखि विद्युत् महसुल नबुझाएको र त्यसका लागि आफूले पालिकामा लिखित र मौखिक रूपमा पहल गरेको वडाध्यक्ष जगदीश हरिजङ्गले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ५९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट