आजभन्दा १२३ वर्ष अगाडि वि.सं. १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा प्रकाशन सुरु गरेको गोरखापत्रले भर्खरै १२३ औं वार्षिकोत्सव मनाएको छ । गोरखापत्र प्रकाशनसँगै सुरु भएको नेपालको पत्रकारिताको इतिहास १२३ वर्ष सानो समय होइन । गोरखापत्र प्रकाशनको मितिलाई नै आधार मानेर पत्रकारिता दिवस मनाउनसमेत थालिएको छ । १२३ वर्षको अवधिमा नेपालको पत्रकारिता क्षेत्र कुन ढंगबाट विकास भयो ? नेपालको पत्रकारिता क्षेत्रको आजको वास्तविक अवस्था के हो ? यस विषयमा आधारित भएर पत्रकारिता विषयका प्राध्यापक वरिष्ठ पत्रकार पी खरेलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
१२३ वर्षको इतिहास फर्केर हेर्दा र आजको पत्रकारिता कस्तो छ, तपाईंलाई के लाग्छ ?
नेपाली पत्रकारिताको खास इतिहास हेर्ने हो भने ७५ वर्ष पनि भएको छैन । ७२ वर्ष जति भएको छ । २००७ साल भन्दा अघि गोरखापत्र मात्र समाचार पत्र थियो । यो नेपालको पहिलो र आजसम्म सबै भन्दा पुरानो अखबार हो । नेपाली पत्रकारिताले २००७ सालदेखि मात्र फस्टाउने वातावरण बन्यो । गोरखापत्र प्रकाशन भएको हो तर पत्रकारिताकै सुरुवात त २००७ साललाई नै मान्नुपर्छ । गोरखापत्र पहिलो र ऐतिहासिक अखबार हो । नेपालमा गोरखापत्र प्रकाशन हुँदा भारतमा अखबार आएको १०० वर्ष भन्दा बढी समय भइसकेको थियो । १२–१५ वटा भाषामा दैनिक र साप्ताहिक आउन थालिसकेका थिए । त्यहाँ पहिलो अखबार नै बेलायतीले छापेका हुन् । तर उसको अखबारले सुरुदेखि नै दुःख पाएको हो । निजी क्षेत्रबाट चलाएकाले बीचमै बन्द भएका हुन् । जंगबहादुर राणा सन् १८५० मा बेलायत भ्रमण गर्दा अखबारबाट प्रभावित भए । त्यसपछि उनले प्रेसको अडर दिएर नेपालमा प्रेस ल्याएका हुन् । हाम्रो पत्रकारिताको जग गोरखापत्रले खनेको कुरालाई बिर्सनु हुँदैन । तर पत्रकारिताले फस्टाउने अवसर २००७ सालदेखि पाएको हो ।
व्यावसायिक पत्रकारिताको सुरुवात २००७ साल यता भयो, प्रकाशनको हिसाबले १९५८ मानौँ ?
व्यावसायिक भन्दा लामो व्याख्या हुन्छ । एउटा नियमितता छ, त्यहाँ समाचार आइटम छन् भने त्यसलाई व्यावसायिक भनिन्छ । एउटा व्यावसायिक भनेको आम्दानीले त्यसलाई धान्छ कि धान्दैन भन्ने हो । यो एक किसिमले व्यावसायिक नै हो ।
व्यावसायिक रूपमा गोरखापत्रको सन्दर्भ जोड्नु कत्तिको उचित हो ?
सुधा सागर इतिहासमा छैन । बढो बेजोड किसिमको अन्दाज कविता र निबन्ध मात्र थियो भन्ने छ । पत्रकारिताको परिभाषामा विदेशी डिस्कनेरीमा कविता लेखेर हुँदैन । गोरखापत्रपछि केही थिए । उद्योग जस्ता पत्रिका थिए । तर सबै राणा परिवारको नियमित चन्दाबाट चलेका थिए । विभिन्न पत्रकार, साप्ताहिकका सम्पादक भएर अन्य कार्यमा लागेका छन् । गोरखापत्र प्रकाशन भएकै दिन यो दिवस मनाउने विषयमा आपत्ति छैन । किनभने गोरखापत्र पहिलो हो । नेपाल पत्रकार महासंघका अध्यक्ष र पदाधिकारी अध्यक्ष, सम्पादक र सञ्चालक समिति सदस्य भएर गइरहेका छन् । धेरै जसो जे आयो त्यो सही हुन्छ भन्ने पछिल्लो पत्रकारमा विश्वास रहेको छ । तर त्यो सबै सत्य सही हुँदैन । आज प्रधानमन्त्रीले यो भ्रष्टाचार भन्यो भने समाचार आउँछ । तर प्रतिपक्षी दलका नेताले प्रधानमन्त्री भ्रष्टाचारी हुन भन्यो भने समाचार आउँदैन । तर पत्रकारिता यो होइन । दुवै पक्षका दाबीलाई गोरखापत्रले समाचारका रुपमा राख्नुपर्छ ।
हामी अहिले कस्तो खालको पत्रकारिताका निमित्त वकालत गरिरहेका छौँ ?
निष्पक्ष हुनुपर्छ तर नेपाली पत्रकारिताले २०४६ सालपछि ठूलो फड्को मारेको हो । २०६३ पछि त स्वच्छन्दता नै आएको हो कि भन्ने छ । टेलिभिजन धेरै मात्रामा रहेका छन् । तर त्यसको कुन रूपमा प्रयोग गर्ने र प्रयोग भएमा त्यसमा ध्यान दिनुपर्छ । पत्रकारले आफ्नो जिम्मेवारी सही रूपमा नै बहन गरेको हुन्छ ।
किन कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष हुन सकेन नेपालको पत्रकारिता ?
२०६३ पछि दर्जनौँ अखबारमा धेरै सुधार भएको छ । त्यो भन्दा अगाडि १० वटा पनि थिएनन् होला । अहिले दुई सय भन्दा बढी दैनिक छन् । संख्यात्मक हिसाबले बढेको छ । हो गुणात्मक हिसाबले कमी नै भएको छ । ठूला अखबारले बिट रिपोर्टर राखेका छन् । दुई सय बढी अखबार र सात सयदेखि हजार रेडियो र दुई चार सय टेलिभिजन भएको ठाउँमा व्यवसायिकता देखिएन । पत्रकारिताको तालिमको लागि विभिन्न योजना अपनाउने गरेको पाइन्छ । त्यसको नतिजा भने देखिएको छैन । पत्रकारले न्युनतम पारिश्रमिक पत्रकारले पाएका छैनन् । यो गलत अभ्यास हो ।
आफ्नै समस्या भन्न नसक्ने हामी कस्तो पत्रकारिता गर्दैर्छौ ?
१२ हजार पत्रकार छन् । पत्रकार महासंघका सदस्य र ठूला दलका पत्रकारसँग सम्बन्धी भातृ संगठन रहेका छन् । युनियन अनेक रहेका छन् । यहाँ २२ हजार पत्रकार रहेका छन् । त्यसलाई चेक नभएको छ । तलब पाउन दसैं, तिहार वा चाडपर्व कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।
पत्रकारमा लाइसेन्सको वितरण नभएको कारण नै नसुध्रिएको हो ?
एक पारिश्रमिक नै कम छ । तोकिएको पारिश्रमिक एउटा पिउन भन्दा कम छ । लाइसेन्स लिनुपर्छ भन्ने कुरा म मान्दिन । डाक्टरले लियो पत्रकारले लिनुपर्छ भनेर हुँदैन । सक्षम व्यक्तिलाई राखेर अगाडि बढाउन सक्नुपर्छ । नियमित रुपमा प्रकाश नभएका पत्रिकालाई प्रेस काउन्सिलले वर्गीकरण गरेको छ । यो हुनु हुँदैन । राष्ट्रिय प्रशारणको पहिलो पृष्ठमा १०–१२ वटा नगरपालिकाबाहेक अरूको सामग्री प्रकाशित भएका हुँदैनन् । समाचार आउँदा अलिकति विवाद जस्तो आएमा स्रोत नै खुलाएको हुँदैन । राष्ट्रिय पत्रिका हो भने विविधता हुनुपर्छ । सबैले पत्रकारिता गर्ने र त्यसलाई राज्यले सहयोग गर्नुपर्छ भन्ने होइन । राज्यले पारदर्शी ढंगले सुधार गर्ने हो । यसरी सुध्रिने होइन । पत्रकार महासंघको चुनावमा पनि दल निकटका पत्रकारले मात्र नेतृत्व पाएको देखिन्छ । यसको प्रभाव परेको देखिन्छ । सबैलाई पत्रकार भन्नु हुँदैन । पत्रकार नियमभित्र छ कि छैन हेर्नुपर्छ । नियमभित्र छैन भने प्रेस पास दिने कि नदिने भन्ने निर्णय गर्नुपर्छ । पहुँचको आधारमा नामै नसुनेका पत्रिकालाई विज्ञापन धेरै दिइएको देखिन्छ । यो हुनु हुँदैन । अहिले शरणार्थी काण्ठ चर्चामा छ । अहिले हराए भनेर मात्र खबर आएका छन् । कहाँ बस्थे, अहिले कति दिनदेखि उनी छैनन् भनेर समाचार लेख्न सक्नुपर्छ । यस्तो किसिमको पत्रकारिताबाट व्यवसायिकता आउँदैन ।
मूलधारको मिडियालाई प्रश्न, हामी सच्चिने कि सकिने अब ?
लगानी कर्ताहरूले लगानी बढाउनुपर्छ । प्रतिस्पर्धाबाट आउने नै हो । संसारको नियम नै यही हो। लगानी बढाएर पत्रकारलाई बढी ज्याला दिएर एकदम सक्षम बनाउने हो । सक्षम बनाउन मिडिया हाउसले लगानी गर्नुपर्छ । पत्रकारिताको धेरै ठूला मिडियामा एकरुपता छैन । उनीहरु एक आपसमा झुक्किएर समाचार आयो भने भोलि त्यो फेरि आउँदैन । दलका सदस्य विभिन्न ठाउँमा छन् । त्यसको लागि समाचार दिनैपर्ने स्थानमा स्तरमा ध्यान नदिएको अवस्था छ । त्यसले गर्दा विश्वसनीयता कम भयो । जसले यस्ता विषयमा ध्यान दिएर लगानी गर्यो भने सुधार हुन्छ । हिन्दी अर्थात बलिउडमा कोही कलाकार गर्भवती भए समाचार आउँछ । के हाम्रा कलाकारका बाबुआमा छैनन् ? हजुरबा हजुरआमा छैनन् ? किन समाचार आउँदैन ? हामीले हाम्रो पत्रकारिताको निर्मम समीक्षा गर्नुपर्छ । समाचार पनि बाहिरबाट नै आउने हुन्छ । यो हुनु हुँदैन । अब सुधारका लागि पत्रकारितामा दलको कार्यकर्ता बन्ने बाटो बन्द गर्नुपर्छ । यसरी अगाडि बढे म यसको स्वागत गर्छु । हर्षित हुन्छु । (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया