स्वदेश बिझायो, विदेश तिर्खायो | Khabarhub Khabarhub

स्वदेश बिझायो, विदेश तिर्खायो

तुलना गरेर दुखी हुने काम बन्द गरौं



एउटा काग आफूलाई संसारका सर्वाधिक हिरो ठान्दो रहेछ। घुम्दै जाँदा एकदिन हिउँजस्तो सुकिलो बकुल्लासँग जम्काभेट भएपछि उसको घमण्डको पारो झरेर शून्यमा पुगेछ। बकुल्लाको सौन्दर्यमा लठठ् पर्दै जिज्ञासा राखेछ, ‘म आफूलाई संसारको हिरो ठान्थेँ तर तिमी देखेपछि फिका सम्झिन थालेको छु। तिम्रो जीवन कति सुन्दर होला। तिमी कति सुखी र खुसी हौला है।’ कागको बखान सुनेपछि बकुल्लाले चिसो सास फेर्दै भनेछ, ‘दुई पाटे सुगा नदेखुन्जेल त मलाई नि त्यस्तै लाग्थ्यो तर उसँग भेटेपछि मैले मेरो सौन्दर्य नै बिर्सिएँ। हिरो हुँ भन्ने भ्रम टुट्यो। सुगाको सौन्दर्य पो सौन्दर्य।’

कागले भेटाइदिन हुटहुटी लगाएपछि काग र बकुल्ला सुगाको अगाडि पुगेर प्रशंसाको बाँध बाँध्न थालेछन्। प्रशंसाबाट फुल्नु साटो सुगाले आफू पिँजडाको बन्दी भएकोमा दुखेसो गर्दै बरु सच्चा सौन्दर्य हेर्न आपूmसँगै हिँड्न आग्रह गर्दै चिडियाखाना लगेर मयूरसँग भेट गराइदिन्छ। मयूरको नौरंगी इन्द्रेणी छट्टाले भरिपूर्ण कायाकल्प देखेर काग र बकुल्ला तीन चित खाएछन्। उनीहरुलाई लागेछ, ‘यस्तो सौन्दर्यको खानीसँग त जे चितायो, त्यही पाउने सामथ्र्य हुँदो हो। स्वर्गको भोगले जीवन घेरिएको होला।’ यही सोचेर काग र बकुल्लाले मयूरको बखान थालेछन्।

जतिसुकै आकर्षक भए पनि कागजको फूलमा भँमरा आएर बस्दैन। स्वतन्त्रताविनाको स्वाधीनताको कुनै अर्थ छैन्। जुन कुरालाई हिउँ ठान्छौ, फगत त्यो कपासको उरुङ सावित हुनेछ। त्यसैले तुलना गरेर दुखी हुने काम अहिले बन्द गरौं।

बखानबाट झन् उद्वेलित मयूरले आँसु झार्दै भनेछ, ‘यही सौन्दर्यका कारण आज म चिडियाखानाको चार दिवारभित्र कैद भएको छु। न रोजेर खान पाउँछु , न चाहेको ठाउँ जान सक्छु। सौन्दर्यले मलाई जिन्दगीभर बन्धक बनाएको छ। कतिबेला कसले वाण तेस्र्याउँछ पत्तो हुँदैन। कालो भएर के भो ? तिमी सधैं स्वतन्त्र छौ। आफ्नो मर्जीको जीवन बाँचेका छौ। यदि अर्को जन्म हुने भए म पनि काग भएर जन्मिन पाउँ।’ मयूरको अनुभव सुनेपछि अरु पन्छीमा खनिएको राम्रो हुने भूतसवार एकाएक हराएछ।

विश्वका उत्कृष्ट पारिलो घाम लाग्ने दश स्थान छान्दा नेपाल अग्रस्थानमा पर्छ। संसारका समृद्ध मुलुक मानिने युरोप अमेरिकामा रोपिएका विरुवाले पाँच दशकको आयुमा लिएको उचाई यहाँको उत्कृष्ट हावापानीका कारण ती वनस्पतिले एक दशकमै प्राप्त गर्न सक्छन्। छोटो दुरीमा हिमाल, पहाडको चिसो र तराईको तातोभित्रको मौसमीय अलौकिक संयोजनको सुयोग यो धरालाई प्राप्त छ। नेपाली समाजको मनोविज्ञान हेर्नुस- जहाँ सलादजस्तो सबैको अस्तित्व देखिने र सुपजस्तो दर्जनौ खानेकुराको रस मिसिएको एकमुष्ट सुस्वादिलो मिष्ठान्न पाउन सकिन्छ।

स्वनामधन्य लेखनाथ पौड्याल, टोनी हागन, हर्क गुरुङ, डोरबहादुर विष्ट, सत्यमोहन जोशी, माधव घिमिरेका कृतिहरु हेर्नुस, पढ्नुस, छाम्नुस अनि आँखा चिम्लदै सत्य चिहाएर आफ्नो मुटुलाई सोध्नुस् त मुटुको धड्कनले भन्नेछ-‘सौन्दर्यको जिजिविषामा भड्किएका काग र तिमीहरु उस्तै हौ। मयूरको नौरंगी आभूषणलाई सत्य ठानेर भड्किने काम बन्द गर। बाहिरको आवरण र भित्रको सत्यमा आकास जमिनको फरक छ। जतिसुकै आकर्षक भएपनि कागजको फूलमा भँमरा आएर बस्दैन। स्वतन्त्रताविनाको स्वाधीनताको कुनै अर्थ छैन्। जुन कुरालाई हिउँ ठान्छौ, फगत त्यो कपासको उरुङ सावित हुनेछ। त्यसैले तुलना गरेर दुखी हुने काम अहिले बन्द गर नेपाली आत्माहरु।’

करोडको गाडी चढेर सडकमा केराको बोक्रा फालेर सरकारविरुद्ध फलाक्नेहरु ठूलो पिलेन चढेर अर्को माटो टेक्नासाथ चकलेट खाएको खोल आफ्नो गोजीमा विसर्जन गर्ने नेपालीलाई असभ्य कसरी भन्न मिल्छ ?

नेपालका लागि संसारमा चलेका कुनै शासकीय मोडलको नक्कल जरुरी छैन्। डेढ दशक काटमारमा फसेको मुलुक शान्तिको यात्रासँगै पूर्ववत अवस्थामा फर्कियो। समाजको हार्दिक सामीप्य सही सलामत रह्यो। घटनालाई नमिठो सपना ठानेर दुवै पक्षले क्षमादान दिए। आफूले गरेको उत्कृष्ट फसल बीउका लागि जुगाड गर्ने दूरदर्शी चरित्रका कारण नेपालमा भोकमरी नामको पदार्थ न हिजो थियो, न आज छ न त भोलि नै रहने छ। नाता लगाएर फरासिलो भएर बोल्ने संस्कृति संसारका सायदै ठाउँमा पाइन्छ। दुःख लुकाउने अद्भूत कला नेपालीसँग मात्र छ। अमेरिकामा बाहिर हेर्दा चरम स्वतन्त्रता देखिन्छ तर अलि जोडले हाछ्यूँ गर्नुभयो भने घर पुग्दा कम्प्युटरमा राज्यले खोटा हानिसकेको हुन्छ। हर्जनाको रकम बुझाउँदा घण्टे कपतानीको घनचक्करले तोरीफूल देख्ने नेपालीहरुको संख्या गनी साध्य छैन्। चक्रव्यूहको चपेटामा फसेका उनीहरुले हाँस्न बिर्सिसकेका हुन्छन्। हाँस्नेहरुप्रति उनीहरुको कटाक्ष फेसबुकमै हेरे प्रष्ट हुन्छ। सबैथोक पाएर पनि केही नपाएको एकांकी जीवन उनीहरुका लागि उपहार हुनपुग्छ।

सडकमा थुकेको हर्जना समेत न्यूनतम पाँच सय रियाल तिराउने खाडीको कुरै नगरौं। विश्वको सुन्दरमाथि अति सुन्दर देश सिंगापुरमा गएर थोरै गल्ती गर्नुस, प्रहरीले जहाजको सिटसम्म कोर्रा हान्दै स्वदेश फर्काउँछ।

युरोप, एशियाका समृद्ध देशमा समेत नेपालमा जस्तो जनता हिरो भएको दृश्य कतै देख्न दुर्लभ छ। लाग्न सक्छ- जनताभन्दा त नेता दशकौंदेखि हिरो छन् नि। हो, जनताले पुल्पुल्याएपछि देखिएको दृश्य हो त्यो। अरुको सौन्दर्यमा रमाउने हामी मुलुकका तीनवटा कार्यकारी पद महिलाले पाएको विश्व इतिहासको दुर्लभ दृश्य बाहिरी संसारमा लानै सकेनौं। एउटै पिताका तीन सन्तान सरकारको कार्यकारी प्रमुख भएको अरु कुन देशको इतिहासमा छ ? अमेरिकी राजनीतिमा अत्यन्त शक्तिशाली मानिने विदेश मन्त्रालय समेत सम्हालेकी हिलारी क्लिन्टन विश्वका करोडौं करोड शुभेच्छुको शुभेच्छाका बाबजुद हार्न पुगिन। जबकी कुर्सी नहुँदा पनि विश्वमै सर्वाधिक लोकप्रिय नेता बिल क्लिन्टन उनका सहकर्मी, सहधर्मी दुवै भएर पनि त्यो ताज हात पर्न सकेनन्।

छिमेकी उत्तरतिरका जनता कामबाहेक अरु चिन्दैनन्। राज्यले दिएको सर्वसुलभ सुविधा पनि त्यही नै हो। दक्षिणको छिमेकी देश नभएर महादेश हो। त्यहाँका शासकले आफ्नै देशको शासकीय बागडोर सम्हाल्न सकेको इतिहास छैन्। एकातिरका किसान समृद्ध देश बोक्ने हिम्मत गर्छन् अर्कातिर त्यही देशका किसान सरकारको ऋण तिर्न नसक्दा आत्महत्या गर्छन्। जापान, कोरिया, थाइल्याण्ड समृद्ध बनेका मुलुकको आँखीझ्याल चिहाउनुस त, त्यहाँ कामको विकल्प काम बाहेक केही हुन्न। देशको हित हेर्दाहेर्दै आफूलाई बिर्सिंदा जन्मदर घटेर देश धान्नसमेत कठिन हुने अवस्थामा पुगेका छन्।

इण्डियन आइडलमा मेनुका पौडेलले प्राप्त गरेको अलौकिक सफलताले कसैको मनमा उन्माद छर्दैन। किनकी हामीलाई नाम हैन बद्नाम प्यारो लाग्न थालेको छ।

हामी चिप्लिएका जरुर हौं तर लडेका हैनौं। जुन बेला संसार टुकी युगमा थियो, त्यसबेला हामीले बिजुली बाल्यौं। शासककै नाममा किन नहोस, सिंचाइका लागि चन्द्रनहर बने। विश्व ढुंगेयुगमा हुँदा गेहेन्द्रशम्शेरले मेसिन गन बनाए। काठमाडौंका मानवबस्तीभित्र बिजुली, टेलिफोन र केबुलका कालातारले एक्काइसौं शताब्दीको मानव सभ्यतामाथि धावा बोल्दा दशकौंअघि दरवारमार्ग, सिंहदरवार र न्यूरोडको भूमिगत वाइरिङले बताउँछ- हामीले नजानेर यस्तो अव्यवस्था कहाँ गरेको हो रहेछ र ? करोडको गाडी चढेर सडकमा गौरवकासाथ केराको बोक्रा फालेर सरकारविरुद्ध फलाक्नेहरु ठूलो पिलेन चढेर अर्को माटो टेक्नासाथ चकलेट खाएको खोल आफ्नो गोजीमा विसर्जन गर्ने नेपालीलाई असभ्य कसरी भन्न मिल्छ ?

यहाँ गरिएका यावत हेलचेक्र्याइँ लाटो छोराले बाउ घुक्र्याएजस्तै हो। सेना, पुलिस, निजामती, विश्वविद्यालयको उच्च जागिर त्यागेर बेलायत, अमेरिका छिर्नेहरुका समाचारले पोत्ने जति सबै ठाउँमा दृष्टिकोण अनुसारका राय बझाउँछौं। तर दुखसुख जे भएपनि आफ्नै धर्तीमा पाखुरी बजाएर खाइन्छ भन्दै विदेशको आकर्षक अवसर त्यागेर नेपाल फर्कनेहरु पनि उत्तिक्कै छन्। तर हामी तिनीहरुलाई मूर्ख ठानेर मान्छेको सम्मान दिन डराउँछौं।

१ अर्ब ४० करोड जनसंख्या भएको भारत भूमिबाट समर्पण लामाले सर्वोत्कृष्ट डान्सरको ताज जितेर ल्याएको धेरै नेपालीलाई पत्तै छैन। इण्डियन आइडलमा मेनुका पौडेलले प्राप्त गरेको अलौकिक सफलताले कसैको मनमा उन्माद छर्दैन। किनकी हामीलाई नाम हैन बद्नाम प्यारो लाग्न थालेको छ।

जन्मदिने आमाभन्दा कर्म दिने आन्टीप्रति श्रद्धा छ। यदि विदेशीलाई मान्ने हो भने १४ हजार किलोमिटर पैदल यात्रा गरेर आफ्नो देशको भौगोलिक चिनारी हातमा राखिदिने टोनी हागनको त्यो विराट गुनप्रति खोइ हामी कृतज्ञ भएको ? नेपालका कुन भूवेत्ता वा राजनेताले त्यो काम गरेका छन् ? देश विकासको अकाट्य मोडल दिने डा. हर्क गुरुङलाई भन्न पनि लाज हुने मत दिएर पराजित गर्ने त नेपाली मतदाता नै त हुन नि। डोरबहादुर विष्टले अहोरात्र भीरपाखा पहरा डुलेर नेपाली समाजको हुबहु परिचयको खाका दिए। तर हामीले समाजमा विभाजनको रेखा कोरेर डोरबहादुरको सामाजिक सेतूको डोरी मुसा बनेर काट्यौं। भएका मान्यता किलो जरो उखेल्ने अनि नयाँ मान्यता स्थापित गर्न नसक्ने अचम्मको रोगले घरबार गरेको छ।

कठ्याङ्ग्रिदो जाडोमा कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाएर आफू एयरकन्डिसनमा रमाउने राजनीतिक बेइमानीको एन्टीभाइरस पत्ता नलगाएसम्म एक-एक दुई नभएर एघार बन्ने चटकी खेल कहिल्यै रोकिँदैन।

नेपालमा वर्षेनी अरबौंका सवारी साधन किनबेच हुन्छन्। यहाँका सडकमा कुदाइने मोटरसाइकलको लोकप्रिय मोडल भारतमा डिजाइन गर्ने काम नेपाली कामदारले नै गरेका छन् तर एउटा मोटरसाइकलको ‘प्लान्ट’ नेपालमा स्थापना गर्ने चेत न उद्योगीमा छ, न योजना बनाउनेहरुमा। रामदेवले नेपालमै जन्मिएका बालकृष्णलाई शिखण्डी बनाएर नेपालका जडिबुटी भारत लाँदैछन्। उतैको गोमुत्रको जालसाँजीमा परेर यता गाई मास्न उद्यतहरुलाई कृषिक्रान्तिका नायक बनाएर अविर जात्रा गर्ने काम हुन्छ।

प्रसंग सनयात्सेनकालीन चीनको। दुईजना बाख्रा गोठाला रहेछन्। एउटा अत्यन्त पढन्ते अर्को चाहिँ जुवाडे। जब बाख्रा चरनमा पुगे, उनीहरु स्वभावअनुसार एउटा जुवा र अर्को पढाइमा व्यस्त भए। दुवैका बाख्रा बालीमा पसेर सखाप पारेछन्। बालीधनीले अर्मलको माग गर्दै बाख्रा कब्जामा लिएछ। जुवाडे त जुवाडे भो उसलाई दण्डित गर्ने सहमति भयो। तर पढन्तेलाई के गर्ने भन्नेमा राय बाझ्यो। अन्तिम निर्णयका लागि ती दुवैलाई सनयात्सेन अगाडि हाजिर गराइयो। घटनाको सम्पूर्ण विवरण सुनेपछि सनयात्सेनले फैसला सुनाए- ‘यी दुवै समान दण्डका भागी हुन्। जसरी जुवाडे जुवा नारेर कर्तव्यमा च्युत देखियो, त्यसरी नै पढन्ते पनि पढाइका नाममा आफ्नो मूल कर्मबाट चुकेको देखिन्छ। प्रकृति मात्र फरक हो तर दुवै फटाहा हुन्।’

नेपाल किन हरेक सम्भावनाका बाटाबाट ओरालो लाग्यो ? यसको उत्तर पनि हाम्रो सबै तह र तप्काका मानिस बाख्रा गोठाला जस्तो भएर नै हो। फटाहा त फटाहा भए नै, शिक्षित र सज्जन भनिएकाहरुको पनि हिसाबको जोड एउटै परिणाममा आएर ठोक्किन्छ। कठ्याङ्ग्रिदो जाडोमा कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाएर आफू एयरकन्डिसनमा रमाउने राजनीतिक बेइमानीको एन्टीभाइरस पत्ता नलगाएसम्म एक जोड एक दुई नभएर एघार बन्ने चटकी खेल कहिल्यै रोकिँदैन।

 हामी त्यही बिरालोजस्तो भएका छौं, जसले दूध चोरेर खाएको कसैले देख्दैन, कुटाइ खाएको सबैले देख्छ।

दुखको सबैभन्दा ठूलो मूल कारण आजको मानिस आफूले पाएको दुखबाट कम, अरुको दुख देखेर बढी चिन्तित छ। जहाँ इष्र्या हुन्छ, त्यहाँ मानवताको बीउ भेटिन्न। हामी सत्य चाहन्छौं। तर असत्य छ। जीवन चाहन्छौं मरण छ। संयोग चाहन्छौ, वियोग छ। काम, क्रोध, लोभ, मोह त्यस्ता भाइरस हुन, जसले श्रद्धा, प्रेम र विश्वासलाई सखाप पारिदिन्छन्। आफू कमाएर आफैं खानु मानव स्वभाव हो। आफू नकमाई अरुको खोसेर खानु विकृत हो। आफू कमाएर अरुलाई ख्वाउनु नै असल संस्कृति हो। सभ्यता हो। त्यसैले भनिन्छ- ‘मन कर्मी हो, बुद्धि ज्ञानी हो, आत्मा प्रेमी हो र प्रेम मुक्ति हो।’

जिन्दगीको यो रजतपटमा हामी कोर्रा र खोर्सानीलाई पालैपालो आफ्नो रोजाइको विषय बनाउन बाध्य छौं। कोर्राको निलडामले पोल्न थालेपछि खुर्सानीको पिरो ठिकै लाग्छ भने खुर्सानीले राल सिंगान भएपछि कोर्रा नै प्यारो लाग्छ। प्रकृतिको नियम नै संसारको अकाट्य संविधान हो। तपाईं एकपल्ट घोत्लिनुस त मौरीलाई मह संग्रह गर्न कसले सिकायो ? लामुखुट्टे र उडुसले टोकेर भाग्ने ज्ञान कहाँबाट पाए ? तिनीहरुको कुनै स्कुल कलेज छ ? हो हामी झनझन सतही भएका छौं। खाएर गर्ने वा गरेर खानेमा अल्मलिएका छौं। समग्रमा हामी त्यही बिरालोजस्तो भएका छौं, जसले दूध चोरेर खाएको कसैले देख्दैन, कुटाइ खाएको सबैले देख्छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ०७ बजे

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र