विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

आज असार २५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको उत्तर पश्चिममा भारी वर्षा, दिल्लीका सबै विद्यालय बन्द

उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा पानी पर्ने क्रम जारी रहेको छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल सरकारले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै दिल्लीमा विगत २ दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै सोमवार दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको बताए ।

दिल्लीमा जुलाईमा अहिलेसम्म १६४ मिलिमिटर वर्षा भइसकेको छ । अविरल वर्षाका कारण सहरका धेरै पार्क, अन्डरपास, बजार तथा अस्पताल परिसर जलमग्न भएका छन् भने सडक जाम भएका छन् ।

हावाहुरी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत र इन्टरनेट सेवा पनि प्रभावित भएका छन् ।

उता, दिल्ली एनसीआरमा भारी वर्षा भइरहेको छ। दिल्लीको छेउमा रहेको हरियाणाको गुरुग्राममा प्रशासनले कर्पोरेट र निजी क्षेत्रमा काम गर्ने मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिएको छ।

यसैगरी, दिल्लीसँगै उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै जुलाइ १० र ११ तारिखमा विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा

अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुगेका छन् ।

युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।

बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।

‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुगेका हुन् ।

बेलायतमा रहँदा उनले बेलायती राजा चाल्र्ससँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले सोमबारै बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्नेछन् ।

बाइडेन र बेलायती प्रधानमन्त्री सुनकबीच नेटो शिखर सम्मेलनमा युक्रेनलाई पनि समावेश गर्ने विषयमा छलफल हुने आँकलन छ ।

बाइडेनको बेलायत भ्रमणअघि प्रधानमन्त्री सुनकले बेलायत अमेरिकाको सबैभन्दा महत्वपूर्ण ब्यापार, रक्षा र कुटनीतिक साझेदार रहेको उल्लेख गदै बाइडेनको बेलायत भ्रमण निकै महत्वपूर्ण रहेको बताए ।

बेलायतबाट बाइडेन मंगलबार लिथुआनिया जानेछन् । फिनल्याण्ड नेटोमा आवद्ध भएपछि पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो ।

पाकिस्तानमा घर भत्किँदा ६ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको एक होटलमा आइतबार ग्यास सिलिन्डर विस्फोट भएर घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि तीन तले भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । चार–पाँच जना भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

पञ्जाब प्रान्तको झेलमको ग्रान्ड ट्रंक (जीटी) रोडमा रहेको तीन तले होटलको भान्साकोठामा सिलिन्डर विस्फोट भएपछि भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्।

न्यूज च्यानल जियोले झेलमका उपायुक्त समिउल्लाह फारुकलाई उद्धृत गर्दै सो घटनामा छ जनाको मृत्यु भएको र १० जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको पुष्टि गरेको छ।

झेलमका डिप्टी कमिश्नर समिउल्लाह फारुकले सम्पूर्ण भग्नावशेष हटाउने कार्य जारी रहने बताए । भग्नावशेष हटाउन भारी मेसिनको प्रयोग भइरहेको झेलम प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला सदरमुकाम अस्पतालमा आपतकालीन अवस्था लागू गरी सम्पूर्ण कर्मचारी र चिकित्सकलाई ड्युटीमा बोलाइएको छ । थप उपायुक्त (राजस्व) हसन तारिकले घाइतेहरूको उपचार भइरहेको झेलम जिल्ला सदरमुकाम अस्पतालमा सबै वरिष्ठ चिकित्सक र कर्मचारीहरू उपस्थित रहेको बताए ।

पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु

अविरल वर्षा र बाढीमा परी पाकिस्तानमा अहिलेसम्म कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको उल्लेख गरेको छ ।

हालसम्म मृत्यु हुने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।

भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।

गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।

उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन् ।

तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याइएको थियो, यसको अर्थ उनी सन् २०३७ सम्म सत्तामा रहन सक्ने छन् ।

पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ । मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गरेका छन्  र उनले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताएका छन् ।

उनले आफ्नो पुनः निर्वाचन अभियानलाई उज्बेकिस्तानको अर्थव्यवस्था र शिक्षामा केन्द्रित गरेका थिए।

उनले उज्बेकिस्तानको कपासखेतमा जबरजस्ती श्रम गर्ने प्रचलनको अन्त्य गर्नुभएको र करिमोभको चौथाई शताब्दीको शासनकालमा जेलमा रहेका राजनीतिक कैदीहरूलाई रिहा गरेका छन् ।

उज्बेकिस्तानका गैरसरकारी संस्थाहरूका अनुसार करिमोभको शासनकालमा भन्दा मानव अधिकार राम्रो छ तर अझै धेरै सुधार गर्न बाँकी छ । मिर्जियोयेभले पनि वास्तविक विरोधलाई बाहिर आउन दिने कुनै सङ्केत नदेखाएका अधिकारीहरूले बताएका छन् ।

बङ्गलादेशले भारतसँग भारुमै कारोबार गर्ने

बङ्गलादेशले भारतसँग भारतीय रुपैयाँ भारुमा कारोबार गर्ने भएको छ । अमेरिकी डलरमाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले भारतसँग भारुमा कारोबार गर्ने तयारी गरेको हो ।

सन् २०२२ मा बङ्गलादेशले आफ्नो विदेशी कारोबारको करिब ९० प्रतिशत अमेरिकी डलरमा गरेको थियो । यससँगै बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारूमा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ ।

भारतीय रिजर्भ बैंकले यसअघि नै बङ्गलादेशको सोनाली बैंक, इस्टर्न बैंक र स्टेट बैंक अफ इन्डिया (एसबीआई) लाई आफ्ना समकक्षीसँग नोस्ट्रो खाता खोल्न अनुमति दिइसकेको छ ।

नोस्ट्रो यस्तो खाता हो जुन एक बैंकले विदेशी बैंकमा देशको मुद्रा राख्छ । यो विदेशी मुद्रा समावेश विदेशी विनिमय र अन्तर्राष्ट्रिय व्यापार लेनदेन सुविधा गर्न प्रयोग गरिन्छ ।

द डेली स्टारका अनुसार यो नयाँ कदमले छिमेकी देशबाट उत्पादनको एक हिस्सा प्राप्त गर्न भारूमा ऋणपत्र लेटर अफ क्रेडिट खोल्नेछ र यसैले अमेरिकी डलरको प्रयोगलाई केही हदसम्म घटाउनेछ । एक वर्ष अघिको तुलनामा करिब ३० प्रतिशतले घटेको विदेशी मुद्रा सञ्चितिमा थप ह्रास आउन नदिन सरकारले अमेरिकी मुद्राको अभावका कारण आयात नियममा कडाइ गरेको छ ।

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् ।

केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो ।

रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । उनले तीनवटै देशका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपतिको यो भ्रमणलाई ‘नयाँ मोड’का रूपमा वर्णन गर्दै त्यसले अफ्रिकी राष्ट्रहरूसँग आर्थिक र व्यापारिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

इरानले हालैका महिनामा आफू एकाकी नरहेको सन्देश अन्तरराष्ट्रिय सुमदायलाई दिन तथा अमेरिकी नाकाबन्दी, आणविक सम्झौताको असफलतालगायत विषयको प्रभावबारे जानकारी दिने उद्देशयले कूटनीति गतिविधि बढाएको छ ।

शनिबार राष्ट्रपति राईसीले अल्जेरियाका विदेशमन्त्री अहमद अत्ताफलाई अल्जियर्ससँगको सम्बन्ध बढाउने सम्बन्धमा सघन संवाद गरेका थिए ।

गत सातादेखि इस्लामिक गणतन्त्र इरान रुस, चीन र भारत सम्मिलित साङ्घाई सहयोग सङ्गठनको सदस्य बनेको छ ।

गत मार्चमा इरानले चीनको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरबसँग सम्बन्ध पुनः स्थापित गर्न सहमत थियो । त्यसयता इरानले इजिप्ट र मोरक्कोलगायत अन्य देशहरूसँग पनि सम्बन्ध पुनः स्थापना गर्न खोजिरहेको छ ।

रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुखबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेट गरेका छन् । क्रेमलिनले यसको पुष्टि गरेको छ। हालै प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा डेढ दिनपछि दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयो ? त्यो भने खुल्न सकेको छैन् ।’

विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्। त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्सेवी लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन।

तर यो कदम वाग्नर समूहलाई नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको थियो। यस पछि प्रिगोजिनले एक विज्ञप्तिमा घोषणा गरे कि उनका लडाकुहरूले यो सम्झौता बहिष्कार गर्नेछन्।

वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफ्ना सेनाले रुसी विमानमा आक्रमण गरेको बताए । उनले दावी गरे कि रुसी विमानले आफ्नो सेनालाई रोक्न रकेट र बमले मस्कोतर्फ बढिरहेको थियो। उनले रुसी विमान खसाल्नु परेकोमा दुःख व्यक्त गरे ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ०० बजे

प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज

बलेवा – निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई

बनाइयो ‘आँसु बन्दुक’, रुवाउनेलाई हान्न सकिने

काठमाडाैं– अहिलेहाल सामाजिक सञ्जालमा एउटा अनौठो र भावनात्मक कथा भाइरल

जनकपुरले सय रन नबनाउँदै गुमायो ५ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफ्याएर खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

जापानको होन्डा र निसानबीच एकीकरणका लागि वार्ता

एजेन्सी- जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का

दुर्गा प्रसाईंका दुई रिट एकैदिन खारेज, अब हिरासतमै राखेर ऋण असुली

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई