नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा काठमाडौँमा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मेलनको उद्घाटन गर्ने छन् । भोलि उपसभामुख इन्दिरा रानामगरले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, सम्मेलनमा राज्यका उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद्, लब्दप्रतिष्ठित उद्यमी, युवा अभियन्तालगायतको व्यक्तित्वले विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन गर्ने छन् ।
बानेश्वरमा अवस्थित ग्लोवल कलेज अफ म्यानजमेन्टको सभा हलमा आयोजना गरिने उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको ‘ युवाका लागि हरित दक्षता ः दिगो भविष्यतर्फको यात्रा ‘ भनी नाराका साथ नेपाल युवा परिषदले सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा मुख्य गरी युवाको लागि दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनमा युवा र सुशासन गरी ६ वटा प्रमुख पक्षहरुमा विषयविज्ञहरुको प्रस्तुति तथा सहभागीहरूद्धारा अन्तरक्रिया र गहन छलफल गरिने छ ।
सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरु गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् ।
नेपाल युवा परिषदले सन् २०१५ देखि निरन्तर अविचलित देशभरका सक्रिय, होनहार तथा सचेष्ट युवाहरूलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न उपलब्धिमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।