विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज साउन २५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन, ९० दिनभित्र निर्वाचन हुने

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शाहबाज सरिफको सल्लाहमा गएराति संसदको तल्लो सदन राष्ट्रिय सभा विघटन गरेका छन् । संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।

पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शाहबाजले राष्ट्रपति अल्वीलाई विघटनको सल्लाह पठाएका हुन् ।

राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शाहबाज सरिफ पदमा रहनेछन्।

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।

उत्तर कोरियाका राष्ट्रपतिबाट सेनाका शीर्ष जनरल बर्खास्त

उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेका छन् । जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको बर्खास्ती पछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका छन् ।

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रि लाई रक्षामन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर संकटकाल घोषणा

राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि संकटकाल घोषणा गरेका छन् ।

‘राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,’ राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भन्नुभएको छ ।

दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिकगिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएको हो । उनको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका उनको टाउकोमा तीन गोली प्रहार गरेको थियो ।

राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक हुन् ।

मलाई कारागारबाट मुक्त गर्नुहोस् : इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् ।

साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए । गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ ।

गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्‍याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी

बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायहरूलाई असर पुर्‍याएको बताएका छन् ।

उक्त समूह करिब ४०० स्टोरहरूबाट सञ्चालित साथै अन्य साना घरेलू सामानहरूको अतिरिक्त सरसफाइ र बगैँचासम्बन्धी उत्पादनहरूको अनलाइन बिक्री गर्दैआएको विल्कोले आफू कठिन मोडमा पुगेको जनाउँदै आफूलाई नयाँ प्रशासनको जिम्मा लगाएको हो ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत ज्याक्सनले आफ्नो वेबसाइटमा एक खुला पत्रमा भनेका छन् ‘हामी सबैले यो अविश्वसनीय व्यवसायलाई अक्षुण्ण राख्न कडा सङ्घर्ष गरेका छौं तर समय समाप्त भएको छ भनेर स्वीकार्नुपर्छ ।’

उनले प्रसङ्गलाई जोड्दै भने, ‘अब हामीले हाम्रो नियुक्त प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारीहरू सुरक्षित राख्नको लागी सबैभन्दा राम्रो गर्नु पर्दछ ।’

विल्कोले सन् १९३० मा स्थापना भएको संकटग्रस्त कम्पनीको प्रशासकको रूपमा प्राइस वाटरहाउस कूपर्सलाई नियुक्त गरेको थियो । प्राइस वाटर हाउस कुपर्स लण्डनमा केन्द्रिय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यवसायी फर्म हो ।

बंगलादेशमा विपदमा परेकाहरूको उद्धारका लागि सेना परिचालन

बंगलादेशमा भीषण वर्षापछिको विपद्जन्य घटनाबाट प्रभावितहरूको उद्धारका लागि सेना परिचालन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको राजधानी ढाकाबाट करिव २ सय ४० किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिक परिचालन गरिएको हो ।

चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमबारदेखि भएको वर्षापछिको विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ ।

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ ।

वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ ।

पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन भारत तत्पर

भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ ।

हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि त्यसको जवाफमा भारतले हिंसामुक्त वातावरण निर्माणमा जोड दिएको हो ।

भारतको विदेश मन्त्रालय (एमईए)का प्रवक्ता अरिन्दम बागचीले भारत पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध चाहन्छ तर त्यस्तो सम्बन्धका लागि आतङ्कवाद र हिंसामुक्त वातावरण बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबारे हामी जानकार छौँ यससम्बन्धमा भारतको स्पष्ट र सुसङ्गत अडान सबैलाई अवगत छ– हामी पाकिस्तानसहित हाम्रा सबै छिमेकी देशसँग सामान्य सम्बन्ध कायम गर्न चाहन्छौँ तर त्यसका लागि आतङ्क र शत्रुतामुक्त वातावरण अपरिहार्य छ ।’

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै दुई देशबीचको तनावपूर्ण सम्बन्धको इतिहास भए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रले झेल्नुपरेको आर्थिक कठिनाइलगायत समस्या सामना गर्न भारतसँगको वार्तालाई जोड दिएका हुन्। गरिबी, बेरोजगारी, वित्त, शिक्षा, स्वास्थ्य र जनकल्याणका निम्ति आवश्यक स्रोतको अभावमा छिमेकीसँग सधैँ वैरभावका साथ बस्ननहुने निष्कर्षका साथ उनले वार्ता गर्न आफू नेतृत्वको सरकार तत्पर रहेको बताएका हुन् ।

‘हाम्रा छिमेकीहरूसँग हामी वार्ता गर्न तयार छौँ, यदि छिमेकी गम्भीर विषयमा टेबलमा बस्न राजी भएमा त्यो असम्भव छैन । पाकिस्तान एक आणविक शक्ति हो यसलाई हामीले आक्रमणका लागि नभई आफ्नो रक्षाका लागि विकास गरेका हौँ,’ बितेका ७५ वर्षमा तीनवटा युद्ध लडेको देशका प्रधानमन्त्रीले भारतसँग सबै समस्याको समाधान छलफल र संवादका माध्यमबाट खोज्नुपर्ने उल्लेख गर्दै भने ।

आणविक होडबाजीको सट्टा आर्थिक प्रतिस्पर्धा गर्नु दुवै देशका निम्ति श्रेयस्कर हुने तर्क गर्दै प्रधानमन्त्री सरिफले आपसी चासो र विवादका विषयको निरुपण शान्तिपूर्ण छलफलबाट नगरेसम्म दुवै देश सामान्य छिमेकी हुन नसक्ने उनले बताए। यसअघि पनि पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग वार्ता गर्न आफ्नो सरकार इच्छुक रहेको जनउँदै ‘कसैका विरुद्धमा कोही’ नभएको बताएका थिए ।

पाकिस्तानको स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध कहिल्यै पनि सामान्य हुन सकेको छैन । भारतले पाकिस्तानमाथि सँधै सीमापार आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आतङ्कवादका बीचमा वार्तालाई निरन्तरता दिन नसकिने अडान दोहोर्‍याउँदै आएको छ ।

सन् २०१९ को अगस्ट ४ मा जम्मूकश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई ९जम्मुकश्मिर र लद्दाख० दुई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयको विरोधमा इमरान खान नेतृत्वको सरकारले पाकिस्तानका लागि भारतका राजदूतलाई निष्कासन गरेको थियो । उक्त कारबाहीसँगै द्विपक्षीय व्यापार पनि अवरुद्ध भएको छ ।

हवाई टापुको जंगलमा डढेलो, छत्तीस जनाको मृत्यु
हवाई टापुको माउई जंगलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ ।

एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन भने भाडा पनि घटाएका छन् ।

तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ । आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए ।

राष्ट्रपति जो बाइडेनले संघीय सरकारसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् ।

डुंगा दुर्घटनामा एकचालीस जनाको मृत्यु भएको आशंका

भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुंगा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै बताएअनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल मौसममा उनीहरू सवार धातुको डुङ्गा डुबेको शरणार्थी, बालबालिका र आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानीजहाजमार्फत उद्धार गरेर बुधबार इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो । लाम्पेडुसामा आप्रवासीलाई मानवीय सहयोग गर्दै आएको इटालीको रेडक्रसले उद्धार गरिएका चारैजनाको स्वास्थ्य सामान्य रहेको बताएको छ । उनीहरू आइभरी कोस्ट र गिनीबाट आएका थिए ।

ट्युनिसियाको स्फ्याक्सस्थित सरकारी वकिलको कार्यालयले आप्रवासीहरूलाई अवैध रूपमा समुद्री सीमा पार गर्न सघाउनेका बारेमा अनुसन्धान सुरु गरिरहेको बताएको छ । यसअघि सोही कार्यालयलका अधिकारीहरूले सोमबार ट्युनिसिया र पश्चिमी सहाराको तटमा १६ जना आप्रवासीको मृत्यु भएको बताएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ७ : ५९ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन