पहिलेको झाडी अहिले कागती बगैँचामा परिणत « Khabarhub

पहिलेको झाडी अहिले कागती बगैँचामा परिणत


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

दाङ– पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका-३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् ।

गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । चौतिस वर्षीय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गरेका हुन् । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताए । विसं २०७४ मा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उनले जानकारी दिए ।

धनकुटास्थित वनस्पति उद्यानबाट उन्नत जातका सुन कागती-१ र सुन कागती-२ का तीन हजार बिरुवा खरिद गरी खेती थालेको बताउँदै चौधरीले अहिले बगैँचामा पाँच हजारको हाराहारीमा कागतीका बोट रहेका जानकारी दिए। गत वर्ष दुई क्विन्टल भन्दाबढी बिक्री गरेको जनाउँदै उनले यस वर्ष खडेरीका कारण फलेका कागती बढ्न नसके पनि उत्पादनमा भने कमी नभएको बताए ।

उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी रू एक सय ५० देखि दुई सयसम्ममा बिक्री गरिरहेको जानकारी दिए। जग्गा प्रयोग गरेबापत उनले वार्षिक रू दुई लाख भाडा तिरिरहेका छन् । खेती गर्न थालेको पाँच वर्ष भएको बताउँदै उनले राम्रो आम्दानी भइरहेको सुनाए । चौधरीका अनुसार यहाँ दुई जनाले पूर्ण र सात जनाले आंशिक रोजगारी पनि पाएका छन् । 

‘अहिले कागती बगैँचा फस्टाउँदै गएको छ । खेती गरेको जग्गा सरकारी जमिन हो । देउखुरीको प्राविधिक शिक्षालयको भवनमा बसेपछि जमिन प्राविधिक शिक्षालयलाई दिनुपर्ने भन्दै बगैँचा खाली गरिदिन भनिरहेका छन्’, उनले भने, ‘गरिरहेको व्यावसाय कहाँ लैजानु समस्या भएको छ ।’

‘बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बसे । अहिले क्याम्पसमा पढ्दै  परम्परागत खेतीको विकल्पका रुपमा कागती खेती सुरु गरेको हुँ’, चौधरीले भने, ‘सफल पनि भएको छु । यतिधेरै लगानी गरेर बगैँचा बनाइसके अब कहाँ गएर यो खेती गरुँ ?रु’ यस खेतीका लागि सुरुका वर्ष गढवा गाउँपालिकाले रू तीन लाख र कृषि ज्ञानमाला केन्द्र घोराहीले दुई लाख अनुदान उपलब्ध गराएको उनले बताए। 

उनको यस कागती बगैँचा यस क्षेत्रकै सबैभन्दा ठूलो रहेकाले के कसरी खेती गरिन्छ भन्ने जानकारी लिन, शैक्षिक अवलोकन गर्न विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधारण, कृषक तथा कृषि क्षेत्रका सरकारी व्यक्तित्वहरु आउने गरेका जानकारी दिए । नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ थियो ।

कृषि प्रधान हाम्रो देशमा कृषिका अत्यन्तै सम्भावना रहेका भन्दै उनले यही माटोमा मेहनत गरे मनग्य आम्दानी गर्नसकिने अनुभव सुनाए । यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र तारजाली लगाउने योजना रहेको चौधरीले बताए । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्रसमेत खोल्ने आफ्नो योजना रहेको उनले सुनाए ।

चौधरीले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकामा यसलाई राज्यले रोकेर आफ्नै देशमा आधुनिक आयमूलक काममा लगाउनुपर्ने सुझाव दिए । सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, कीटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए।

युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालनमा ल्याउने, तालिम, सीपमूलक कृषि कार्यक्रमलगायत रोजगारी केन्द्रित योजना उपलब्ध गराउन सके वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने चौधरीको भनाइ थियो ।

नारायणी रजौरे- रासस

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ५ : २४ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित