विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

युक्रेनले प्रतिरक्षा खर्च बढाउने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । उनले प्रतिरक्षा खर्च बढाउने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले जनाएको छ ।

उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको निर्णयलाई प्रभावकारी बनाएको राष्ट्रपतिको आदेशमा अर्को वर्ष युक्रेनको प्रतिरक्षा खर्च १६ खर्ब ९० अर्ब रिभ्निया (करिब ४६ अर्ब अमेरिकी डलर) भन्दा कम नहुने उल्लेख गरेको छ ।

राष्ट्रपतिको उक्त आदेशले वर्तमान सैन्य–राजनीतिक परिस्थितिका आधारमा सन् २०२४ को मस्यौदा बजेटमा प्रतिरक्षा क्षेत्रलाई महत्व दिएर विनियोजन गर्न निर्देशन दिएको छ ।

युक्रेनको सन् २०२३ को बजेटले प्रतिरक्षामा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १८ दशमलव दुई प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब रिभ्निया (करिब ३१ अर्ब अमेरिकी डलर) खर्च गर्ने परिकल्पना गरेको छ ।

जर्मन अर्थतन्त्र गहिरो मन्दीतर्फ : आईएमएफ

जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ ।

उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ । उसले जुलाईमा शून्य दशमलव तीन प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस वर्ष जी–७ का धनी सदस्यमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने अद्यावधिक गरिएको प्रक्षेपणले पुष्टि गरेको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार–साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ ।

सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीले यस वर्षको दोस्रो छ महिनामा अर्को ‘थोरै आर्थिक सङ्कुचन’ तिर गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

आईएमएपफले जर्मनीको अर्थतन्त्र सन् २०२४ मा सुधारको दिशामा जाने तर जुलाईको एक दशमलव तीन प्रतिशतको वृद्धिबाट शून्य दशमलव नौ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा पनि अवरोध देखिने छ । आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजानको अर्थतन्त्र थोरै घटाएर शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

घुस लिएको आरोपमा चीनमा खेलकुद क्षेत्रका एक जना पूर्वप्रमुखलाई पक्राउ गर्न आदेश

खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राहेका बेला चीनमा भ्रष्टाचारको आरोपमा खेलकुद क्षेत्रका एक जना पूर्वअधिकारीलाई पक्राउ गर्न आदेश दिइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिने प्रयास गरेका छन् । इमान्दार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन राष्ट्रपति सीलाई अनुमति दिने आलोचकहरूले बताएका छन् ।

“चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट (एसपीपी) ले घुस लिएको आशङ्कामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ”, सरकारी समाचार समिति सिन्ह्वाले उल्लेख गरेको छ, “उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीहरूलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो ।”

यसअघि शनिबार सिन्ह्वाले डुले गैरकानूनी रूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो । सीसीपीले उनलाई निष्कासन गर्नुका साथै उनको अवैध सम्पत्तिसमेत जफत गर्नेछ । यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो सङ्ख्यामा डुको नाम पनि समावेश थियो । उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन् ।

उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ । गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो ।

रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी

युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।

समग्रमा मस्कोले क्रिमिया प्रायद्वीपबाट इरान निर्मित ३६ वटा ड्रोन हमला गरेको युक्रेनी सेनाले जनाएको छ । सन् २०१४ मा युक्रेनी भूभाग क्रिमियालाई रुसले आफूमा गाभेको थियो । अन्य नौ ड्रोनले कुन लक्ष्यमा हमला गरेको थियो भन्नेबारे सेनाले केही बताएको छैन ।

माइकोलाइभका गभर्नर भितालिए किमले आफ्नो क्षेत्रमा एउटा ड्रोन ध्वस्त भएको टेलिग्रामलाई जानकारी दिए । गत जुलाईमा कृष्ण सागरमार्फत खाद्यान्न ढुवानीका लागि सुरक्षित मार्गको अनुमति दिने सम्झौताबाट युक्रेन बाहिरिएपछि रुसले दक्षिणी युक्रेनका बन्दरगाहरूमा आक्रमणलाई बढाएको छ ।

किभले युक्रेनी ऊर्जा पूर्वाधारहरूमा मस्कोले हवाई आक्रमणको अभियान पुनः सुरु गरेको चेतावनी दिएको छ । गत सेप्टेम्बरको एउटै महिनामा मस्कोले पाँच सयभन्दा बढी साहेद ड्रोन हमला गरेको युक्रेनी परामर्श समूह डिफेन्स एक्सप्रेसले जनाएको छ ।

इजरायल–हमास युद्धमा १५ सय बढीको मृत्यु

इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् ।

युद्धका क्रममा ९ सय इजरायली मारिएका छन् भने ६८० प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । लडाकु समूहले इजरायली सेनाका अधिकारीहरूसहित एकसय भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।

सो समूहले इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा बन्धक बनाइएका सबैलाई मारिदिने चेतावनी पनि दिएको छ ।

इजरायलले भने युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र केहीलाई बन्धक बनाएको जानकारी गराएका छन् ।

इजरायल–हमास युद्धमा मारिने विदेशीको संख्या ४८

इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको युद्ध जारी छ । गत शनिबार अचानक हमास समूहले इजरायाली भूमिमा एक्कासि आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

जारी युद्धमा दुवैतर्फ गरी अहिलेसम्म १५ सय भन्दा बढी मानिस मारिएका छन् । दुवैतर्फको चेतावनीलाई मध्यनजर गर्दा यो युद्ध कहिले अन्त्य हुन्छ भन्ने अवस्था छैन ।

इजरायलले हमासले सुरु गरेको युद्धको अन्त्य आफूले गर्ने बताइ रहँदा हमासले भने इजरायलले गाजामा थप आक्रमण गरे आफूले बन्धक बनाएका इजरायली अधिकारीसहित सबैको हत्या गर्ने चेतावनी दिइसकेको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार उक्त युद्धमा अहिलेसम्म ४८ जना विदेशी नागरिक मारिएका छन् भने ८० जना बेपत्ता छन् ।

अहिलेसम्म थाइल्याण्डका १२, अमेरिकाका ११, नेपालका १०, अर्जेन्टिनाका ७, युक्रेनका २, फ्रान्सका २ जनाको मृत्यु भएको छ । यस्तै, रुस, बेलायत, क्यानडा, कम्बोडियाका एकएक जना मारिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ०० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने